Logo

पौने ४ अर्बले घट्यो सहुलियतपुर्ण कर्जा प्रवाह, महिला उद्यमशिल कर्जामा ठूलो गिरावट

पौने ४ अर्बले घट्यो सहुलियतपुर्ण कर्जा प्रवाह, महिला उद्यमशिल कर्जामा ठूलो गिरावट



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामै सहुलियतपुर्ण कर्जा प्रवाहमा गिरावट आएको छ । सरकारले विशेष क्षेत्र छुट्याएर ब्याजमा अनुदान दिनेगरी प्रवाह गर्दै आएको यस्तो कर्जामा गत आवको असार मसान्तको तुलनामा कार्तिक मसान्तसम्म ३ अर्ब ७६ करोड ४० लाख रुपैयाँ बराबरको गिरावट आएको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्म २ खर्ब १३ अर्ब ८८ करोड रुपैयाँ बराबरको सहुलियतपुर्ण कर्जा प्रवाह भएको थियो । तर, चालु आवको कार्तिक मसान्तसम्म पुग्दा उक्त कर्जा २ खर्ब १० अर्ब १२ करोड रुपैयाँमा सिमिति भएको हो ।

पछिल्लो समय तरलता अभावको कारण देखाउँदै धेरैजसो बैंकहरुले कर्जा प्रवाह घटाएका छन् । यस्तै, बढिरहेको कर्जाको ब्याजदरले पनि धेरैजसो ऋणीलाई कर्जा ग्रहणमा निरुत्साहित गरेका कारण कर्जाको प्रवाह घटिरहेको जानकारहरु बताउँछन् । जसको असर कर्जा प्रवाहमा देखिएको छ ।

सहुलियतपुर्ण कर्जाकै कुरा गर्दा चालु आवको कार्तिक मसान्तसम्म महिला उद्यमशिल कर्जा शिर्षकको कर्जा मात्रै गत असार मसान्तको तुलनामा २ अर्ब ९३ करोड ४० लाख रुपैयाँले घटेको छ । यस्तै व्यवसायिक कृषि तथा पुशपक्षी कर्जा ५४ करोडले घट्दा कपडा उद्योगीले लिने कर्जामा १५ करोड ७० लाखको गिरावट आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यता विदेशबाट फर्किएका श्रमिकलाई दिईने परियोजना कर्जामा ४ करोड ७० लाखको गिरावट आउँदा दलित समुदाय व्यवसायिक कर्जा ४ करोड ५० लाखले घटेको छ ।

नेपाल राष्ट्र बैंकले स्वदेशमै उद्यमशिलता विकास गर्नका लागि विभिन्न १० शिर्षकमा सहुलियतपुर्ण ब्याजमा कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले २०७५ सालमा ‘सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लागु गर्दै यस्ता कर्जाहरु प्रवाह गर्ने नीति अघि सारेको थियो ।

यस्तो कर्जामा कर्जाको ब्याजबाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क लिन नपाइने राष्ट्र बैंकले व्यवस्था गरिदिएको छ । विभिन्न १० शिर्षकमा दिईने यस्तो कर्जाको बैंकले लिने ब्याजमा पनि ५ प्रतिशत सरकारले अनुदान दिने व्यवस्था छ ।

यदि बैंकले कुनै कर्जाको ८ प्रतिशत व्याज तोकेको खण्डमा ऋणीले ३ प्रतिशत मात्रै ब्याज तिरे पुग्छ । जसका कारण पछिल्लो समय यो कर्जामा ऋणीहरुको आकर्षण बढ्दै गएको छ । तर, चालु आवमा बैंकिङ क्षेत्रमा देखिएको लगानीयोग्य पूँजीको अभावका कारण भने यस्तो कर्जा प्रवाह घटेको राष्ट्र बैंकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL