Logo

धान उत्पादनमा बिशेष ध्यान दिँदै सरकार, बैमौसमी बर्षाले धान बगाउँदा जीडीपीमा कृषिको योगदान घट्यो

धान उत्पादनमा बिशेष ध्यान दिँदै सरकार, बैमौसमी बर्षाले धान बगाउँदा जीडीपीमा कृषिको योगदान घट्यो



काठमाडौं । गत बर्षको असोज ३१ गतेदेखि कार्तिक ५ गतेसम्म आएको बेमौसमी बर्षाले ३ लाख २५ हजार मेट्रिक टन धानबालीमा क्षति पुग्यो । राष्ट्रिय योजना आयोग, केन्द्रिय तथ्यांक विभागलगायतले धानबालीमा बाढीले मच्चाएको वितण्डापछि आर्थिक वृद्धिदर नै घट्ने प्रक्षेपण गरेका थिए । चालु आवको आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म हुने प्रक्षेपण गरेका विश्व बैंक, एशियाली विकास बैंकलगायतले पनि आफ्नो प्रक्षेपणलाई घटाएर ४ प्रतिशतमा झारे । नभन्दै चालु आवको आर्थिक वृद्धिमा यसको असर देखियो ।

laxmi

केन्द्रिय तथ्यांक विभागले बिहीबार चालु आवको आर्थिक वृद्धिदर, कुल ग्राहस्थ उत्पादनको अवस्थालगायतका बिषयमा गरेको प्रक्षेपणले आर्थिक वृद्धि प्रक्षेपणभन्दा घटेको देखाएको हो । सरकारले नै चालु आवको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । तर, बेमौसमी बर्षाका कारण आएको बाढीले धानबालीमा क्षति पुग्दा जीडीपीमा कृषि क्षेत्रको योगदान नै घटेको केन्द्रिय तथ्यांक विभागका निर्देशक ईश्वरी प्रसाद भण्डारीले बताए ।

उनका अनुसार बेमौसमी बर्षाका कारण तराईमा आएको बाढीका कारण किसानको धान ठुलो मात्रामा नष्ट भएको थियो । जसको प्रत्यक्ष असर जीडीपीमा कृषि क्षेत्रको योगदानमा देखिएको हो ।

तर, पछिल्लो समय भने सरकार धान उत्पादन बढाउन लागिपरेको जस्तो देखिएको छ । गत बुधबार अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिएका थिए । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित संचालन र गुणस्तर प्रमाणिकरणका बिषयमा छलफल गरिएको थियो ।

सो छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै बर्षदेखी घटाउनुपर्ने दबाब रहेको बताएका थिए । बैठकमा उनले आफुले दुई महिनादेखी धानको उन्नत बिउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको भएपनि सम्बन्धित निकायले नसुनेको आरोपसमेत लगाएका थिए । चालु आवमा धानको उत्पादनमा गिरावट आउँदा अर्थतन्त्रमै असर परेको भन्दै उनले नेपालमा सुचिकृत भएका उन्नत जातको धान बिउको सुची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांक उपलब्ध गराउनसमेत निर्देशन दिएका थिए ।

‘हामीले उन्नत जातको बिउ प्रयोग गर्याैं भने यसै बर्षदेखी कम्तीमा ३ गुणा बढी धान उत्पादन गर्ने देखिन्छ । यो काम गर्न ढिला नगरौं’ उनले भने, ‘मंसिरमा धान काट्दा उत्पादन ३ गुणा बढायौं भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन ।’ उन्नत जातको बिउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदान बापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उनले बताए ।
‘उन्नत बिउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस, हामी दिन्छौं । थोरै पैसा खर्च गर्दा अरबौंको चामल आयात घटाउन सकिने देखिएको छ’ अर्थमन्त्री शर्माले भने । छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बिउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताए । ‘सरकारले बोलाएर काम दियो भने उनीहरु उत्साहित हुन्छन’ सचिव मरासिनीले भने ।

छलफलमा कृषि सचिव डा. गोबिन्द शर्माले उन्नत जातको बिउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सुचिकृत गुणस्तरको बिउ ल्याउन निर्देशन दिइसकेको बताए । धानको उत्पादकत्व औषतमा ३.५ मेट्रिक टन प्रति हेक्टर रहेको जानकारी दिदै उन्नत जातको बिउ बितरण गरे उत्पादनमा धेरै सुधार हुने जानकारी दिए ।

चालु आवकै कुरा गर्दा नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत छ । गत बर्ष यस्तो योगदान २५ प्रतिशत थियो । यो बर्ष धान उत्पादन हुँदाहुँदै पनि आएको बाढीले नष्ट गरिदिँदा कृषि क्षेत्रको योगदान जीडीपीमा घटेको छ । जीडीपीमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रमा पनि २० देखि २५ प्रतिशत योगदान धानको हुन्छ । यस्तै समग्र जीडीपमा धानको योगदान ४ प्रतिशत हुन्छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार गत बर्ष देशभर करिब १३ लाख ४२ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । जसमध्ये ७ वटै प्रदेशमा २ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा लगाएको बालीमा बाढीले असर पुर्याएको थियो । मन्त्रालयका अनुसार उक्त परिमाण धानबाट ८ अर्ब २६ करोड ८० लाख क्षति भएको थियो । तर, यो बर्ष धानको उत्पादनमा बिशेष जोड दिएर ३ गुणाले धानबाली उत्पादन बढाउने योजना बनाएको मन्त्रालयका अधिकारीले बताए । चालु आवको पछिल्लो ९ महिनामा मात्रै नेपालले विभिन्न देशबाट धान, चामल गरेर ४० अर्ब बढीको आयात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL