Logo

ग्रामिण कृषि विकासमा साढे ९ अर्ब खर्च गर्दै विश्व बैंक, कृषि मन्त्रालयसँगको सहकार्यमा ‘रिड’ परियोजना सार्वजनिक

ग्रामिण कृषि विकासमा साढे ९ अर्ब खर्च गर्दै विश्व बैंक, कृषि मन्त्रालयसँगको सहकार्यमा ‘रिड’ परियोजना सार्वजनिक



काठमाडौं । नेपालको ग्रामिण भेगमा उद्यम तथा आर्थिक विकासका लागि भन्दै विश्व बैंक र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबीच ९ अर्ब ५२ करोड रुपैयाँ बराबरको सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच ग्रामिण उद्यम तथा आर्थिक विकास (रिड) परियोजना घोषणासम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा कृषि मन्त्री महेन्द्र राय यादव र माल्दीभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डाईरेक्टर फरीस हदाद जर्भसले हस्ताषर गरेका हुन् ।

उक्त परियोजनामार्फत नेपालको ग्रामिण भेगमा कृषि क्षेत्रलाई स्थानीय बजारसम्म लिंक गराई पर्याप्त उद्यमशिलता तथा रोजगारी सिर्जना गर्ने लक्ष्य लिईएको छ । यसले कोभिड पछीको पुनर्उत्थानलाई पनि सहयोग पुग्ने बताईएको छ । ८० मिलियन डलर अर्थात हालको विनिमय दरअनुसार ९ अर्ब ५२ करोड ६४ लाख रुपैयाँ विश्व बैंकको ऋणमा संचालित हुने उक्त परियोजना आगामी ४ बर्षसम्म काम गर्नेछ ।

उक्त परियोजनाले नेपालका ग्रामिण भेगमा उत्पादन गरिएका कृषि उपजलाई त्यहाँकै साना साना बजारसम्म पुर्याउन सहयोग पुग्ने मन्त्री यादवले बताए । कार्यक्रममा बोल्दै उनले अब ग्रामिण भेगमा उत्पादन गरिएका कृषि उपजलाई बजारको अभाव नहुने जानकारीसमेत दिएका छन् ।
यो परियोजनाले साना पेशा, व्यवसायमा लागेका कृषक तथा व्यवसायीहरुलाईसमेत सहयोग पुग्ने उनको भनाई थियो ।

रिड परियोजनाले प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका निश्चित नगरपालिकालाई केन्द्रित गरी ५ ओटा आर्थिक करिडोर निर्माण गर्नेछ । जसले ग्रामिण भेगका अन्य उद्यमीलाईसमेत जोड्न सहयोग पुर्याउनेछ । परियोजनाले ग्रामिण भेगमा कृषि उत्पादन वृद्धिसँगै ५ हजार ७ सय जनालाई रोजगारीसमेत सिर्जना गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL