Logo

अर्थमन्त्री भन्छन्, निर्यात नबढाई देशले आर्थिक रुपमा गति लिन सक्दैन

अर्थमन्त्री भन्छन्, निर्यात नबढाई देशले आर्थिक रुपमा गति लिन सक्दैन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ मंसिर, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले निर्यात बृद्धि नगरी मुलुकको आर्थिक प्रगति नहुने बताएका छन् । ‘निर्यात विना कुनै पनि मुलुकको आर्थिक प्रगति हुँदैन,’ नवलपरासीको गैडाकोटमा बिकु बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभाको उद्घाटनका क्रममा उनले भने, ‘तर, निर्यात बृद्धिका लागि गुणस्तरीय उत्पादन बृद्धि गर्नुपर्छ ।’ साथै, आर्थिक रुपमा जापानलाई उछिनेर चीन अगाडि आउनुको मुख्य कारण नै निर्यात भएको उनको भनाइ थियो ।

नेपालले निर्यात बृद्धिका लागि भारतसँग बिद्युत व्यापार सम्झौता (पीटीए) गरी बिद्युत उत्पादनलाई उच्च प्राथमिकता दिएको उनले जानकारी दिए । ‘नेपालको जलबिद्युत निर्यात गरी आम्दानी बढाउन सक्ने प्रशस्त सम्भावना छ,’ उनले भने, ‘तर, नेपालमा विद्युत् उत्पादन हुन थालेको सयौं बर्ष हुँदा पनि संभावनाको १ प्रतिशत बिद्युत पनि उत्पादन गर्न सकेको छैन ।’ हाल भारतसँग भएको पीटीए तथा ठूला जलबिद्युत आयोजना सञ्चालनका लागि जीएमआर र सतलजसँग भएको सम्झौताले नेपालले जलविद्युतमा गति लिन लागेको समेत उनले जानकरी दिए । साथै, आगामी दिनमा तनहुँ जलबिद्युत आयोजना, बूढीगण्डकी आयोजना संचालमा आउन लागेको जानकारी दिँदै पीटीएका कारण नर्बेले पनि तामाकोशी तेस्रो आयोजनालाई सञ्चालनमा ल्याउने बताए ।

biz 1

भारतसँग बिद्युत व्यापार सम्झौतापछि बिद्युत उत्पादन र निर्यातको संभावना बढेको छ । यसका साथै पर्यटन र कृषिबाट पनि देशलाई आर्थिक उन्नतीतर्फ लैजान सहयोग पु¥याउने बताए । देशमा शान्ति सुरक्षा र लगानीको सुरक्षाका लागि सरकार कडा रुपमा प्रस्तुत हुने जानकारी दिदै उनले लगानीलाई कतैबाट पनि अवरोध हुन नदिने बताए । देशमा पूर्वाधार विकासका लागि पोखरा र भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरु बन्न लागेको छ । यस्तै, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल पनि केही समयभित्रै बन्नुका साथै काठमाडौं–तराई द्रुतमार्ग पनि टेण्डर प्रक्रियामा रहेको उनले जानकारी दिए ।

उनका अनुसार कम तलवमा वैदेशिक रोजगारीमा गइरहेका युवालाई आगामी दिनमा देश निर्माणका लागि स्वदेशमै कामको व्यवस्था गरिनेछ । ‘देशभित्रै रहेको स्रोत र साधन परिचालन गरी युवाहरुलाई रोजगारीका अवसरहरु सिर्जना गरिनेछ,’ उनले भने, ‘सहकारी संस्थाहरुले सानाको हितमा काम गर्नुपर्दछ ।’ साथै, कृषि, तरकारी, फलफूल उत्पादनतिर लाग्ने सहकारी संस्थाहरुलाई सरकार कर छुट दिन समेत तयार रहेको बताए ।

biz l
कार्यक्रममा नेपाल राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीलाई संसारमै कर नलगाइएको भन्दै नेपालमा पनि कर नलगाउन नहुने बताए । यदि लगाउने हो भने पनि एकमदै कम कर लगाउनु पर्ने उनको माग थियो । सभासद सशांक कोइरालाले सहकारी संस्थाहरुले अनुकरणीय काम गरेको बताए । ‘समाजको तल्लो बर्गको उत्थानका लागि सहकारीले काम गर्नुपर्दछ,’ उनले भने । त्यसैगरी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी नेफ्स्कुनका अध्यक्ष ऋषिराज घिमिरेले पनि सहकारी संस्थाहरुमा करको दर कम गर्ने हो भने राज्यले बढी कर असूल गर्न सक्ने बताए ।

मोहोरबाट बिसं २०४८ सालमा स्थापित बिकु बचत तथा ऋण सहकारी संस्थाले अहिले करिब १ अर्बको निक्षेप परिचालन गरिरहेको भने करिब १५ हजार सेयरधनीहरुलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL