Logo

निगममा वेथितिको अन्त्य गर्न महाप्रवन्धकको १६ बुँदे निर्देशन जारी, कार्यालयमा ढिलो हुँदा गयल हुने, खाजा समय ३० मिनेटमात्रै

निगममा वेथितिको अन्त्य गर्न महाप्रवन्धकको १६ बुँदे निर्देशन जारी, कार्यालयमा ढिलो हुँदा गयल हुने, खाजा समय ३० मिनेटमात्रै



काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रवन्धक प्रकाश पौडेलले निगमभित्र देखिएको बेथिति र अराजकता नियन्त्रण गर्न १६ बुँदे निर्देशन जारी गरेका छन् । विगत केहि समयदेखि निगममा विकास हुदै आएको अनुशासनहिनता तुरुन्त सुधार गर्नुपर्ने चरणमा आइसकेको भन्दै उनले अनुशासनका अधारभूत नियम कडाईका साथ पालना गर्न निर्देशित गरेका हुन् ।

महाप्रवन्धक पौडेलले जारी गरेको निर्देशनमा निगमले तोकेको कार्यलय समय विहान १० बजे सबै कर्मचारी कार्यलय आइपुग्नुपर्ने, यदि कुनै कारणले ढिला भएमा एक महिनामा चार पटकसम्म १५ मीनेटका दरले छुट दिने तर सो हदभन्दा बढी भएमा गयल जनाउने साथै ढिलो आएको दिन चाँडै निस्केमा उक्त छूट पनि नदिन निर्देशन गरेका छन् ।

त्यस्तै,खाजा समय ३० मीनेट मात्र हुने, कार्यलयमा हाजीर गरी बाहिर गएमा अनुशासनहिनताको कार्वाही गर्ने, पोशाक र परिचय पत्र नलगाई कार्यालय आउने कर्मचारीको नाम सुरक्षा अधिकारीलाई टिपाउन र एक महिनामा चार पटक भन्दा वढी यस्तो हेलचेक्राई गरेमा कार्यलय प्रवेशमै रोक लगाउन पनि सम्वन्धित विभागहरुलाई निर्देशन दिएका छन् ।

विना काम अवेरसम्म बसेर निस्केकै भरमा ओभरटाइम गणना नगर्न र एक घण्टा भन्दा कम समयको ओभरटाइमको गणना नगर्न पनि उनले निर्देशन दिएका छन् । जारी निर्देशनमा, महिनाको ५ गतेसम्ममा प्रत्येक विभागका विभागीय प्रमुखहरुले मासिक प्रगति विवरण अनिवार्यरुपमा पठाउनु पर्ने , विभागीय प्रमुखहरुले प्रयोग गर्ने सवारी साधन निगमै पार्किगं गर्नुपर्ने, निगमको प्रवक्त र सहप्रवक्ताले निगमको विभाग, महाशाखा वा शाखा जहाँबाट पनि सोझै सूचना माग भएमा २० मिनेटभित्र जानकारी उपलब्ध गराउनु पर्ने लगायतका विषय उल्लेख छन् ।

धरासायी बनेको निगमलाई आर्थिकरुपले सवल बनाउन पहिला संगठनभित्रको आरण र अनुशासनलाई नै वलियो बनाउनु पर्ने भन्दै महाप्रवन्धक पौडेलले प्रारम्भीकरुपमा सुधारको थालनी गरेका हुन् । अहिले पनि निगमलाई सुधार्न नसके कहिल्यै नसकिने भन्दै महाप्रवन्धक पौडेलले प्रयास शुरु गरेका छन् । विहान, बेलुकी जुनसुकै समयमा त्रिभुवन विमानस्थलअन्र्तगत निगमका कामहरुको छड्के गर्ने कार्य पनि उनले शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL