Logo

पर्यटन बोर्डको सिइओ छनौट उपसमितिको बैठक शुरु, जोशी दोहोरिने सम्भावना कति ?

पर्यटन बोर्डको सिइओ छनौट उपसमितिको बैठक शुरु, जोशी दोहोरिने सम्भावना कति ?



काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनौटका लागि गठित छनौट उपसमितिको बैंठक शुरु भएको छ । केहीबेर अघि शुरु भएको बैठकले सम्भवत आजै नयाँ सिइओको नाम फाइनल गर्ने बताइएको छ ।

बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको ४ बर्षे कार्यकाल पुस ७ गतेदेखि सकिए पछि बोर्डको सिइओका लागि छनौट सिफारिस समितिले आवेदन माग गरेको थियो । विप्लब पौडेल संयोजक रहेको समितिमा घनश्याम उपाध्याय र कृष्णबहादुर महरा सदस्य रहेका छन ।

समितिले सिफारिस गरेका ३ जनामध्येबाट बोर्ड संचालक समितिले निर्णय गरेर प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गर्ने छ । बोर्डमा सिइओ बन्ने आकांक्षासहित आवेदन दिएका १७ जनामध्ये ९ जना सर्टलिस्टमा परेका थिए। सिफारिस समितिले जसमध्येबाट यही माघ २ र ३ गतेको आ–आफ्नो प्रस्तुति तथा अन्तरवार्ताका लागि सर्टलिष्टमा परेकाहरुलाई बोलाएको थियो ।

समितिले सर्टलिष्टमा परेका ९ जनामध्ये अन्तरवार्ता र प्रस्तुतिपछि ३ जनालाई सिफारिस गर्ने भएकाले अहिले कसलाई छनौट गर्ने भनेर समितिको बैठकमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अन्तरवार्ता र प्रस्तुतिपछि आवेदकहरुमध्ये काशीराज भण्डारी, दीपकराज जोशी र बच्चुनारायण श्रेष्ठको नाम सिफारिस हुने लगभग तय भइसकेको छ । यी तीनवटा नाममा अन्तिम सहमतिको लागि छलफल भइरहेको श्रोतको दाबी छ ।

समितिले अब केही समयमै ३ जनाको फाइनल नाम सञ्चालक समितिमा बुझाउने र बोर्डको सञ्चालक समितिले आजै नयाँ सिइओ नियुक्तिको घोषणा गर्ने बताइएको छ । सञ्चालक समितिको बैठक आज साँझका लागि तय गरिएको बताइएको छ ।

बोर्डको नयाँ सिइओमा हालसम्मको अवस्था विश्लेषण गर्दा निवर्तमान सिइओ दीपकराज जोशी नै दोहोरिने सम्भावना रहेको बताइएको छ । राजनीतिक रुपमा बच्चुनारायण श्रेष्ठको लविङ रहेपनि उनी नीजि क्षेत्रले चाहेको सिइओ बन्न नसक्ने समितिमा सूचना पुगेको बताइएको छ । अर्का मुख्य दाबेदार भनिएका काशीराज भण्डारी योग्य भएपनि राजनीतिक रुपमा जोशी नै बढी रुचाइएकाले जोशीको नाम लगभग तय रहेको बोर्डमा चर्चा छ ।

सर्टष्टिमा रहेका सिइओका दाबेदारहरुमा काशीराज भण्डारी, दीपकराज जोशी, धनन्जय रेग्मी, नविन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिणीप्रसाद खनाल, सन्तोषबिक्रम थापा र हिक्मतसिंह ऐर रहेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सिइओ नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL