काठमाडौं । नेपाल वायु सेवा निगमले लामो समय देखी ग्राउण्डेड रहेको एनए ६० जहाज संचालनमा ल्याउने भएको छ । निगमका अनुसार एनए ६० जहाजसँगै हाल एक ट्वीनअटर र वाई १२ जहाज मर्मतको क्रममा रहेका छन ।
निगमले मार्च भित्रै सबै जहाज संचालनमा ल्याउने भनिए पनि समयमै जहाजको पाटपुर्जा (सामग्री) नआईपुगेकाले जहाज संचालनमा ल्याउन ढिलाई भएको जानकारी दिएको छ ।
निगमका सहप्रवक्ता नवराज कोईरालाका अनुसार एनए ६० जहाज भने अबको १५ दिन भित्रै संचालनमा ल्याउने गरी मर्मत भईरहेको छ । भने अन्य दुईओटा जहाज वाई १२ र एक ट्वीन अटर भने संचालनमा ल्याउन अझै केही समय लाग्ने छ ।
लामो समय देखी पाईलट अभाव भएको भन्दै आन्तरिक उडान गरिरहेका जहाज समेत संचालनमा ल्याउन नसकेको निगमले प्रशिक्षक पाईलट आङनुरी शेर्पा अमेरिकाबाट फर्के लगतै अन्य जहाज पनि निरन्तर संचालन गर्ने भएको छ ।
सहप्रवक्ता कोईरालाका अनुसार शेर्पाले आफ्नो जिम्मेवारीअनुसार दुई जना को–पाइलटलाई पीपीसी नवीकरणको तालिम दिएका छन ।
पीपीसी नवीकरणका लागि सिर्जना राउत र लिवटी भण्डारीको पीपीसी नवीकरणको काम सुरु गरेको कोईरालाले जानकारी दिएका छन । उनका अनुसार वाई–१२ जहाजका दुई पाइलट तथा ५ कोपाइलटको पीपीसी नवीकरण भएको छैन ।
तर अव शेर्पा काममा फर्के पछि पीपीसी नवीकरण गरी ग्राउण्डेड सबै जहाज संचालनमा ल्याउने भएको निगमको दाबी रहेको छ ।