Logo

पहिलोपटक नेपालकै प्रयासमा सगरमाथाको फोहोर संकलन हुँदै, बिहीबार १२ जना शेर्पा बेस क्याम्प जाँदै

पहिलोपटक नेपालकै प्रयासमा सगरमाथाको फोहोर संकलन हुँदै, बिहीबार १२ जना शेर्पा बेस क्याम्प जाँदै


राङडोल लामा
0
Shares

काठमाडौं । नेपालले पहिलोपटक आफ्नै प्रयासमा सगरमाथामा जम्मा हुने फोहोर संकलन गर्ने तयारी गरेको छ । यसअघि विदेशी संघसंस्था तथा व्यक्तिगत रुपमा स्वयम्सेवाको रुपमा फोहोर संकलन हुँदै आएकोमा यस बर्ष संयुक्त रुपमा संकलनको काम हुन लागेको हो । निजी क्षेत्रका विभिन्न संघसंस्थासहित सरकारको सहभागितामा संकलन गर्न लागिएको हो ।

सगरमाथाको फोहोर संकलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, बन तथा वातावरण मन्त्रालयले संयुक्त रुपमा काम गर्नेछन् । त्यस्तै सगरमाथा राष्ट्रिय निकुञ्ज, वातवरण विभाग, खुम्बु पासाङ ल्हामु गाउँपालिका तथा सगरमाथा पोलुशन कन्ट्रोल कमिटि समेत यो काममा सहभागी हुने पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

फोहोर संकलनको टोलीलाई सघाउन १२ जना शेर्पाहरु समेत खटाउने तयारी छ । उक्त टोलीले सगरमाथाको दोस्रो क्याम्पसम्मको फोहोर संकलन गर्नेछ । उक्त टोली बिहीबार काठमाडौंबाट सगरमाथाको आधार शिविर तर्फ लाग्ने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामाले बताए । उनका अनुसार फोहोर संकलनको मुख्य शेर्पा टोलीले रुलिङ गर्दै बेस क्याम्प भन्दा माथीको फोहोर संकलन गर्ने र आधार शिविरसम्म ल्याउने काम गर्ने छ ।

आधार शिविरसम्म ल्याइएको फोहोरलाई मजदुरको सहयोगमा गोरख सेपसम्म ल्याउने र त्यहाँबाट ल्याएको फोहोरलाई सेनाको हेलिकप्टरबाट नाम्चेबजार ल्याइने लामाले जानकारी दिए ।आधार शिविरदेखि संकलन क्षेत्रसम्मको फोहोरको तौल करिब १० टन हुने अनुमान गरिएको छ । संकलित फोहोरमध्ये बिसर्जन गर्न मिल्नेलाई त्यतै र बाँकीलाई मात्रै काठमाडौं ल्याइने छ ।

शेर्पाको समुहले आरोहणको मुख्य समय समाप्त हुँदासम्म फोहोर संकलन गर्नेछन् । मे २९ मा नाम्चेमै सगरमाथा दिवस मनाउने र त्यसपछि उक्त फोहोर काठमाडौं ल्याउने कार्यक्रम रहेको लामाले जानकारी दिए ।

उनका अनुसार अहिले बेस क्याम्पभन्दा माथी रहेको फोहोर मात्रै संकलन गर्ने र संकलन भएको उक्त फोहोरलाई काठमाडौंमा ल्याएर जुन ५ मा वातावरण दिवसको अवसरमा बिसर्जन गरिनेछ ।

सगरमाथा क्षेत्रमा हुने फोहोरलाई लिएर अन्तराष्ट्रिय रुपमा नेपालको बारम्बार गलत प्रचार हुने गरेको छ । सगरमाथाको फोहोरसहितको तस्विर विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गरेर नेपालको बदनामीको प्रयास गराइएको सरोकारवालाको भनाई छ । फोहोर संकलनको अभियानलाई संयुक्त प्रयासमै निरन्तरता दिने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्