Logo

पर्यटन आवागमन सामान्य वृद्धि : जनवरीमा भित्रिए झण्डै ८० हजार विदेशी पर्यटक

पर्यटन आवागमन सामान्य वृद्धि : जनवरीमा भित्रिए झण्डै ८० हजार विदेशी पर्यटक



काठमाडौं । सन् २०२५ को जनवरी महिनामा नेपाल भ्रमणमा अन्तरराष्ट्रिय पर्यटक आगमन सामान्य वृद्धिसँगै अगाडि बढेको छ। अध्यागमन विभागका अनुसार, जनवरी २०२५ मा कुल ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक नेपाल आएका हुन् । यो तथ्यांकले जनवरी २०२४ को तुलनामा चालु बर्षको जनवरीमा १.१ प्रतिशत वृद्धि देखाएको छ। यो आगमन सन् २०१९ को पूर्व–कोरोना अवधिको तुलनामा ९८.४ प्रतिशत पुनः प्राप्ति हो।

भारतबाट नेपाल आउने पर्यटकको संख्या जनवरी २०२५ मा २० हजार ४ सय ८५ रहेको छ। यो संख्या सन् २०२४ को तुलनामा १५ प्रतिशतले घटेको भए पनि, सन् २०१९ को तुलनामा १५ प्रतिशतले वृद्धि भएको देखिन्छ। समग्रमा, सार्क क्षेत्रका पर्यटक आगमनमा ४।३ प्रतिशतको गिरावट आएको छ। उक्त क्षेत्रबाट जनवरी २०२५ मा २९ हजार ४ सय ८५ पर्यटक आएका छन्, जुन सन् २०१९ को तुलनामा ३८ प्रतिशतले बढी हो। नेपाल आउने कुल पर्यटकहरूमध्ये ३७ प्रतिशत यो क्षेत्रबाट आएको तथ्यांकमा उल्लेख छ ।

यस्तै, जनवरी २०२५ मा चीनबाट ८ हजार १ सय ९१ पर्यटक नेपाल आएका छन्, जसले सन् २०२४ को तुलनामा १२.७ प्रतिशत वृद्धि देखाएको छ। दक्षिण कोरियाबाट ३ हजार ७ सय ५६, थाइल्याण्डबाट ३ हजार २ सय १९ र जापानबाट १ हजार ५ सय ७० पर्यटक नेपाल आएका छन्।

युरोपबाट नेपाल आउने पर्यटक संख्यामा पनि ३.७ प्रतिशत वृद्धि देखिएको छ। बेलायत, जर्मनी र फ्रान्सबाट क्रमशः ३ हजार ५ सय २१, १ हजार ३ सय २१ र १ हजार १० जना पर्यटक आएका छन् । यो तथ्यांकमा देखिएको संख्या गत वर्षको जनवरीको तुलनामा ७.५ प्रतिशत, ३ प्रतिशत र ४ प्रतिशत बढी हो । जनवरी २०२५ मा युरोपबाट कुल १० हजार ३ सय ६७ पर्यटक नेपाल आएका छन्, जसको क्षेत्रीय योगदान १३ प्रतिशत रहेको छ।

अमेरिकाबाट जनवरी २०२५ मा नेपाल आउने पर्यटक संख्या ८ हजार ६३ पुगेको छ, जुन गत वर्षको तुलनामा १४.४ प्रतिशत वृद्धि हो। अष्ट्रेलियाबाट ४ हजार ३ सय १ पर्यटक आएका छन्, जसले जनवरी २०२४ को तुलनामा २५.७ प्रतिशत वृद्धि देखाएको छ। मध्यपूर्व र अफ्रिकाबाट क्रमशः ६ सय ८५ र २ सय ९२ जना पर्यटक नेपाल आएका छन्।

प्रतिक्रिया दिनुहोस्