Logo

जुनमा भित्रिए ११ सय पर्यटक, भित्रिनेभन्दा बाहिरिने बढी

जुनमा भित्रिए ११ सय पर्यटक, भित्रिनेभन्दा बाहिरिने बढी



काठमाडौं । गत जुन महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै जम्मा १ हजार १ सय विदेशी नेपाल भित्रिएका छन् । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो ।

अध्यागमन विभागले सार्वजनिक गरेको जुन महिनाको तथ्याङ्कअनुसार नियमित उडान बन्द भएका समयमा चार्टर्ड तथा उद्धार उडानमार्फत १ सय ११ देशबाट १ हजार १ सय ४३ विदेशी नेपाल भित्रिएका हुन् । यसमा ७ सय ८ पुरुष, ४ सय ३४ महिला र १ जना अन्य नागरिक भित्रिएका हुन् । विभागको तथ्याङ्कअनुसार जुन महिनामा १ हजार १ सय ४३ विदेशी र ९ हजार ५ सय ५९ जना नेपाली गरी एक महिनामा १० हजार ७०२ जना नागरिक स्वदेश भित्रिएका छन् ।

एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै तीन हजार ६०६ जना विदेशी र नौ हजार ६५१ नेपाली गरी १३ हजार २५६ जना बाहिरिएका हुन् ।

कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिल महिनामा नेपाल भित्रिएका थिए । विभागको तथ्याङ्कअनुसार अप्रिल महिनामा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए । सन् २०२१ को छ महिनामा नेपालमा विभिन्न देशका ५८ हजार ५८ जना विदेशी पर्यटक भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL