Logo

एक बर्षमा ४१ लाख सिमकार्ड खारेज, टेलिकमको मात्रै साढे २९ लाख सिमकार्ड निष्क्रिय

एक बर्षमा ४१ लाख सिमकार्ड खारेज, टेलिकमको मात्रै साढे २९ लाख सिमकार्ड निष्क्रिय



काठमाडौं । नेपालमा दूरसंचार सेवा प्रदान गरिरहेका सेवाप्रदायकहरुले पछिल्लो एक बर्षमा करिव ४१ लाख सिमकार्ड खारेज गरेका छन् । नेपाल दूरसंचार प्राधिकरणको निर्देशनसँगै दूरसंचार सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले मात्रै आफ्ना ४० लाख ८९ हजार ९ सय ९ सिमकार्ड खारेज गरेका हुन् ।

laxmi

नेपाल दूरसंचार प्राधिकरणले गत बर्ष सेवाप्रदायकहरुलाई न्यूनतम ६ महिनासम्म निस्क्रिय रहेका सिमकार्डहरु खारेज गर्न निर्देशन दिएको थियो । सो निर्देशन अनुसार नेपाल टेलिकमले मात्रै गत वर्ष कात्तिकदेखि यो वर्षको कात्तिकसम्म २९ लाख ६४ हजार ८ सय ३१ ओटा सिमकार्ड खारेज गरेको छ ।

यस अवधिमा टेलिकमले कम्तिमा २ बर्षसम्म निष्क्रिय भएका सिमकार्डहरुलाई मात्रै खारेज गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । उनका अनुसार प्राधिकरणको निर्देशनलाई पालनासँगै सेवाग्राहीको हकलाई ध्यान दिएर २ बर्षसम्म नचलेका सिमकार्डमात्रै निष्क्रिय गरिएको हो । ‘प्राधिकरणबाट न्यूनतम ६ महिनासम्म नचलेका सिमकार्डहरु खारेज गर्न निर्देशन आएको थियो,’ उनले भने, ‘तर हामीले प्राधिकरणको निर्देशनलाई पालन गर्दै ६ महिनामात्रै नभई २ बर्षसम्म नचलेका सिमकार्डलाई मात्रै हाल खारेज गरेका छौैं ।’

नेपाल दूरसंचार प्राधिकरणको एमआईएस प्रतिवेदनअनुसार टेलिकमका जीएसएम र सिडिएमए सेवाका ग्राहकसंख्या गत बर्षको कात्तिकसम्म २ करोड २८ लाख ६१ हजार २ सय ५८ थियो । तर, यो बर्षको कात्तिकमा उक्त संख्या घटेर १ करोड ९८ लाख ९६ हजार ४ सय २७ पुगेको छ । उक्त तथ्यांकमा टेलिकमले प्रदान गरिरहेको फिक्स्ड भ्वाईस टेलीफोन सेवा भने समेटिएको छैन ।

यता निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेलले भने १ बर्षमा आफ्ना १२ लाख २८ हजार ९ सय ७७ ओटा सिमकार्ड खारेज गरेको छ । एनसेलले पनि नेपाल दूरसंचार प्राधिकरणकै निर्देशनअनुसार निष्क्रि भएका सिमकार्डहरु खारेज गरेको जानकारी दिएको छ । गत बर्ष कात्तिकसम्म १ करोड ६८ लाख २१ हजार २४१ सिमकार्ड वितरण गरेको थियो । तर यो बर्षको कात्तिकसम्म भने उक्त संख्या घटेर १ करोड ५५ लाख ९२ हजार २ सय ६४ रहेको छ ।

पछिल्लो समय सेवाग्राहीहरु डाटामा केन्द्रित हुँदापनि टेलिफोन सेवाका ग्राहकहरु घटेको हुनसक्ने अनुमान नेपाल टेलिकमको छ । टेलिकमका प्रवक्ता जोसीका अनुसार एफटीटीएचमा आधारित टेलिफोन सेवाको विस्तार र सेवाग्राहीहरु डाटा सेवामा केन्द्रित हुँदा भ्वाइस टेलिफोन सेवाहरु निष्क्रिय हुने क्रम बढ्दो छ ।

सेवाप्रदायकहरुले निष्क्रिय भएका सिमकार्डहरुलाई खारेज गरेपछि टेलिफोन सेवाका ग्राहकहरु घटेको देखिएको नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । उनका अनुसार प्राधिकरणकै निर्देशनलाई पालना गरेर निष्क्रिय रहेका सिमकार्डहरु खारेज गरिएको हो । सेवाप्रदायकहरुले निष्क्रिय रहेको सिमकार्डहरुलाई खारेज गरेकाले भ्वाइस टेलिफोन सेवाका ग्राहकको संख्या घटेको जानकारी प्राधिकरणमा दिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । उनले लामो समयसम्म सिमकार्ड नचलाउने या विदेशमा गएर बस्ने गर्नाले सिमकार्डहरु निष्क्रिय हुनेगरेको समेत जानकारी दिए ।

यस्तै यस अवधिमा स्मार्ट टेलिकमका भ्वाईस टेलिफोनका ग्राहकहरु भने १ लाख ५९ हजार ५ सयले बढेका छन् । गत बर्षको कात्तिकमा २० लाख ७५ हजार ७ सय १ जना भ्वाईस टेलिफोन सेवाका ग्राहक रहेकोमा यो बर्ष बढेर २ लाख ३५ हजार २ सय १ जना पुगेका छन् ।

प्राधिकरणले ६ महिनासम्म नचलेका सिमकार्डहरु मात्रै निष्क्रिय गर्ने र अरुको नाममा निष्क्रिय गरिएको सिमकार्ड दिँदा अर्को ६ महिना कुर्नुपर्ने निर्देशन सेवाप्रदायकहरुलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL