Logo

नेपालमा फाइभ जी परीक्षण अन्योलमा : पूर्व तयारीमै रुमलियो नेपाल टेलिकम, प्राधिकरण भन्छ-ताकेता गर्दैछौं

नेपालमा फाइभ जी परीक्षण अन्योलमा : पूर्व तयारीमै रुमलियो नेपाल टेलिकम, प्राधिकरण भन्छ-ताकेता गर्दैछौं



काठमाडौं । विश्वका विभिन्न देशले प्रयोगमा ल्याएको पछिल्लो पुस्ताको फाइभ जी सेवा नेपालमा कहिलेदेखि शुरु हुने भन्ने अन्योलमा परेको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणलबाट परीक्षणको अनुमति पाएको नेपाल टेलिकमले अझै फाइभ जीको परीक्षणसमेत गर्न नसक्दा अन्योल बढेको हो । गत बर्षको कात्तिकमै परीक्षण अनुमति प्राप्त गरेको टेलिकमले अझै परीक्षणका लागि न्यूनतम कार्यसमेत अघि बढाउन सकेको छैन् ।

प्राधिकरणले फाइभजी परीक्षणका लागि भन्दै कार्यविधिसमेत बनाएको छ । जसमा कुनै दूरसंचार सेवाप्रदायक कम्पनीले फाइभजी परीक्षणको अनुमति लिएको ३ महिनामा उपकरण आयात गरी परीक्षण नै गरिसक्नुपर्ने उल्लेख छ । तर, टेलिकमले यसको अनुमति पाएको करिव ६ महिना बितिसकेको छ । यसबीचमा टेलिकमले उपकरण आयातका लागि सम्झौता गरिएको जानकारी प्राधिकरणमा दिएको छ । प्राधिकरणले पनि बेलाबेलामा ताकेता गर्दै आएको जनाएको छ । टेलिकमले भनेकै समयमा कार्य सम्पन्न गर्न नसक्नुमा विश्वबजारमा निम्तिएको चिप अभाव, फ्रेट सेवामा समस्यालगायत कारणहरु रहेको जानकारी दिएको छ ।

तत्कालीन सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङको अध्यक्षतामा राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिले २०७७ चैतमै तत्काल फाइभजी परिक्षण गर्न नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको थियो । त्यसपश्चात फ्रिक्सेन्सी नीति निर्धारण समितिकै निर्देशनमा प्राधिकरणको बोर्ड बैठकले कात्तिक २९ गत परिक्षणको अनुमति दिएको थियो ।

टेलिकमलाई फाइभजी परिक्षणका लागि २६ सय मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराइएको छ । यसरी अनुमति र फ्रिक्वेन्सीसमेत उपलब्ध गराएको ६ महिना वितिसक्दा पनि उपकरण आयात प्रक्रिया मात्रै अघि बढाएको टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

नेपाल टेलिकमले विभिन्न प्रक्रियाहरु पुरा गरेर फाइभजी परीक्षणमा आवश्यक उपकरण आयातको अर्डर गरिसकेको उनले बताए । उनका अनुसार यसअघि फोरजी सेवा विस्तार गरिरहेका जेडटीई र हुवावेले नै फाइभ जी परिक्षणका उपकरण ल्याउनेछन् ।

कार्यविधिमा ३ महिनामा कार्य सूचारु गर्नुपर्ने उल्लेख भएपनि फाइभजी परिक्षण नै पहिलोपल्ट भएकाले केही ढिलाई भएको बुझिएको प्राधिकरण नियमन महाशाखाका निर्देशक अम्बर स्थापितले जानकारी दिए । उनका अनुसार प्राधिकरणले बेलाबेलामा टेलिकमलाई झक्झक्याउने काम गर्दै आएको छ । तर, पछिल्लो समय निम्तिएको कोरोना महामारीपछिका समस्याका कारण टेलिकमले भनेको समयमा फाइभ जी परिक्षण गर्न नसकेको बताएको छ । करिव २ हप्ता अघिमात्रै नेपाल टेलिकले प्राधिकरणसमक्ष फाइभ जी परिक्षणका लागि उपकरण आयात गर्नका लागि अनुमति मागेको र सम्झौता भएको जानकारी गराएको थियो ।

फाइभ जी परीक्षण कार्यविधि अनुसार कुनै पनि सेवाप्रदायकले फाइभ जी परिक्षण अनुमति पाएको ३ महिनामा उपकरण आयातदेखि जडान कार्य सुरु नगरे अनुमति नै रद्द्द गर्न सकिने व्यवस्था छ । फाइभ जी परीक्षणका लागि आवश्यक कार्यविधि जारी भएको करिव ४ महिनापछि नेपाल टेलिकमले २६ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा फाइभ जी परीक्षण अनुमति पाएको थियो । टेलिकमले यसअघि नै फोरजी विस्तारलगत्तै देशका प्रमुख ४ शहरमा फाइभ जी परीक्षणको काम पनि अघि बढाउने घोषणा गरेको थियो ।

टेलिकमले परीक्षणका लागि प्राधिकरणबाट अनुमति पाएपनि आवश्यक उपकरणसमेत आपुर्ति गर्न नसक्दा हालसम्म काम अन्यौलमै रहेको देखिन्छ । हाल नेपालभर तोकिएकामध्ये ९५ प्रतिशत स्थानसम्म फोरजी सेवा पुर्याएको टेलिकमले फाइभ जीको परिक्षणका लागि एक वर्षअघि नै अनुमति मागेको थियो ।

टेलिकमले फाइभ जी परीक्षणका लागि काठमाडौं, पोखरा, विराटनगर र नेपालगंजलाई तोकेको छ । यस्तै काठमाडौं आसपासका केही गाउँहरुमा पनि यसको परीक्षण गरिने र सोहीअनुसार एप्लिकेसनमा यसको प्रयोग गर्न सकिने नसकिने हालको बजारको मागलगायत विश्लेषण गरिने योजना छ । तर, टेलिकमले पहिलो चरणमा काठमाडौं, दोस्रो चरणमा पोखरामा परीक्षण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL