Logo

दूरसंचार सेवा प्रदायकविरुद्ध १ बर्षमा ९९ गुनासो दर्ता, सबैभन्दा बढी टेलिकमको

दूरसंचार सेवा प्रदायकविरुद्ध १ बर्षमा ९९ गुनासो दर्ता, सबैभन्दा बढी टेलिकमको



काठमाडौं । पछिल्लो १ बर्षमा इन्टरनेट तथा मोबाइल सेवा प्रदायकको सेवा उपयुक्त नभएको भन्दै ९९ ओटा उजुरीमात्रै दर्ता भएका छन् । नेपाल दुरसंचार प्राधिकरणका अनुसार गत आर्थिक बर्षभरी उक्त संख्यामा गुनासोहरु दर्ता भएका हुन् ।

सेवाप्रदायकहरुले आफ्नो सेवा जस्तो दिएपनि गुनासो भने कम मात्रै दर्ता भएको देखिएको छ । तर प्राधिकरणका अनुसार दर्ता भएका कूल गुनासोमध्ये ४१ प्रतिशतभन्दा बढी गुनासो नेपाल टेलिकमविरुद्ध छन् । जसमा धेरैजसो नेटवर्कमा समस्या देखिएको, जानकारी बिनै पैसा काटेको र मर्मत लगायतको काम समयमै नभएका गुनासा छन् ।

नेपाल टेलिकमको जीएसएम, सीडीएमए, पीएसटीएन, डब्लूएलएल, भिस्याटमा गरेर कूल एक करोड ९७ लाख ४१ हजार १ सय ४ प्रयोगकर्ता रहेका छन् । त्यस्तै इन्टरनेटतर्फ एक करोड ७ लाख ५३ हजार २३२ प्रयोगकर्ता छन् । एडीएसएल, एफटीटीएच, इन्टरनेट लिज लाइन, वाईम्याक्स समेत गर्दा कम्पनीका कूल ग्राहकको संख्या दुई करोड नौ लाख ३१ हजार भन्दा बढी हुन्छ । यो हिसाबले हर्ने हो भने कूल ग्राहक मध्ये कम्पनीको सेवामा नियामक समक्ष गुनासो गर्ने ग्राहकको संख्या ०.०००१९ प्रतिशत मात्र हुन आउँछ ।

यस्तै दुरसंचार सेवाप्रदायक एनसेलको नाममा २४ वटा गुनासो दर्ता भएका छन् । जसमा नेटवर्क समस्या, जानकारी नै नदिई पैसा काट्ने गरेको गुनासा धेरै छन् । प्राधिकरणको तथ्याङ्ककअनुसार एनसेलका प्रयोगकर्ता हाल एक करोड ५९ लाख १६ हजार ३५४ छन् । कूल ग्राहकका आधारमा एनसेलको सेवामा गुनो गर्नेको संख्या जम्मा ०.०००१५ प्रतिशत हुन आउँछ ।

इन्टरनेट सेवा प्रदायकम मध्ये सबैभन्दा बढी गुनासो वल्र्डलिंक कम्युनिकेसन लिमिटेडको नाममा दर्ता भएका छन् । कूल ३ लाख ६८ हजार ७ सय ८७ ग्राहक रहेको वर्ल्डलिंकको नाममा जम्मा १५ वटा गुनासो आएका छन् । कूल प्रयोगकर्ताको हिसाबले हेर्ने हो भने यो संख्या ०.००४० प्रतिशत मात्रै हो । वर्ल्डलिङ्क विरुद्ध आएका गुनासोमा बढीजसो इन्टरनेट स्पीड सुस्त भएको, भनेजति ब्याण्डविथ नदिएको, इन्टरनेटमा समस्या आएको, इन्टरनेट काटिने लगायतका छन् । यस्तै किसिमका गुनासो भायनेट कम्यनुनिकेसन प्रालि र क्लासिक टेक प्रालिको नाममा पनि परेका छन् । उनीहरुको नाममा क्रमशः ६ र ५ ओटा गुनोसो दर्ता भएको उल्लेख गरिएको छ ।

त्यस्तै सुबिसु केबल नेट प्रालिको नाममा चार वटा गुनासो दर्ता भएका छन् । सुबिसु विरुद्ध पनि अन्य प्रतिस्पर्धी कम्पनीकै जस्तो समस्या बताइएको छ ।

यसबाहेक सञ्चालनमै नरहेको टेलिकम सेवा प्रदायक कम्पनी युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को नाममा पनि गत वर्ष एउटा गुनासो दर्ता भएको छ । कम्पनीको नाममा घरमा राखिएको टावरको बिजुलीको पैसा भुक्तानी नभएको, टावर नहटाएको, घरभाडाको रकम अहिलेसम्म नतिरेको गुनासो छ ।

त्यस्तै पोखरा इन्टरनेट प्राली, स्काई केबल इन्टरनेट प्रालि, म्याक्स नेट सोलुसन प्रालिको नाममा पनि एक–एक वटा गुनोसो आएका छन् । इन्टरनेट र टेलिफोनलाई छुट्टाछुट्टै प्रयोगकर्ता मानेर हेर्न हो भने नेपालमा कूल प्रयोगकर्ता (सब्सक्राइबर) पाँच करोड ९६ लाख भन्दा बढी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL