Logo

बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घट्यो, कुन बैंकको अवस्था कस्तो छ ?

बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घट्यो, कुन बैंकको अवस्था कस्तो छ ?



काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । साउन महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको हो । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असार महिनाको तुलनामा साउनमा निक्षेप संकलन ५२ अर्ब र कर्जा लगानी ११ अर्ब रुपैयाँले घटेको छ । पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तताको कारण कर्जा प्रवाह हुन सकेको छैन ।

असारमा भुक्तानी र राफसाफको दबाब पर्ने भएकाले कर्जा लगानी र निक्षेप संकलन केही बढेको थियो । तथापि, साउनमा सरकारी खर्चदेखि विकास निर्माणको काममा सुस्तता आउँने भएकाले पनि यो महिना निक्षेप संकलन र कर्जा लगानी घटेको जानकारहरुको भनाइ छ । सरकारले वर्षको सुरुवातदेखिनै पुँजीगत खर्च बढाएर विकास निर्माणको काममा गती लिन सकेको खण्डमा अगामी दिनमा कर्जा प्रवाह बढेर अर्थतन्त्र चलायमान बन्ने जानकारहरुले बताउँदै आएका छन् ।

१५ बैंकको निक्षेप संकलन घट्यो, ५ बैंकको बढ्यो

असारको तुलनामा साउन मसान्तसम्म आइपुग्दा १५ बैंकको निक्षेप संकलन घटेको छ भने ५ बैंकको बढेको छ । यसअवधिमा सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । एक महिनामा यसको निक्षेप संकलन ७ अर्ब ९६ करोड रुपैयाँले बढेर ५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यसअवधिमा समग्रमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ५२ अर्ब २२ करोड रुपैयाँले घटेर ६४ अर्ब ७८ करोड रुपैयाँमा आएको छ । असार महिनामा वाणिज्य बैंकले ६५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

१० बैंकको कर्जा प्रवाह बढ्यो, १० वटैको घट्यो

असारको तुलनामा साउन महिनामा १० वटा बैंकको कर्जा प्रवाह घटेको छ भने १० वटै बैंकको बढेको छ । सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा पनि ग्लोबल आइएमई बैंक रहेको छ । यसअवधिमा यसको कर्जा प्रवाह ४ अर्बले बढेर ४४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यता, एक महिनामा समग्रमा २० वाणिज्य बैंकको कर्जा प्रवाह १० अर्ब ८६ करोड रुपैयाँले घटेर ४९ खर्ब ६३ अर्ब रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यी बैंकहरुले ४९ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Skip This