Logo

लकडाउनमा पनि टेलिकमको उल्लेखनीय काम, अप्टिकल फाइबर र फोरजी विस्तार द्रूत गतिमा

लकडाउनमा पनि टेलिकमको उल्लेखनीय काम, अप्टिकल फाइबर र फोरजी विस्तार द्रूत गतिमा



काठमाडौं । नेपाल टेलिकमले लकडाउनको अवधिमा समेत उल्लेखनीय ढंगले काम अगाडि बढाईरहेको छ । टेलिकमले नेपालका लागि निकै महत्वपूर्ण आयोजनाका रुपमा रहेका विभिन्न परियोजनामा लकडाउनमा विभिन्न समस्याका बाबजुद पनि निरन्तर काम गरिरहेको हो । टेलिकमले जिम्मेवारी पाएको मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईबर विछ्याउने परियोजना र देशभर फोरजी विस्तार गर्ने परियोजना तिव्रस्तरमा अघि बढिरहेको टेलिकमले जानकारी दिएको छ ।

laxmi

विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) का महामारीले निम्त्याएको लकडाउनमा केही असहजता पैदा भएपनि निरन्तर काम भने भइरहेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । उनका अनुसार फोरजी परियोजनाको काम लकडाउन अगाडिको तुलनामा ४० प्रतिशत भएको छ भने मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईबर विछ्याउने परियोजनाका काम पनि अगाढि बढिरहेको छ ।

अप्टिकल फाईबर परियोजना

नेपाल टेलिकमले २०७३ असोज १२ मा प्रदेश १, २ र ३ मा पाँचथरको चियो भञ्ज्यांगदेखि धादिङको सिमानामा पर्ने आरुघाटसम्म अप्टिकल फाईबर बिछ्याउने गरी ४ अर्ब ८८ करोड रुपैयाँको टेण्डर पाएको थियो । २ बर्षभित्रमा परियोजनाको काम सम्पन्न गर्नुपर्ने सर्त भएपनि विभिन्न सरकारी रोकावटका कारण काममा ढिलाई भएको हुँदा उक्त क्षेत्रका अप्टिकल फाईबर बिछ्याउने प्रक्रिया टेलिकमले गत बर्ष मात्रै सुरु गरेको थियो ।

गत बर्षको जेठ पहिलो साता टेलिकमले धादिंङलगायत प्रदेश १, २ र ३ का विभिन्न जिल्लाबाट अप्टिकल फाइबर विछ्याउने प्रक्रियाको औपचारिक सुरुवात गरेको थियो । हालसम्म ती स्थानमा अप्टिकल फाईबर विछ्याउने काम प्राय सम्पन्न भएको छ । गतबर्ष बर्षायाममा काम कम भएपनि जाडो महिनामा काम तीब्र रुपमा भइरहेको समयमा पुनः लकडाउनले काम केही रोकिएको थियो ।

यस्तै टेलिकमलाई नेपाल दूरसंचार प्राधिकरणले स्मार्ट टेलिकमले भनेबमोजिम काम गर्न नसकेको भन्दै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाईबर विछ्याउन पाएको ३ अर्ब ९४ करोडको परियोजना थमाएको छ । सबै गरेर नेपाल टेलिकमले अब ५ ओटै प्रदेशमा अप्टिकल फाईबर विस्तारको जिम्मेवारी पाएको छ ।

के हुँदैछ काम ?

टेलिकमका प्रवक्ता जोशीका अनुसार मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा भने लकडाउनले केही बाधा सिर्जना गरेको छ । लकडाउनका कारण भारतबाट आउने ‘डक्ट’हरु भित्र्याए पनि चीनबाट आउने प्राय सामग्रीहरु तथा उपकरणहरु ल्याउन सकिएको छैन ।

यस्तै अप्टिकल फाइबर बिछ्याउने काम प्राय ग्रामीण भेगमा भएकाले पनि हाल काम रोकिएको उनको भनाई छ । चीनबाट सामान नआउँदासम्म काम अघि बढाउन नसकिने भएकाले कतिपय स्थानमा काम अघि बढाउन महामारीको अवस्था सामान्य हुनुपर्ने उनको भनाई छ ।

फोरजी विस्तार परियाजनाको अवस्था कस्तो ?

विस २०७३ पुष १७ गते नेपालमै पहिलोपल्ट फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले ७७ वटै जिल्लामा पुगेको घोषणा माघ २२ गते आफ्नो १६ औँ बार्षिकोत्सवमा गरिसकेको छ । ७७ वटै जिल्लाका प्रमुख क्षेत्रमा फोरजीको सेवा पुर्याएपनि टेलिकमले सबै ग्रामीण भेगमा भने पुग्न नसकेको बताएको थियो ।

७७ वटै जिल्लामा फोरजी सेवा पुर्याएको घोषणा गरेको १ महिनापछि कोरोनोको महामारीसँगैको लकडाउनले उक्त परियोजनामा केही बाधा भने ल्याएको छ । गत अघिल्लो बर्ष एक बर्षभित्रै नेपालका सबै क्षेत्रमा फोरजी पुर्याउने लक्ष्यसहित टेलिकमले चिनियाँ कम्पनी जेडटीई र चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेसनल) (सीसीएसआई) हङकङसँग सम्झौता गरेको थियो ।

एकैपटक फोरजी विस्तार गर्ने योजनाअन्तर्गत टेलिकमले कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्यान)का लागि २०७४ पुस १७ र २२ गते यसका विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो । बोलपत्रअनुसार अप्टिकल कोरका लागि जेडटीईले एक करोड ५३ लाख डलर, सिङ्गापुरको मभिनिरले दुई करोड १० लाख डलर र चिनियाँ कम्पनी हुवावेले तीन करोड ८० लाख डलर रकम कबुल गरेपछि उक्त २ कम्पनीलाई कामको जिम्मा दिईएको थियो ।

तर, लकडाउनमा पनि फोरजी विस्तारको काम भने धमाधम भईरहेको प्रवक्ता जोशीले बीजखबरलाई जानकारी दिएका छन । उनका अनुसार लकडाउनको अवधिमा पनि फोरजी अनएयरका लागि आवश्यक ८० प्रतिशत उपकरण आईसकेको छ । तर कोरोनाको त्रासकै कारण कामदारको कमी तथा घरमा जोडिने नेटवर्क जडानमा समस्या उत्पन्न हुँदा अन एयर गर्न भने नसकेको उनको भनाई छ । हालसम्म टेलिकमका फोरजी ग्राहक ४० लाख नाघिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL