Logo

कोरोना महामारीमा ग्राहकलाई ईन्टरनेट सेवाप्रदायकको थ्रेट, किन मौन बस्दैछ प्राधिकरण

कोरोना महामारीमा ग्राहकलाई ईन्टरनेट सेवाप्रदायकको थ्रेट, किन मौन बस्दैछ प्राधिकरण



काठमाडौं । देश कोरोना भाईरस महामारीले निम्त्याएको लकडाउनको चपेटामा छ । लाखौ मानिसहरु कामविहीन भएर घरभित्रै थुनिनुपरेको छ । जनताको आम्दानी हुने स्रोतहरु सबै बन्दजस्तै भएका छन भने नगद प्रबाहमा समस्या आएको छ । कतिपयलाई त हातमुख जोर्नै मुस्किलजस्तै भएको छ । तर यस्तो अप्ठ्यारो परिस्थितीमा पनि नेपालका ईन्टरनेट सेवाप्रदायकहरुले भने शुल्क असुल्न छोडेका छैनन ।

नेपाल दूरसंचार प्राधिकरणको निर्देशनमा ईन्टरनेट सेवाप्रदायक संघ (आईस्पान)ले गत महिना मात्रै लकडाउनको अवधिमा शुल्क नअसुल्ने निर्णय गरेको थियो ।

प्राधिकरणले दिएको निर्देशनको पालना गर्दै आईएसपीहरुले पनि अप्ठ्यारो परिस्थीती निम्तिएको बेलामा शुल्क असुल्न नहुनेमा सहमत भएका थिए । तर यस्तो सहमति भएको केही दिन नबित्दै ईन्टरनेट सेवाप्रदायकले नविकरणको समय सकिएका ग्राहकहरुको इन्टरनेट सेवा बन्द गरिदिन थालेका छन् ।

केही दिन अघि म्याद सकिएका ग्राहकको भटाभट कनेक्सन काटिदिने गरेका केही सेवाप्रदायकले पुनः नेपाल दूरसंचार प्राधिकरणको निर्देशनमा रोकेका थिए । तर त्यसको केही समय नबित्दै ईन्टरनेट सेवाप्रदायकहरुले ग्राहकको सेवा बन्द गर्दै पैसा तिर्नका लागि फोनबाट ताकेता गर्दै आएका छन् ।

‘मैलै पैसा तिर्नुपर्ने समय १ हप्ता बाँकी हुँदै वल्र्डलींकबाट फोन आयो,’ एक सेवाग्राहीले भने, ‘इन्टरनेट सेवा प्रदायकले पटक पटक फोनै गरेर पैसा तिर्नुस नभए हामी लाईन काटिदिन्छौं भनेर फोन गरेपछि विभिन्न उपाय अबलम्बन गरेर मैलै पैसा तिरे ।’ यस्तो सयममा इन्टरनेट सेवा प्रदायमले सेवा प्रदान नगरेर अमानवीय व्यवहार देखाएको उनको गुनासो थियो ।

कतिपय ईन्टरनेट सेवाग्राहीहरु हातमुख जोर्नै अप्ठ्यारो परिरहेको अवस्थामा पनि फोन गरेर लाईन काटिदिन्छौं भन्ने खबर आएपछि पैसा तिर्न बाध्य भएको बताउँदै आएका छन । लकडाउनको अवधिमा मानिसलाई समय विताउन होस वा टाढाका आफन्तजनसँग टचमा रहिरहन सजिलो भएको ईन्टरनेटको पैसा नतिरेपछि लाईन काटिदिँदा सेवाग्राही मर्कामा पर्न थालेका छन् ।

ईन्टरनेट बैंकिङको पहूँचमा भएका र हुनेखाने सेवाग्राहीलाई त केही सजिलो भएको छ तर यसको पहुँचमा नपरेका ग्राहकहरु भने ठुलो मारमा परेका छन् ।

यस्तै सरकारले ईन्टरनेट सेवाप्रदायकले सेवाग्राहीलाई शुल्कमा २५ प्रतिशत छुट दिने कुरामा पनि असहमति जनाएका छन् । उनिहरुले लकडाउनले आफुलाई पनि समस्या परिरहेको बताउँदै सरकारले गरेको अनुरोधमा असहमति जनाएका थिए ।

यता दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भने कोरोनाको महामारीले सेवाप्रदायकमा पनि ठुलो असर परेको बताउँछन । ‘हामीलाई सेवाप्रदायकहरुले सबैले पैसा नतीरे हामी कम्पनी चलाउन नसक्ने अवस्थामा पुग्नेभयौं भन्दै आउनुुभएको थियो,’ उनले भने, ‘हामीले ईन्टरनेट बैंकिङको पहुँच भएका तथा पैसा तिर्न सक्नेसँग पैसा लिने सहमति भएको हो ।’

सेवाप्रदायकहरुले लकडाउनमा सबैले पैसा नतिरेकाले कार्यालय संचालन गर्नै गाह्रो भएको भन्दै प्राधिकरण पुगेका थिए । प्राधिकरणले सेवाप्रदायकलाई पनि बाँच्न पर्छ भन्द तिर्न नसक्ने ग्राहकको पहिचान गरी उनिहरुको मात्रै लाईन नकाट्न निर्देशन दिएको उनको भनाई थियो ।

तर यसरी सेवाप्रदायकले नै ग्राहकलाई फोन गर्दै लाईन काटीदीन्छौ भनेर जानकारी गराउने गरेका कारण सेवाग्राहीहरु मर्कामा पर्न थालेका छन ।

साथै सेवाप्रदायकले लकडाउनको अप्ठ्यारो परिस्थितीमा पनि चाहिने भन्दा कम ब्यान्डविथको ईन्टरनेट सेवा प्रवाह गर्दा पनि ग्राहकहरु मर्कामा पर्ने गरेका छन् । ईन्टरनेट सेवाप्रदायकहरुले अप्ठ्यारो समयको फाईदा उठाउँदै ग्राहकलाई मर्कामा पार्न थालेका छन् । सम्झौता गर्नेबेलामा ग्राहकसँग २५ देखि ४० एमबीपीएस ईन्टरनेटको सम्झौता गरेर जम्मा ८ देखि १४ एमबीपीएस ब्यान्डविथ दिने सेवाप्रदायकको प्रचलनले ग्राहकहरु आजीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL