Logo

कर्णाली प्रदेशमा पुग्यो नेपाल टेलिकमको एफटीटीएच सेवा, सुर्खेतभरी जडान गरिँदै

कर्णाली प्रदेशमा पुग्यो नेपाल टेलिकमको एफटीटीएच सेवा, सुर्खेतभरी जडान गरिँदै



काठमाडौं । नेपाल टेलिकमले आफ्नो अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवा कर्णाली प्रदेशमा पनि पुर्याएको छ । सोमबार दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले टेलिकमको एफटिटिएच सेवाको उद्घाटन गरेका हुन ।

उनले उक्त प्रविधि मार्फत समारोहस्थलमा जोडिएको फोनबाट प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई फोन गरेर सेवाको शुभारम्भ गरेका हुन । सोही फोनमा सञ्चालित इन्टरनेट सेवा मार्फत सो कार्यक्रमको भिडियो स्थानीय टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विज्ञान र प्रविधिको विकासले विश्वलाई एउटा गाउँमा परिणत गरेको र मानव जीवनलाई सहज बनाएको बिचार व्यक्त गरेका छन । उनले नेपाल टेलिकमको काम सह्राहनीय भएको उल्लेख गर्दै यसबाट डिजिटल नेपालको अवधारणा साकार पार्न ठूलो सहयोग पुग्ने अपेक्षा विश्वास व्यक्त गरे ।

कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले कम्पनीका सेवाहरु देशका कुनाकाप्चासम्म पु¥याई सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न कम्पनी प्रयासरत रहेको बताएका छन ।

उनले कम्पनी कर्णाली प्रदेशमा अत्याधुनिक र गुणस्तरीय सञ्चार सेवाको विस्तारमा लागिरहेको र यसका लागि महत्वपूर्ण योजनाहरु सञ्चालनमा रहेको बताउँदै त्यसमा कर्मचारी लगायत स्थानीय प्रशासन र प्रदेश सरकारबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन ।

टेलिकमले हाल ५ सय १२ लाईन क्षमताका दुई थान फाइबर डिस्ट्रिव्युसन क्याविनेट (एफडिसी) जडान गरी कूल १ हजार २४ लाईन नेटवर्क क्षमताकासाथ शुरु भएको सो सेवाको वितरण शुरु गरिसकेको छ । सुर्खेतभरी नै यसको विस्तार तत्काल गर्ने टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL