Logo

अजेय सुमार्गीको हेलो नेपाललाई ४ अर्ब ३१ करोड पूँजीगत लाभकर तिर्न आन्तरिक राजस्वको पत्र

अजेय सुमार्गीको हेलो नेपाललाई ४ अर्ब ३१ करोड पूँजीगत लाभकर तिर्न आन्तरिक राजस्वको पत्र



काठमाडौं । आन्तरिक राजस्व कार्यालयले नेपाल स्याटेलाईट टेलिकम अर्थात हेलो नेपाललाई ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर तिर्न पत्रचार गरेको छ । कम्पनीले आफ्नो ७५ प्रतिशत स्वामित्व साईप्रसस्थित एयरवेल सर्भिसेजमार्फत टेलियासोनेरा कम्पनीलाई निसर्ग (बिलय) गरे वापतको लाभकर तिर्न पत्रचार गरेको हो ।

नेपाल स्याटेलाईट टेलिकमको टेलियासोनेरालाई ६ अर्ब ७१ करोड रुपैयाँ निसर्ग गराएकोमा सो वापतको पूँजीगत लाभकर ५ अर्ब ६३ करोडको २५ प्रतिशत रकम लाभकर तिर्नुपर्ने आन्तरिक राजस्व कार्यालय बानेश्वरले पठाएको पत्रमा उल्लेख छ । २५ प्रतिशत लाभकर बापतको १ अर्ब ४० करोड रुपैयाँ दाखिला नभएको हूँदा उक्त रकमको शतप्रतिशत शुल्क तथा हालसम्मको व्याज र सोको कर समेत गरी ४ अर्ब ३१ करोड रुपैयाँ नेपाल स्याटेलाईटलाई पत्र काटेको हो ।

कर कार्यालयले उक्त रकम तिर्न नपर्ने कुनै ठोस सवुत प्रमाण भएका पेश गर्न १५ दिनको समय दिँदै बैशाख ११ गते सूचना प्रकाशित गरेको थियो । सोही बमोजिम कम्पनीले बैशाख २७ गते कार्यालयलाई जवाफ पठाएको थियो । उक्त जवाफ चित्त बुझ्दो नभएपछि सोही जवाफको आधारमा समेत कर कार्यालयले बैशाख ३१ गते कर निर्धारण गरी जेठ १ गते पत्र पठाएको थियो ।
तर, कार्यालयले उक्त पत्र बुझ्न नमानेपछि विद्युतीय ठेगाना र हुलाकमार्फत पत्र पठाइएको समेत कार्यालयले जानकारी दिएको छ ।

नेपाल स्याटेलाईटले नेपालको मध्यपश्चिम र सुदुरपश्चिम विकासक्षेत्रमा सेवा विस्तार गर्ने गरी २०६४ फागुन ५ गते लाईसेन्स पाएको थियो । हाल कम्पनीका ३ लाख २८ हजार ग्राहकले सेवा प्रयोग गरिरहेका छन । कम्पनीले नेपाल दूरसंचार प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता समेत धेरै बर्षदेखि तिरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL