Logo

वितरण भएकामध्ये ९५ लाख सिमकार्ड निष्क्रिय, ८६ प्रतिशत जनताले लिन्छन टेलिफोन सेवा

वितरण भएकामध्ये ९५ लाख सिमकार्ड निष्क्रिय, ८६ प्रतिशत जनताले लिन्छन टेलिफोन सेवा



काठमाडौं । नेपालमा हालसम्म वितरण भएकामध्ये ९५ लाख थान बढी सिमकार्ड निष्क्रिय रहेको पाईएको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त संख्यामा सिमकार्डहरु निष्क्रिय रहेको पाईएको हो । हालसम्म नेपालमा संचालित टेलिकम कम्पनीहरुले ३ करोड ४७ लाख ३१ हजार ८ सय ५९ थान सिमकार्ड विक्री वितरण गरेका छन् । तर हाल यस्ता सिमकार्डमध्ये जम्मा २ करोड ५२ लाख २२ हजार २ सय ३४ थान सिमकार्ड मात्रै संचालन छन् ।

laxmi

पछिल्लो समय नेपाल दूरसंचार प्राधिकरणले सिमकार्डको वितरण संख्यालाई आधार मान्दै नेपालमा ११९ प्रतिशत जनसंख्यासम्म टेलिफोन सेवा पुगिसकेको बताउँदै आएको थियो । अर्थात नेपालको जनसंख्याभन्दा १९ प्रतिशत थप विन्दुसम्म नेपालको दूरसंचार सेवा पुगेको बताईँदै आएको थियो ।

तर, सक्रिय प्रयोगकर्ताका आधारमा भने हालसम्म जम्मा जनसंख्याको ८६ प्रतिशत नागरिकले मात्रै सिमकार्ड प्रयोग गरिरहेको पाईएको हो । जनसंख्याको १४ प्रतिशत नागरिकले अझै सिमकार्ड प्रयोग नगरेको वा टेलिफाेन सेवाकाे प्रयाेग नगरेकाे प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

हालसम्म नेपाल टेलिकमले २ करोड ८ लाख ८७ हजार सिमकार्ड वितरण गर्दा एनसेलले १ करोड ३२ लाख ३४ हजार सिमकार्ड वितरण गरिसकेको छ । त्यसमध्ये नेपाल टेलिकमका १ करोड १६ लाख ४८ हजार र एनसेलका १ करोड २९ लाख ६४ हजार सिमकार्ड सक्रिय छ । अर्थात सक्रिय सिमकार्डको संख्यामा नेपाल टेलिकमभन्दा एनसेलका ग्राहक बढी छन् ।

इन्टरनेट पहुँच ९८ प्रतिशत

यता ब्रोडब्याण्ड इन्टरनेटको अवस्था पनि त्यस्तै छ । हालसम्म सरकारले जनसंख्याभन्दा ३९ प्रतिशत विन्दु बढीसम्म पुगिसकेको भनेको इन्टरनेटको पहुँच पनि सक्रिय प्रयोगकर्ताका आधारमा जम्मा ९८.९८ प्रतिशत जनसंख्यासम्म मात्रै पुगेको पाईएको छ । हालसम्म २ करोड ४ लाख जनाको पहुँचमा पुगेको भनिएको फोरजी सेवा जम्मा १ करोड २७ लाख जनासम्म मात्रै पुगेको पाईएको छ ।

पछिल्लो समय दूरसंचार सेवाप्रदायकहरुले सिम वितरणकै आधारमा सेवा प्रवाह भईरहेको बताउने गरेपछि प्राधिकरणले सक्रिय प्रयोगकर्ताको पनि तथ्यांक माग गरेको थियो । खासगरी कुनै निश्चित अवधिसम्म निष्क्रिय रहेका सिमकार्डहरुलाई सक्रिय सिमकार्डमा गणना गरिँदैन । माथि उल्लेख गरिएका तथ्यांकमा असोज महिनामा निष्क्रिय रहेका सिमकार्डको संख्या उल्लेख गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL