Logo

हचुवामा ठेक्का लगाउँदाको असर, यी तीन कारण जसले १० अर्बको सूचना महामार्ग विस्तार परियोजना अन्यौलमा

हचुवामा ठेक्का लगाउँदाको असर, यी तीन कारण जसले १० अर्बको सूचना महामार्ग विस्तार परियोजना अन्यौलमा



काठमाडौं । नेपालका हरेक क्षेत्रहरुसम्म इन्टरनेट सेवाको भरपर्दाे, सस्तो र सरल पहुँच पुर्याउन सरकारले झण्डै १० अर्ब (९ अर्ब ८९ करोड १७ लाख) लगानी गर्दैछ । नेपालका हरेक जिल्ला सदरमुकामहरुसम्म पुर्याउने गरी मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग बनाउने काम अघि बढिरहेको ५ बर्ष वित्दापनि काम भने न्युन नै देखिन्छ । विभिन्न ३ प्याकेजमा छुट्याएर नेपालका दूरसंचार सेवाप्रदायकको जिम्मामा लगाईएको यो परियोजना ढिलाई हुनुमा पूर्वाधार र समन्वयका झन्भट नै प्रमुख रहेको नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी बताउँछन् ।

laxmi

नेपाल टेलिकमले प्रदेश १, २ र ३ का हरेक जिल्लाका जिल्ला सदरमुकामसम्म सूचना महामार्ग पुर्याउनेगरी जिम्मा पाएको ५ बर्ष पुग्यो । अर्थात नेपाल दूरसंचार प्राधिकरणले २०७३ असोज १२ गते कम्पनीलाई जिम्मा दिएको थियो । यस्तै कम्पनीले सुदूरपश्चिम र मध्यपश्चिमका केहि जिल्लाहरुमा पनि पहिले स्मार्ट टेलिकमले पाएको परियोजना पुनः २०७६ मा जेठ १९ गते पाएको थियो । यी दुबै परियोजना टेलिकमले २ बर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । तर, तथ्यांक र कामको प्रगति हेर्दा पूर्वको परियोजना ५ बर्षमा जम्मा ४६ प्रतिशत काम भएको नेपाल दूरसंचार प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै पश्चिमको परियोजनाको कामको जिम्मा पाएको २ बर्ष ६ महिना वितिसक्दा पनि कामको प्रगति देखिँदैन । यी दुवै परियोजनाको काममा प्रगति नहुनुमा मूख्य ३ कारण रहेको टेलिकमका प्रवन्ध निर्देशक अधिकारी बताउँछन् । उनले आफ्नो कार्यकालमा फोरजी विस्तार, एफटीटीएचको विस्तार, फाईभजी परिक्षणको तयारी, कर्मचारी सुशासनलगायतमा धेरै फड्को मारेपनि यो परियोजना भने सोचेबमोजिम अघि बढाउन सकेनन् ।

के हुन ढिलाई हुनुका ३ कारण ?

टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले यी परियोजनाहरुको काममा ढिलाई हुनुमा प्रमुख ३ कारण रहेको बताएका छन् । ती तीनै कारणले हालसम्म टेलिकमको जिम्मामा आएको यो परियोजनाले गति नलिएको उनको ठम्याई छ ।

कारण १ : साईट अध्ययन नगरी कामको सम्झौता गर्नु

नेपाल टेलिकमले २०७३ र २०७६ सालमा हात पारेको परियोजनाको म्याद क्रमशः ५ र साढे २ बर्ष नाघिसकेको छ । तत्कालिन समयमा नेपाल दूरसंचार प्राधिकरण र नेपाल टेलिकमबीच २ बर्षमै काम सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । तर, सम्झौता हुँदाखेरी साईट क्लियर, समन्वय, अध्यनलगायतका कार्यहरुको समय नछुट्याईनाले ढिलाई भएको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको भनाई छ ।

उनका अनुसार सम्झौता गरिसकेपछि साईटको अध्ययन गर्न, अध्ययन गरिसकेपछि ठेक्का लगाउनलगायतका झन्झटीला प्रक्रियाहरुलाई नै धेरै समय लाग्छ । पहिलो प्याकेज प्रदेश १, २ र ३ मा पनि ठेक्का लगाउनेलगायतका कामहरुमा धेरै समय लागेकाले अझै काम हुन नसकिरहेको उनको भनाई छ । यस्तै २ बर्षमा अप्टिकल फाईबर नै विछ्याउनेगरी सम्झौता गरिएको प्याकेज ३ प्रदेश ६ र ७ मा भने अभै पनि पूर्वकार्यहरु जारी छन् । उक्त क्षेत्रमा भौगोलिक अध्ययन, ठेक्का सम्झौता, उपकरण आयात लगायतका कामहरु भर्खर सकिएर काम अघि बढेको मात्रै छ ।

कारण २ : विद्युत प्राधिकरणसँगको झमेला

नेपाल टेलिकमले पहिलो प्याकेज अन्तर्गत प्रदेश १, २ र ३ मा एडीएसएस फाईबर जडान गर्दा नेपाल विद्युत प्राधिकरणसँग केही लफडा भयो । विद्युत प्राधिकरणसँग टेलिकमले एरियल फाईबर तान्दा प्रतिकिलोमिटर १ लाख रुपैयाँ ३० बर्षका लागि दिनेगरी सम्झौता भएको थियो । तर, सूचना महामार्गको विस्तार गर्नेबेला प्राधिकरणले उक्त भाडा २८ गुणाले बढाएर २८ लाख प्रतिकिलोमिटर रुपैयाँ पुर्याएको थियो । यस्तो हुँदा यसको लागत बढ्ने भन्दै करिव २ बर्ष नेपाल टेलिकमले एरियल फाईबर तान्ने काम गरेन जसका कारण यसको काम २ बर्ष धकेलिन पुग्यो । हाल नेपाल विद्युत प्राधिकरणसँग टेलिकमले प्रतिकिलोमिटर साढे ३ लाख रुपैयाँ दिएर ३० बर्षका लागि मान्य हुनेगरी सम्झौता गरिसकेको छ । यो सम्झौतापश्चात टेलिकमले एरियल फाईबर विस्तार गत बर्षदेखि तिव्र बनाएको छ । यसको काम लगभग सकिसकेको छ ।

कारण ३ : सडकसँग विवाद

टेलिकमले मध्यपहाडी लोकमार्गमा विछ्याउने सूचना महामार्ग (अप्टिकल फाईबर) विद्युत प्राधिकरणको पोल र भुमिगत २ तरिकाले अघि बढाएको छ । जसमा विद्युत प्राधिकरणसँग सबै सम्झौता भएर काम गत बर्षदेखि मात्रै तिव्र अघि बढेपनि सडकको किनाराबाट तानिने फाईबरमा भने बेलाबेलामा विवाद उत्पन्न हुने गरेको छ । टेलिकमका प्रवन्ध निर्देशक अधिकारीका अनुसार सडकको किनारबाट फाईबर तान्न सडकको राईट अफ वे लिनुपर्छ । त्यसका लागि केन्द्रमा सडक विभागसँग एकिकृत सम्झौता भएपनि विभिन्न जिल्लास्थित सडकका डिभिजनल कार्यालयहरुबाट कहिलेकाहीँ बाधा उत्पन्न भईदिन्छ ।

टेलिकमले प्रत्येक जिल्लाका डिभिजनल कार्यालयबाट पुनः राईट अफ वे लिनुपर्ने बाध्यता आयो । जसका कारण पनि ढिलाई भएको देखिन्छ । यस्तै कतिपय स्थानमा सडकहरु साँघुरा हुनाले फाईबर अन्डरग्राउन्ड गर्न खन्नुपर्ने र त्यो खनेको माटो ढुँगा सडकमै फाल्नुपर्ने अवस्था आएपछि सडक नै वान वे चलाउनुपर्ने बाध्यता छ । यस्तो भएको खण्डमा कतिपय जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले नै काम रोकिदिनुभयो । यी विषयहरुमा पनि अब टेलिकमले समन्वय गरेर कामहरु अघि बढाईसकेको छ ।

यतिमात्रै नभएर सार्वजनिक संस्थामा हुने ठेक्का प्रक्रियाले पनि यसमा समय खाईदिने उनको बुझाई छ । साथै गत २ बर्षमा आएको कोरोना महामारीलेसमेत सूचना महामार्ग विस्तारमा ठुलो अड्चन पैदा गर्याे जसका कारण भनेबमोजिमको काम हुन सकेको छैन ।

प्राधिकरणले प्याकेज २ अर्थात लुम्बिनी र गण्डकी प्रदेशमा सूचना महामार्ग विस्तार गर्ने जिम्मा युटीएललाई दिएको थियो । समयमै काम नगरेको भन्दै प्राधिकरणले युटिएललाई परियोजनामुक्त गराएपनि उक्त मुद्दा हाल सर्वाेच्चमा विचाराधिन रहेकाले काम अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL