काठमाडौं । नाडा अटो शो २०२५ ले यस वर्ष पनि नयाँ रेकर्ड कायम गरेको छ। उद्घाटन भएको केवल तीन दिनमै ७८ हजार ५१३ जना अवलोकनकर्ता सहभागी भइसकेका छन्। यो तथ्यांकले आर्थिक चुनौतीका बीच पनि नेपाली जनतामा अटोमोबाइल क्षेत्रमा बढ्दो उत्साह, विश्वास र समर्थनलाई झल्काएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षले यो उपलब्धिलाई अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिँदै भने, “यसले हाम्रो अपेक्षा अझ उचालिएको छ। नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।”
उनले प्रदर्शनीको सफलतामा योगदान पुर्याउने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी तथा अवलोकनकर्ताप्रति आभार व्यक्त गर्दै नाडा अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव बनेको बताए।