Logo

देशभर ३७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता फोरजीको पहुँचमा, टेलिकमले बढायो ७१ प्रतिशत प्रयोगकर्ता

देशभर ३७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता फोरजीको पहुँचमा, टेलिकमले बढायो ७१ प्रतिशत प्रयोगकर्ता



काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्तामध्ये ३७ प्रतिशत प्रयोगकर्ताले चौथो पुस्ताको फोरजी सेवा उपयोग गरिरहेका छन् । पछिल्लो समय बढ्दै गएको प्रविधिको विस्तारले इन्टरनेट प्रयोगकर्ताको संख्या त बढेको छ नै । त्यसमा पनि केहि महिनादेखि फोरजी ग्राहकको संख्यामा भने तिव्र वृद्धि भईरहेको देखिन्छ ।

laxmi

नेपाली दूरसंचार क्षेत्रको नियामकिय निकाय नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको गत असोज मसान्तसम्मको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआईएस) प्रतिवेदनले यो तथ्य देखाएको हो । प्राधिकरणको प्रतिवेदन अनुसार हाल नेपाल इन्टरनेट सेवाग्राहीमध्ये ३७ दशमलव ४ प्रतिशतले फोरजी नेटवर्क प्रयोग गर्ने गरेका छन् ।

असोज मसान्तसम्म नेपालमा इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या मात्रै ३ करोड ४३ लाख ३२ हजार ९ सय ८१ जना पुगेको छ । यो नेपालको जनसंख्याभन्दा साढे १३ प्रतिशतले बढि हो । अर्थात प्राधिकरणले यसको तथ्यांक निकाल्दा तथ्यांक विभागले उपलब्ध गराएको औषत जनसंख्याका आधारमा तथ्यांक निकाल्ने गर्दछ । इन्टरनेट सेवा कतिपयले तारसहितको फिक्स्ड र ताररहित मोबाईल ब्रोडब्याण्ड प्रयोग गरिरहेका छन् । ती मध्ये तारसहितको प्रयोगकर्तालाई भने ४ ले गुणन गरेर हिसाव निकालीन्छ । यसरी हिसाव निकाल्दा तारसहितको सेवा गएको एउटा घरमा कम्तिमा ४ जनाले इन्टरनेट चलाउने अनुमानका आधारमा तथ्यांक निकाल्ने गरिएको प्राधिकरण स्रोत जनाउँछ ।

यस्तै मोबाईल ब्रोडब्याण्डकै कुरा गर्दा पनि कतिपय मोबाईल प्रयोगकर्ताले विभिन्न कम्पनीका धेरै सिमकार्ड प्रयोग गर्ने हुनाले पनि एक प्रयोगकर्ता धेरै प्रयोगकर्तामा गनिन्छ । जसका कारण तथ्यांकमा जनसंख्याभन्दा बढिमा इन्टरनेट सेवा पुगेको देखिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल बताउँछन् । तर, धेरैजसो हिमाली तथा पहाडी केही जिल्लाहरुका स्थानीयले भनेबमोजिमको ब्रोडब्याण्ड इन्टरनेटको उपयोग गर्न अझै पनि पाएका छैनन् । यसका बाबजुद पनि तथ्यांमा ११३ दशमलव ५७ प्रतिशत जनसंख्यासम्म इन्टरनेटको पहुँच पुगेको देखिन्छ ।

फोरजी प्रयोगकर्ता ३७ प्रतिशत

नेपालमा हाल इन्टरनेट पहुँच पुगेको जनसंख्या ११३ प्रतिशत बढि पुग्दा फोरजी सेवाग्राहीको संख्या पनि ३७ प्रतिशत पुगेको छ । प्राधिकरणको तथ्यांक अनुसार असोज मसान्तसम्म नेपालमा फोरजी इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड २८ लाख ६० हजार १४१ पुगेको छ । जुन कुल इन्टरनेट प्रयोगकर्ताको ३७ दशमलव ४५ प्रतिशत हो । फोरजी प्रयोगकर्ताको संख्यामा ठुलो हिस्सा सरकारी स्वामित्वको नेपाल दूरसंचार कम्पनी लिमिटेडको छ । गत असोज मसान्तसम्म कम्पनीको फोरजी सेवा प्रयोगकर्ता ६६ लाख ३४ हजार ६५ जना पुगेका छन् ।

नेपाल टेलिकमले हाल ७७ जिल्लामै फोरजी सेवा पुर्याईसकेको घोषणा गरेको छ । सोही अनुसार कम्पनीका फोरजी सेवाग्राही दिनानुदिन बढ्दै गईरहेको तथ्यांकले देखाउँछ । ३ महिना अघि अर्थात गत असार मसान्तसम्म नेपाल टेलिकमले आफ्ना फोरजी ग्राहकसंख्या ४७ लाख ४४ हजार जना पुर्याउको थियो । तर, त्यसको ३ महिनापछि अर्थात असोज मसान्तसम्म उक्त संख्या ७१ दशमलव ५१ प्रतिशतले बढ्दै ६६ लाख ३४ हजार पुगेको हो ।

यस अवधिमा एनसेलले भने आफ्ना फोरजी ग्राहकको संख्या १० लाखले मात्रै बढाएको देखिन्छ । गत असार मसान्तमा कम्पनीको फोरजी सेवा प्रयोगकर्ता ५० लाख ४२ हजार रहेकोमा असोज मसान्तसम्म उक्त संख्या बढेर ६० लाख ५९ हजार पुगेको हो ।
हाल नेपाल टेलिकमले उपलब्ध गराएको इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या १ करोड ८५ लाख ४२ हजार बढि छ । जसमा फाईबर टु दी होम, थ्रिजी, फोरजी, एडीएसएललगायतका सेवाहरु रहेका छन् ।

यता एनसेलले भने आफ्ना प्रयोगकर्ताहरुलाइ थ्रिजी र फोरजी मार्फत मोबाईल ब्रोडब्याण्ड सेवा दिईरहेको छ ।

भ्वाईसमा ४ करोड प्रयोगकर्ता

यता भ्वाईस सेवातर्फ हेर्दा ४ करोड बढि प्रयोगकर्ता पुगिसकेका छन् । सिम वितरणको आधारको उक्त तथ्यांक अनुसार हालसम्म ४ करोड ११ लाख ९२ हजार २ सय जना प्रयोगकर्ता पुगेका छन् । जसमा नेपाल टेलिकमको भ्वाईस सेवा प्रयोगकर्ताको संख्या २ करोड २२ लाख ६९ हजार छ भने एनसेलको भ्वाईस प्रयोगकर्ता १ करोड ६५ लाख ५६ हजार जना पुगेका छन् । यस्तै तेस्रो ठुलो मानिएको स्मार्टसेलले उपलब्ध गराएको भ्वाईस सेवा प्रयोगकर्ताको संख्या असोज मसान्तसम्म २३ लाख ६३ हजार १०६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL