Logo

सरकारको निर्णयले कोरोना झन् फैलने डर भयो, लामो दूरीका सार्वजनिक सवारी खोल्न ढिला नगरौं : यातायात व्यवसायी

सरकारको निर्णयले कोरोना झन् फैलने डर भयो, लामो दूरीका सार्वजनिक सवारी खोल्न ढिला नगरौं : यातायात व्यवसायी



काठमाडौं । सरकारले गत हप्तादेखि १२० दिन लामो लकडाउन हटाएको घोषणा गर्याे । केही पेशा व्यवसायहरु संचालनमा आएपनि केही व्यवसायहरु भने अझै बन्द नै छन् । तर, सार्वजनिक यातायात व्यवसायीहरुको लगातारको ताकेताका आधारमा असार २६ गतेदेखि नै सार्वजनिक सवारीसाधन जिल्लाभित्रै चलाउन पाईने गरी निर्णय भयो ।

laxmi

निर्णय भएको केही दिनसम्म सार्वजनिक सवारीसाधन व्यवसायीहरुले आफ्ना गाडीहरु विभिन्न माग राख्दै संचालनमा ल्याएनन । तर, बैंक कर्जाको ब्याज, पुर्नकर्जा, किस्ता तिर्ने म्यादलगायतका माग राख्दै गाडीहरु संचालनमा ल्याएका थिएनन । सोही अनुसार यातायात व्यवस्था विभाग, र सार्वजनिक सवारीसाधनका व्यवसायी तथा मजदूरबीच सहमति पछि साउन ८ गतेदेखि छोटो दूरीमा सार्वजनिक सवारीसाधन संचालनमा आएका छन् ।

एक जिल्लामा फैलिएको संक्रमण अन्य जिल्लामा फैलन नपाओस भनेर सरकारले नै जिल्लाभित्रै सार्वजनिक सवारीसाधन चलाउने पाईने निर्णय गरेको थियो । तर, सोही निर्णयले नै कोरोनाको डर झन् उच्च बनाएको सार्वजनिक यातायात व्यवसायी बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार जिल्लाभित्रै मात्र गाडी चल्दा कोरानाको त्रास झन बढ्दो छ ।

काठमाडौं भित्रिने प्राय मानिसहरु उपत्यकाका नाकामा आएर झर्छन । अर्थात काभ्रेको साँगामा, धादिङको नागढुङ्गामा, फर्पिङमा र टोखा खहरेमा मानिहरु बाहिरबाट आएर हिंडदैं पुनः काठमाडौंभित्र चल्ने गाडीमा चढ्छन् । हाल सबै जिल्लामा यो समस्या व्याप्त रहेको महासंघमा महासचिव सिटौला बताउँछन् ।

सोहीअनुसार बाहिरबाट नाकासम्म आउन र नाकादेखि अर्काे गाडीमा चढ्दा कोरोनाको डर पहिलेभन्दा बढेको उनको भनाई छ । बरु एकैचोटी लामो रुटका सवारीसाधन चलाए कोरोना फैलावटलाई केही नियन्त्रण गर्न सकिने उनले बताए । ‘लामो रुटका गाडी चलेपछि कैलालीबाट आउने गाडीभित्र संक्रमित भए एउटै गाडी मात्रै संक्रमित हुन्छ,’ उनले भने, ‘तर, हाल कैलालीबाट आउने मानिसले १४ ओटासम्म गाडी परिवर्तन गर्दै काठमाडौं आएपछि कोरोना फैलने क्रम उच्च रुपमा बढ्ने देखिन्छ ।’

लामो रुटमा चलाउने तयारी के छ ?
सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै भदौ १ गतेदेखि हवाई उडान र लामो रुटका सार्वजनिक सवारीसाधनसमेत संचालनमा ल्याउने निर्णय गरेको छ । कोरोना कहर बढेसँगै काठमाडौंलगायत विभिन्न शहरहरु छोडेर जन्मथलो गएकाहरु भदौ १ गतेदेखि पुनः कर्मथलोमा फर्किने सम्भावनाः उत्तिकै छ । तर, सरकारले लामो रुटको सार्वजनिक सवारी कसरी संचालन गर्ने भन्ने कार्यविधि अझै बनाएको छैन ।

व्यवसायीहरुले विभिन्न सवारीसाधनहरु संचालनका लागि तयारी अवस्थामा राखेको महासंघका महासचिव सिटौलाले बिजखबरलाई जानकारी दिए । उनका अनुसार सवारीसाधनमात्रै तयारी अवस्थामा रहेर हुँदैन । कर्मथलो फर्किने लाखौं सर्वसाधारणलाई सार्वजनिक सवारीसाधनमा कसरी ल्याउने भन्ने कार्यविधि बन्नुपर्छ । हचुवाको भरमा ल्याए भद्रगोल अवस्थााको सिर्जना हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL