Logo

‘फाईभ जी’ परीक्षणको तयारीमा नेपाल टेलिकम, फोरजी विस्तारलगत्तै ४ शहरमा परीक्षण

‘फाईभ जी’ परीक्षणको तयारीमा नेपाल टेलिकम, फोरजी विस्तारलगत्तै ४ शहरमा परीक्षण



काठमाडौं । विकसित विश्वले भर्खरै उपयोगमा ल्याउँदै गरेको पछिल्लो पुस्ताको ‘फाइभजी’ प्रविधी नेपालमा कहिले आइपुग्ला भन्नेमा धेरैको चासो छ । यही चासोलाई सम्बोधन गर्नेगरी नेपालमा अहिलेसम्मकै द्रुत गतिको फाइभ जी सेवा शुरु गर्न नेपाल टेलिकमले पहल थालेको छ ।

हाल देशैभर फोरजी बिस्तारमा तीब्रता दिएको नेपाल टेलिकमले फोरजी विस्तार सकेलगत्तै फाईभजीको परीक्षण गर्ने भएको छ । फोरजी विस्तार अन्तिम चरणमा पुर्याएको टेलिकमले अबको केही महिनामै देशका ४ शहरमा फाईभजी परीक्षण गर्ने तयारी गरेको हो । टेलिकमले काठमाडौं, पोखरा, विराटनगर र नेपालगंजमा पहिलो चरणमा फाइभजी परीक्षणका लागि तयारी गरिरहेको छ ।

टेलिकमको फोरजी एलटीई सम्झौताबमोजिम फोरजी विस्तार सम्पन्न हुनेवित्तिकै फाईभजीको परीक्षणका लागि आफुहरु तयार रहेको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ‘हामीले फोरजी एलटीई सँगसँगै फाईभजीको लागि पनि सुहाउँदो पूर्वाधार तयार गरिहेका छौं,’ उनले भने, ‘फोरजी सेवाको विस्तारलगत्तै सम्झौताबमोजिम नै फाईभजी परीक्षणका लागि उपकरण ल्याउने काम भईरहेको छ ।’

नेपाल टेलिकमको फोरजी सेवा विस्तार सम्झौतामा नै फोरजीकै पूर्वाधारले फाईभजी समेत सपोर्ट गर्न सक्ने उल्लेख थियो । हाल फोरजीसँगै फाईभजी सपोर्ट गर्ने पूर्वाधार बनिसकेको र फोरजीको काम टुङ्गिने वित्तिकै फाईभजी परीक्षण गर्ने टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

उनका अनुसार पूर्वाधार निर्माण भईसकेपनि फाईभजी परीक्षणका लागि उपकरण भने ल्याउन बाँकी छ । केही दिनमा परिक्षण उपकरण पनि आईपुग्ने उनको भनाई छ । नेपाल टेलिकमको फोरजी सम्झौतामा काठमाडौं, पोखरा, विराटनगर र नेपालगंजमा फाईभजी परीक्षण गर्ने उल्लेख छ ।

४ शहरमा फाईभजी परीक्षण गरेपछि त्यसको असर र बजार हेरेर मात्रै नेपालमा फाईभजी संचालनमा ल्याउने नल्याउने एकिन हुनेछ । हाल नेपालमा फाईभजी संचालनका लागि पूर्वाधार भएपनि फाईभजीलाई सुहाउँदो बजारको कमि छ । हाल नेपाल पाँचौ पुस्ताको फाईभजी प्रविधिमा जान सक्नेगरी तयार नभएको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

नेपाल टेलिकमले गर्न लागेको फाईभजी परीक्षण अहिले पूर्वाधारको परीक्षणका लागि गर्न लागिएको हो । नेपालमा बजार तयार भएपछि टेलिकमको पूर्वाधारमा फाईभजी चलाउन सकिन्छ कि सकिदैन भन्ने यो परीक्षणले स्पष्ट हुनेछ । जसले आगामी दिनमा फाईभजीको मार्केट तयार भएपछि फाईभजी संचालनका लागि सहजता र लागतमा समेत उल्लेख्य फाइदा हुने टेलिकमको भनाई छ ।

टेलिकमले गत बर्ष माघ २० गते फोरजी विस्तारका लागि विभिन्न २ कम्पनीसँग सम्झौता गरेको थियो । उक्त सम्झौता बमोजिम माघसम्म काम सम्पन्न गर्नेगरी देशभर फोरजी सेवा विस्तारको काम चलिरहेको छ । हाल टेलिकमले विभिन्न ६५ जिल्लाका करिव २ हजारभन्दा बढी स्थानमा फोरजी सेवा संचालनमा ल्याईसकेको टेलिकमका सहप्रवक्ता कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।

हिमाली क्षेत्रमा पानी र हिउँ परेपछि फोरजी विस्तारमा केही समस्या आएको छ । तराई र पहाडी क्षेत्रमा फोरजीको काम धमाधम भएर सम्पन्न हुनलाग्दा उच्च पहाडी र हिमाली क्षेत्रमा विस्तारमा समस्या आएको टेलिकमले जानकारी दिएको छ ।

केहो फाईभ जी ?

फाईभजी मोबाईल प्रविधिको पाँचौ पुस्ताको प्रविधि हो । मोबाईल नेटवर्क पहिलो पुस्ता ‘वान जी’ को भ्वाईस सेवादेखि चौथो पुस्ता ‘फोरजी’ सम्म आउँदा डाटा केन्द्रित संचारमा परिणत भएको छ । र पाँचौ पुस्ताको फाईभजी भने डाटा केन्द्रित र अति तीब्र ईन्टरनेट सेवा हो । यसमार्फत छिटोभन्दा छिटो कुनैपनि कन्टेन्ट अतिकम समयमा ट्रान्सफर गर्न सकिन्छ ।

यो प्रविधि ईन्टरनेटमा मात्रै नभएर विभिन्न उद्योगधन्दा, ईन्टरनेट अफ थिङ्स (आईओटी) लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधि हो । यसमार्फत तिव्र गतिमा डाटा ट्रान्सफर हुने भएपछि बजार पनि त्यही अनुसार विकसित हुनु जरुरी छ । यसको गति मात्रै १० जीबी प्रतिसेकेन्ड हुन्छ । जसले एक फोरके भिडियो १ सेकेन्डमै डाउनलोड हुन्छ ।

नेपालमा फाईभ जीको सम्भावना

नेपाल भर्खरै मात्रै थ्रिजी प्रविधिबाट फोरजी प्रविधिमा उक्लेको छ । नेपालमा हाल फोरजीकै बजार कमजोर रहेकोले अहिले नै फाईभजी सञ्चालनको सम्भावना परको कुरा भएको जानकारहरु बताउँछन् । फाईभजी संचालनका लागि बजार पनि त्यही अनुसार विकसित हुनुपर्ने टेलिकमको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी बताउँछन ।

फाइभजीले ईन्डस्ट्रियल अटोमेशन, पार्किङ, भर्चुअल रियालिटिलगायतमा विभिन्न क्षेत्रमा क्रान्ति ल्याउने प्रविधीविज्ञहरुको धारणा छ । हाल कतिपय विकाशित देशले फाईभजी प्रविधिको प्रयोग गरेर चालकरहित सवारीसाधन चलाईसकेका छन । तर नेपाल भने यी सबै कुराको लागि तयार हुन अझै केही लाग्ने विज्ञहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
MBL