काठमाडौं । सीआर सुब्रमण्यमको कथा कुनै चलचित्रभन्दा कम छैन । सुरुमा आईआईटी र आईआईएम जस्ता प्रतिष्ठित संस्थानहरूबाट अध्ययन । इन्जिनियरिङ, बैंकिङ र व्यवसाय क्षेत्रमा आफ्नो प्रतिभाबाट सबैको ध्यान खिच्न सफल । अध्ययनकै क्रममा ठूला सपनाहरू देखे र ती सपना पुरा गर्न जे गर्न सक्थे, त्यो सबै गरे । उनी सपना पुरा गर्न यति धेरै अघि सरे कि आज उनको जीवन जेलमा बितिरहेको छ । आउनुहोस्, जानौँ कसरी सुब्रमण्यम शिखरमा पुगेपछि फेरि एकाएक ढले र आज जेलमा जीवन बिताउन बाध्य भएका छन् ।
५८७ लगानीकर्ताबाट १३७ करोडभन्दा बढी संकलन
३४ वर्षअघि, १९९१ मा सुब्रमण्यमले आफ्नो पहिलो कम्पनी विश्वप्रिया फाइनान्सियल सर्भिसेज सुरु गरे । यो एक एनबीएफसी कम्पनी थियो जसले अरूको तुलनामा लगानीकर्तालाई राम्रो रिटर्न दिने दाबी गथ्र्यो । विश्वप्रियाले लगानीकर्तालाई आकर्षित गर्न विभिन्न योजनाहरू ल्यायो–जसमध्ये प्राइम इन्वेस्ट, एसेट ब्याक्ड सेक्युरिटी बन्ड, लिक्विड प्लस र सेफ्टी प्लस धेरै चर्चित योजना थिए । जानकारी अनुसार, विश्वप्रियामा ५८७ लगानीकर्ताले १३७ करोड भारतीय रुपैयाँ भन्दा बढी लगानी गरेका थिए ।
१९९७ मा सुरु गरे रिटेल चेन ‘सुभिक्षा’
यसपछि सुब्रमण्यमले १९९७ मा चेन्नईमा सुभिक्षा नामक रिटेल चेन सुरु गरे । यस कम्पनीले किराना, फलफूल, तरकारी, औषधि र मोबाइल फोनहरू बिक्री गथ्र्यो । एक मिलियन डलरबाट सुरु भएको यो कम्पनी छिट्टै भारतभर चर्चित बन्यो । सस्तो मूल्य र उच्च बिक्रीको रणनीति लिँदै बजारमा आएको यो कम्पनीले चाँडै जनताको मन जित्यो । सुभिक्षा स्टोरहरू साना सहर र गाउँसम्म पुग्न थाले, जहाँ ग्राहकलाई सस्तो मूल्यमा सामान उपलब्ध हुन्थ्यो ।
२००८ सम्म सुभिक्षाका १६०० स्टोर
१९९७ मा सुरु भएको सुभिक्षाको १९९९ सम्म चेन्नईमा १४ स्टोर खुलिसकेका थिए । सन् २००० सम्म यो संख्या ५० पुग्यो । २००६ सम्म कम्पनीले गुजरात, दिल्ली, मुम्बई, आन्ध्र प्रदेश र कर्नाटकमासमेत ४२० स्टोर खोलेको थियो । अक्टोबर २००८ सम्म सुभिक्षाले देशभरमा १६०० स्टोर खोल्यो । कम्पनी भारतको ठूला रिटेल चेनमध्ये एक बनिसकेको थियो । अजीम प्रेमजी, आईसीआईसीआई भेञ्चर्स र कोटक महिन्द्रा बैंकजस्ता ठूला लगानीकर्ताहरूले पनि सुब्रमण्यमको व्यवसायमा लगानी गरेका थिए । कुनैबेला उनको कम्पनीमार्फत वार्षिक ३५ अर्ब भारतीय (५६ अर्ब नेपाली) रुपैयाँको टर्नओभर पुगेको थियो ।
नयाँ लगानीकर्ताबाट पैसा उठाएर पुराना लगानीकर्तालाई रकम फिर्ता
सुभिक्षा सुरु गर्न सुब्रमण्यमले विश्वप्रियामार्फत लगानीकर्ताबाट पैसा उठाएका थिए । सुभिक्षा विस्तार गर्न उनले आक्रामक मार्केटिङ, प्रतिस्पर्धा र व्यक्तिगत सम्पर्कहरू प्रयोग गरे । ब्रोकर्समार्फत १५ देखि २० प्रतिशतसम्मको रिटर्नको प्रलोभन दिइयो । लगानीकर्ताबाट पैसा उठाएर उनीहरूको जानकारीबिना सुभिक्षामा लगानी गरियो । जब लगानीकर्ताले पैसा फिर्ता माग्थे, नयाँ लगानीकर्ताबाट आएको पैसा पुरानालाई तिरिन्थ्यो । धेरैलाई थाहा थिएन पैसा कहाँबाट आइरहेको छ, जसले गर्दा विश्वास बढ्दो गयो ।
लगानीकर्तासँग ठगीको आरोप
सन् २००८ सम्म सबै ठीकठाक थियो । त्यसपछि सुभिक्षा नगद संकटमा फस्यो । कर्मचारीहरूको तलब, पीएफ भुक्तानी रोकियो । सप्लायर्सलाई तिर्नुपर्ने रकम बढ्दै गयो । सुब्रमण्यमले ८० भन्दा बढी शेल कम्पनीमार्फत लगानीकर्ताको पैसा अन्यत्र डाइभर्ट गर्न थाले । उनीमाथि लगानीकर्तासँग ठगी गरेको आरोप लाग्यो र २००९ मा सुभिक्षा बन्द भयो । २०१५ मा आर्थिक अपराध शाखाले सुब्रमण्यमविरुद्ध केस दर्ता ग¥यो । छानबिनमा खुलेको तथ्यअनुसार, उनले बैंक अफ बडौदाको ७७ करोडको ऋण फिर्ता गरेका थिएनन् । २०१८ मा ईडीले उनलाई मनी लन्डरिङको आरोपमा पक्राउ ग¥यो ।
अदालतले सुनायो २० वर्षको सजाय
२० नोभेम्बर २०२३ मा चेन्नईको विशेष अदालतले सुब्रमण्यमलाई लगानीकर्तासँग ठगी गरेको दोषी ठहर गर्दै २० वर्षको सजाय सुनायो । शेल कम्पनीमार्फत लगानीकर्ताको पैसा दुरुपयोग गरिएको पुष्टि भयो । ५८७ लगानीकर्ताको १३७ करोडभन्दा बढी रकम फिर्ता गरिएको थिएन । अदालतले सुब्रमण्यमलाई ८.९२ करोड रुपैयाँ जरिवाना गर्यो । उनका कम्पनीहरूलाई १९१.९८ करोडको जरिवाना गरिएको थियो, जसमा १८० करोड लगानीकर्तालाई फिर्ता गर्न सुरक्षित राखिएको छ । अदालतले एक अधिकृत संस्थालाई लगानीकर्ताका दाबीहरूको जाँच गरेर रकम फिर्ता गर्ने जिम्मेवारी दिएको छ । अनुवाद गरिएको