Logo

विश्वको सैन्य खर्च उच्चतम स्तरमा, २४.४ खर्ब डलर पुग्यो खर्च

विश्वको सैन्य खर्च उच्चतम स्तरमा, २४.४ खर्ब डलर पुग्यो खर्च



काठमाडौं । अहिले विश्वभर सेना र हतियारमा जति खर्च भइरहेको छ, त्यति धेरै पहिले कहिल्यै भएको थिएन । सन २०२३ सेना र हतियारमा भएको खर्चले नयाँ कीर्तिमान कायम गर्यो । स्वीडेनको स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्रि) ले अहिले विश्वका विभिन्न देशले हतियार, गोलाबारुद र अन्य सैन्य उपकरणमा जति रकम खर्च गरिरहेको छ, त्यो यसअघि कहिल्यै नभएको बताएको छ ।

laxmi

सिप्रीले सोमबार जारी गरेको पछिल्लो प्रतिवेदनमा सन् २०२३ मा विश्वव्यापी सैन्य खर्चले नयाँ रेकर्ड कायम गरेको बताएको छ । यस प्रतिवेदनका अनुसार २०२३ मा सैन्य खर्च २०२२ को तुलनामा ६.८ प्रतिशतले बढेर २४.४ ट्रिलियन डलर पुगेको छ । २०२२ मा यो खर्च २२.४ ट्रिलियन डलर थियो । यो सन् २००९ यताकै सबैभन्दा ठूलो वृद्धि हो र खर्च बढेको लगातार नवौं वर्ष हो । यो वृद्धिमा सबैभन्दा बढी योगदान दिने दश देशको सैन्य खर्च निकै बढेको छ । यसका अलावा रुस–युक्रेन युद्धको पनि यो वृद्धिमा ठूलो भूमिका छ ।
‘हामीले ट्रयाक गर्ने सबै क्षेत्रहरूमा खर्च बढेको छ,“ सिप्रि अनुसन्धानकर्ता लोरेन्जो स्काराजाटोले भने, ‘यसले विश्व कम सुरक्षित महसुस गरिरहेको छ र कूटनीतिको सट्टा अन्य तरिकाहरूतिर फर्किएको छ ।’ देशहरूले तनाव र अस्थिरता महसुस गरेको र त्यसको समाधानका लागि कूटनीतिक माध्यमको सहारा लिनुको सट्टा उनीहरू कडा सुरक्षा उपायहरूमा भर परेकाले सैन्य खर्चमा लगानी बढिरहेको स्काराजाटोले बताए । उनले भने, ‘मुख्य कारक (बृद्धिको) एक रुस र युक्रेन बीच चलिरहेको युद्ध हो । हामीले युरोपमा सैन्य खर्च कसरी अचानक बढेको देख्यौं ।’

सबैभन्दा बढी सैन्य खर्च गर्ने देशहरूमा अमेरिका अझै पनि शीर्ष स्थानमा छ । सन् २०२३ मा अमेरिकाले यस वस्तुमा ९१६ अर्ब डलर खर्च गरेको थियो, जुन विश्वको कुल खर्चको ३७ प्रतिशत अर्थात एक तिहाइभन्दा बढी हो । दोस्रो स्थानमा चीन छ, जसको खर्च अमेरिकाको करिब एक तिहाइ छ । यसले २९६ अर्ब डलर खर्च गरेको छ, जुन कुल खर्चको १२ प्रतिशत हो । यो २०२२ को तुलनामा ६ प्रतिशत बढी हो । यी दुई देशले कुल खर्चको आधा हिस्सा ओगटेका छन् ।

सन २०२२ मा सबैभन्दा धेरै खर्च गर्ने पाँच देशहरू २०२३ मा पनि उस्तै छन् । रुस तेस्रो नम्बरमा छ । त्यसपछि भारत र साउदी अरेबिया आउँछन् । सन् २०२३ मा रुसको खर्च २०२२ को तुलनामा २४ प्रतिशतले बढेर १०९ अर्ब डलर पुगेको छ । सन् २०१४ मा रुसले क्रिमियालाई युक्रेनबाट अलग गरेपछि यो ५७ प्रतिशतले बढेको हो । रुसले आफ्नो जीडीपीको ५.९ प्रतिशत सेनामा खर्च गरिरहेको छ ।

सैन्य खर्चको हिसाबले चौथो ठूलो देश भारत हो जसले ८३.६ अर्ब डलर खर्च गरेको छ । यो २०२२ को तुलनामा ४.२ प्रतिशत बढी हो । युक्रेन सैन्य खर्चको हिसाबले आठौं ठूलो देश थियो । यसको खर्च ५१ प्रतिशतले बढेर ६४.८ बिलियन डलर पुगेको छ, जुन कुल ग्राहस्थ उत्पादनको ३७ प्रतिशत हो । सैन्य खर्चमा सबैभन्दा बढी वृद्धि प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको थियो, जहाँ सरकार र विद्रोहीहरूबीच युद्ध जारी छ । यसको खर्च १०५ प्रतिशतले बढेको छ ।

मध्यपूर्वमा साउदी अरेबियापछि सबैभन्दा बढी सैन्य खर्च गर्ने देश इजरायलले सन् २०२२ सम्म २४ प्रतिशत बढी खर्च गरेको छ, २७.५ बिलियन डलर । अर्कोतर्फ, इरान यस क्षेत्रमा चौथो सबैभन्दा बढी खर्च गर्ने देश बनेको छ । जसले कुल १०.३ बिलियन डलर खर्च गरेको छ । उपलब्ध तथ्यांकअनुसार सन् २०१९ मा इरानमा सैन्य खर्च २७ प्रतिशत थियो जुन अहिले बढेर ३७ प्रतिशत पुगेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL