Logo

आर्थिक नाकाबन्दीले झुक्लान पुटिन ? युक्रेन युद्ध रोक्न ट्रम्पको रुसमाथि कर बढाउने धम्की प्रभावकारी होला ?

आर्थिक नाकाबन्दीले झुक्लान पुटिन ? युक्रेन युद्ध रोक्न ट्रम्पको रुसमाथि कर बढाउने धम्की प्रभावकारी होला ?



काठमाडौं । युक्रेन युद्ध रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई धम्की दिएका छन् कि यदि ५० दिन भित्र युक्रेन युद्ध अन्त्य गर्ने सम्झौतामा पुगेन भने उसमा ठूलो कर लगाइनेछ । उनले स्पष्ट पारे कि यो करले रुससँग व्यापार गर्ने सहयोगीहरूलाई पनि समेट्नेछ । ट्रम्पले सोमबार ह्वाइट हाउसको ओभल अफिसमा नेटो महासचिव मार्क रुटसँगको भेटमा यो घोषणा गरेका हुन् ।

ह्वाइट हाउसमा मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘म धेरै कुराका लागि व्यापार प्रयोग गर्छु । तर यो युद्ध समाधान गर्न धेरै राम्रो छ ।’ पुटिनलाई चेतावनी दिँदै उनले भने, ‘म भन्न चाहन्न कि उनी हत्यारा हुन्, तर उनी एक कठोर मान्छे हुन् ।’

ट्रम्पले थप भने, यदि ५० दिन भित्र कुनै सम्झौता भएन भने, हामी धेरै कडा कर लगाउनेछौं । रूसले १०० प्रतिशत कर तिर्नु पर्नेछ । रूसका सहयोगीहरूमा पनि दोस्रो कर लगाइनेछ । ताकि उनीहरूलाई रूससँग व्यापार बन्द गर्न बाध्य पार्न सकियोस् । ट्रम्पको घोषणामाथि नेटो महासचिव मार्क रुट्टले पनि एक विज्ञप्ति जारी गरेका छन् । रुट्टले भने कि यो नयाँ व्यवस्थाले पुटिनलाई शान्ति वार्तामा पुनर्विचार गर्न बाध्य पार्न सक्छ । अहिलेसम्म अमेरिकाले विश्वका लगभग २५ देशहरूमा नयाँ कर घोषणा गरिसकेको छ । यसमा अमेरिकाका सहयोगी र शत्रु दुवै समावेश छन् ।

के पुटिन अमेरिकी दबाबसामु झुक्नेछन् ?

अमेरिकी राष्ट्रपति कार्यालयले यी देशहरूलाई भन्सार जानकारीसँग सम्बन्धित पत्रहरू पठाएको छ । यस पत्रमा उनीहरूलाई भन्सार लगाउनुको कारणबारे बताइएको छ । यी सबै भन्सार लगाउने समयसीमा अगस्ट १ तारिख तोकिएको छ । विशेष कुरा के हो भने अहिलेसम्म यी २५ देशहरूमा रूस समावेश थिएन, तर अब पहिलो पटक यसमा पनि डोरी कस्ने घोषणा गरिएको छ ।

अमेरिकी रणनीतिकारहरू यस घोषणाप्रति रूस कति झुक्नेछ भन्ने कुरामा अलमल्लमा छन् । उनीहरूलाई डर छ कि पुटिनले यो आर्थिक नाकाबन्दीप्रति मुश्किलले झुक्नेछन् । यदि यस्तो भयो भने, यो युद्ध वर्षौंसम्म जारी रहन सक्छ ।

प्रतिक्रिया दिनुहोस्