Logo

३९ बीमा कम्पनीद्धारा एक महिनामा २४ अर्ब १७ करोड बीमाशुल्क आर्जन, बीमालेख विक्री पनि बढ्यो

३९ बीमा कम्पनीद्धारा एक महिनामा २४ अर्ब १७ करोड बीमाशुल्क आर्जन, बीमालेख विक्री पनि बढ्यो



काठमाडौं । नेपालमा संचालित बीमा कम्पनीहरुले एक महिनाको अवधिमा २४ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार १९ जीवन र २० निर्जीवन गरी ३९ बीमा कम्पनीहरुले गएको असार महिनामा २४ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जेठ मसान्तसम्म सबै बीमा कम्पनीहरुले १ खर्ब ५३ अर्ब ६३ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए । तर, एक महिनाको अवधिमै उक्त अर्थात असार मसान्तसम्म बीमा शुल्क संकलन बढेर १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो ।

आर्थिक बर्षको अन्तिम महिना भएकाले धेरैजसो बीमा कम्पनीहरुले बिमितबाट यसै अवधिमा प्रिमियम उठाउने गर्दछन् । जसका कारण असार महिनामा मात्रै कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गरेको बीमा समितिका एक अधिकारीले बताए ।

असार महिनामा निर्जीबन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्दा जीबन बीमा कम्पनीहरुले १९ अर्ब १६ करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यसअनुसार निर्जीबन बीमा कम्पनीहरुले असार मसान्तसम्म ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ शुल्क आर्जन गर्दा जीबन बीमा कम्पनीहरुले यस अवधिसम्म १ खर्ब ३८ करोड ६४ लाख रुपैयाँ आर्जन गरेका हुन् ।

यस्तै असार महिनामा मात्रै जीबन र निर्जीवन बीमा कम्पनीहरुले क्रमशः ४ लाख ६७ हजार र ४ लाख ३९ हजार ओटा बीमालेख विक्री गरेका छन् । तर, असार मसान्तसम्म दुबै प्रकारका कम्पनीहरुले क्रमशः १ करोड ३० लाख ९९ हजार र २७ लाख ८८ हजार बीमालेख विक्री गरेका छन् ।

एक बर्षमा ५२ प्रतिशतको वृद्धि

बीमा समितिका अनुसार जीवन बीमा कम्पनीहरुले एक बर्षको अवधिमा बीमालेख विक्री ५२ प्रतिशतले बढाएका छन् । बीमाप्रतिका बढ्दो मोहका कारण एक बर्षको अवधिमै जीबन बीमा कम्पनीहरुले १ करोड ३० लाख ९९ हजार ६ सय ३२ बीमालेख विक्री गरेका छन् । यो अघिल्लो आर्थिक बर्षको यहि अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक बर्ष यहि अवधिसम्म सबै जीबन बीमा कम्पनीहरुले ८६ लाख १२ हजार ८ सय ८५ ओटा बीमालेख मात्रै विक्री गरेका थिए । यस्तै यस अवधिमा निर्जीबन बीमा कम्पनीहरुले भने जम्मा २ प्रतिशतले बीमालेख विक्री बढाएको बीमा समितिले जानकारी दिएको छ । समितिको तथ्यांक अनुसार गत आर्थिक बर्षभरी २७ लाख ८८ हजार बीमालेख जारी गरेका छन् । अघिल्लो आर्थिक बर्ष यस्तो संख्या २७ लाख ३१ हजार ७ सय ७३ थियो ।

बीमाशुल्क संकलनलाई हेर्दा एक बर्षको अवधिमा जीबन बीमा कम्पनीहरुले आफ्नो संकलन १४ प्रतिशतले बढाउँदा निर्जीबन बीमा कम्पनीहरुले भने २३ प्रतिशतले बढाएका छन् । गत आर्थिक बर्षको असार मसान्तसम्म ४१ प्रतिशत नेपालीसम्म बीमाको दायरा पुगेको बीमा समितिले जानकारी दिएको छ । अघिल्लो आर्थिक बर्षको असार मसान्तसम्म बीमाको दायरामा पुगेको नेपालीको संख्या २७ प्रतिशत मात्रै थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL