Logo

आयात नियन्त्रणका लागि प्लास्टिकका फूलगुच्छाको विक्री वितरणमा पूर्ण प्रतिवन्ध, स्वदेशी उत्पादकमा थपियो चिन्ता

आयात नियन्त्रणका लागि प्लास्टिकका फूलगुच्छाको विक्री वितरणमा पूर्ण प्रतिवन्ध, स्वदेशी उत्पादकमा थपियो चिन्ता



काठमाडौं । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालभर प्लास्टिकका फूजगुच्छाको आयात, उत्पादन र विक्रीवितरणमै रोक लगायो । यो निर्णय केहिदिन अघि नै भएपनि मन्त्रालयले हिजो राजपत्रमा सूचना प्रकाशित गरेसँगै यो लागु भईसकेको छ । तर, मन्त्रालयले हिजोमात्रै सूचना प्रकाशित गरेकाले त्यसको प्रभावकारी कार्यान्यनमा भने केहि समय लाग्ने जानकारी दिएको छ ।

laxmi

मन्त्रालयका सहसचिव तथा प्रवक्ता मेघनाथ काफ्लेका अनुसार बजारमा गईसकेका वस्तुको विक्री गर्न पाईएपनि आयात र उत्पादनमा भने प्रतिवन्ध लागु भईसकेको छ ।

वातावरणमै असर पुग्ने भएकाले पनि यस्तो वस्तुको उत्पादन, विक्रीवितरण र आयातमा प्रतिवन्ध लगाउनु परेको उनले बताए । यता प्लास्टिकजन्य वस्तुको उत्पादन र विक्री वितरण गरिरहेका उद्योगीहरु भने सरकारको यो निर्णयले अप्ठ्यारोमा पारेको बताउँछन् ।

सरकारले धेरै पहिलेदेखि नै प्लास्टिकजन्य वस्तु, ४० माईक्रोनभन्दा पातलो प्लास्टिकको झोला पनि प्रयोग, विक्री वितरण, आयात र उत्पादनसमेत गर्न नपाईने व्यवस्था गरेपनि त्यसको सफल कार्यान्वयन भएको थिएन । सरकारले प्लास्टिकका झोला उत्पादन गरिरहेका उत्पादककर्ताहरुसँगको समन्वयमा उनिहरुलाई केहि छुट दिनेगरी उक्त नीति ल्याएपनि त्यसको सफल कार्यान्वयन भएको थिएन ।

सोही अनुसार सरकारले यसपल्ट प्लास्टिकका फूलगच्छा आयात र विक्री वितरणमा रोक लगाएको निर्णय गरेपछि व्यवसायी र उत्पादकहरु मर्कामा परेको नेपाल प्लास्टिक उत्पादक संघका अध्यक्ष सरद शर्मा बताउँछन् । उनका अनुसार वातावरणमा प्लास्टिकले मात्रै असर नपारेपनि सरकारले भने प्लास्टिक उद्योगीलाई नै मर्का पर्नेगरी निर्णय गरिदिने गरेको छ । ‘यस्तो निर्णय गर्दा प्लास्टिक उद्योगी र आयातकर्ताहरुलाई विकल्पका उपाय दिएर गर्नुपर्ने थियो,’ उनले भने, ‘सिधै निर्णय गरिदिँदा हाम्रा उद्योगहरु बन्द गर्नुपर्ने अवस्था आएको छ ।’

सरकारले प्लास्टिक उद्योगीहरुलाई ४० माईक्रोनभन्दा पातलो झोला बनाउने मेशिन प्रतिश्थापनका लागि अर्काे मेशिनमा कर छुट दिनेलगायतका निर्णय पनि गरिसकेको छ । त्यसको कार्यान्वयनको कमी का कारण न उद्योगीले कम मूल्यमा मेशिन पाए न प्लास्टिक झोलाको प्रयोगमा कमी आयो । तर, नेपालले वैध आयात प्रतिवन्ध लगाएपनि अवैदे आयात हुने यस्तो वस्तुहरुको विक्री वितरणमा भने रोक लगाउनुपर्ने स्वदेशी उत्पादनकर्ताहरुको माग छ । संघका अध्यक्ष शर्माका अनुसार नेपाल र भारतबीच खुल्ला सिमाना भएकै कारण अवैध बाटोबाट पनि यस्ता सामग्री आउने गरेका छन् । यी सामग्रीमा समेत प्रतिवन्ध लगाएमात्रै वन तथा वातावरण मन्त्रालयको उक्त निर्णय प्रभावकारी रुपमा कार्यान्वयन हुनेछ ।

यता मन्त्रालयले भने मर्का परेका उद्योगी व्यवसायीहरुले सिधै मन्त्रालयमा सम्पर्क गर्न सक्ने बताएको छ । मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेका अनुसार खासगरी पछिल्लो समयको निर्णय आयातमा प्रतिवन्ध लगाउने गरी गरिएको हो । नेपालमै उत्पादन भएका र बजारमा गईसकेका प्लास्टिकका सजावटका सामग्रीहरु स्टक नसकिँदासम्म विक्रीवितरणमा पुर्ण रुपमा रोक भने नलाग्ने उनले संकेत दिएका छन् ।

विभिन्न चाडपर्वहरु नजिकिँदै गर्दा उच्च रुपमा आयात हुने प्लास्टिकको फूलगुच्छाका कारण एकातिर वातावरण विग्रदै गएको छ भने एकातर्फ नेपालमा उत्पादन हुने फूलले राम्रो बजार पाउन सकेको छैन । यस्तै यस्ता वस्तु धेरै आयात हुँदा नेपालको वैदेशिक मुद्रा संचितिमा समेत दबाव परेको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको उनको भनाई छ । नेपालमा भारतलगायत देशहरुबाट बर्षेनी करोडौं मूल्य बराबरको प्लास्टिकका सजावटका सामग्री र फूलगुच्छा आयात हुने गरेको छ । यस्तो सामग्रीहरु खासगरी दशैं, तिहार र छठ पर्वका बेला आयात हुने गरेको छ ।

‘चाडपर्वहरु नजिकिँदै छन् सोही मौकामा विदेशबाट यस्ता वस्तुहरु अत्याधिक आउने र नेपालको डलर संचितिमै असर पार्ने गरेका छन्,’ उनले भने, ‘सोही कुरालाई ध्यान दिँदै हामीले यो पल्ट प्लास्टिकजन्य सजावटका सामग्री आयातमा कमी ल्याउने निर्णय गरेका हौं ।’

यता प्लास्टिक उद्योगीहरुले पनि वैदेशिक मुद्रा संचिति बचाउनलाई गरिएको निर्णय भने स्वागतयोग्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL