Logo

साईकलमा व्यापार, अर्बौंको कमाई : नेपालीको अर्बौं पैसा उठाएर भाग्ने हरियाणाका अग्रवालको नालीबेली

साईकलमा व्यापार, अर्बौंको कमाई : नेपालीको अर्बौं पैसा उठाएर भाग्ने हरियाणाका अग्रवालको नालीबेली



काठमाडौं । सामान्य व्यापारको लागि भारतबाट नेपाल प्रवेश गरेका ओमप्रकाश अग्रवालका दुई भाई छोराले नेपाली बैंक वित्तीय संस्था र व्यक्तिको गरी डेढ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएर पलायन भएका छन् ।

भारतबाट सन् १९८५ मा नेपाल आएका ओमप्रकाश अग्रवालले सुरु गरेको मदिरा व्यापारको कथा अहिलेलाई नेपालीको पैसा लिएर भाग्नेमा टुङ्गिएको छ । तर यो कथाको नालीबेली केही लामो छ ।

३५ बर्षअघि भारतको हरियाणाबाट नेपाल प्रवेश गरेका ओमप्रकाशले सुरुमा साइकलबाट नेपालमा मदिरा व्यवसाय सुरु गरेका थिए । साइकल लिएरै उनी होटल र नेपालका उच्च घरानिया परिवारमा ड्युटी फ्रीको मदिरा बेच्थे । उनको यो व्यापार बिस्तारै यति विशाल बन्दै गयो कि, कालान्तरमा मदिरा व्यापारमा उनको साम्राज्य नै बन्यो । त्यही साम्राज्य सम्हाल्थे उनका दुई छोरा, अमित अग्रवाल र अभिषेक अग्रवाल ।

साईकलबाट सुरु बुवाको व्यापारलाई उनका दुई छोराले कान्तिपथ, दरबारमार्गदेखि काठमाडौंका खासखास ठाउँ र पोखरामा स्टोर खोल्दै मदिरा व्यवसाय विस्तार गरे । अग्रवाल दाजुभाइले नेपालका तारे होटल, क्यासिनोदेखि ठूला घरानियाको भोजभतेरमा आफ्नै स्टोरबाट मदिरा आपूर्तिमा एकछत्र बनाएका थिए ।

जनकपुरलाई आफ्नो स्थायी बसोबास बनाएका ओमप्रकाशले नेपालमै विवाह गरेका थिए, नागरिकता पनि नेपालकै लिएका थिए । दुई छोराहरु अमित र अभिषेकले पनि धनुषाबाटै नागरिकता बनाएका थिए । उनीहरुसँग नेपाल र भारत दुबैतर्फको नागरिकता रहेको उनीहरु निकट स्रोत बताउछ ।

मदिरा व्यापारलाई प्रमुख व्यवसाय बनाएका अग्रवाल दाजुभाईले नेपालमा अमिअभि ट्रेडिङ, अलायन्स डिस्ट्रिब्युटर्स, ग्रीनलाइन, ग्रीनलाईन टुलगायतका कम्पनी खोलेका थिए । नेपालमा महंगा वाइन आयात गर्ने र महंगा ह्वीस्की बिक्री गर्नेमा उनीहरुको कम्पनी पहिलो नम्बरमा पर्छ । जोनी वाकरका मदिरा बिक्री गर्नेमा उनीहरुको कम्पनीनै अग्रस्थानमा छ ।

व्यवसायमा पाएको सफलता उनीहरुका लागि सानो बन्दै गयो । अनि व्यापारबाट उनीहरुले सागर डिष्ट्रीलरी समेत स्थापना गरे । दाई अमित अग्रवालको उच्च महत्वाकांक्षाका कारण दुवैजना समस्यामा परेको स्रोतको दाबी छ ।

कोरोनाले कहर

नेपालमा मदिरा व्यापारको साम्राज्य बनाएका अमित र अभिषेकलाई विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले ठूलो समस्या निम्त्यायो । नेपालका ठूला तारे होटलदेखि क्यासिनोमा महंगा मदिराको एकछत्र व्यापार गर्दै आएका अग्रवाल दाजुभाईलाई कोरोना भाईरसको संक्रमणसँगै संकट आईपर्यो । उनीहरुले तारे होटल र क्यासिनोमा करोडौको मदिरा उधारो दिँदै आएका थिए । तर कोरोनाका कारण होटल र क्यासिनो बन्द हुँदा उनीहरुले दिएको उधारो समेत डुब्न पुग्यो । अग्रवालहरुको होटल, क्यासिनो र अन्य होलसेलबाट गरी अधारो उठाउनुपर्ने मात्र २० करोड रुपैयाँभन्दा माथि छ । त्यतिवेला आयात गरेर स्टकमा राखेका करोडौको मदिरा पनि डेट एक्स्पाएर हुन पुग्यो ।

तर कोरोनाले नै फलिफाप

कोरोनाका कारण समस्यामा परेका दाजुभाई द्वय अमित र अभिषेक अग्रवाल कोरोनाकै कारण बैंक, सहकारी र मिटरब्याजीको अर्बौं रकम उठाएर भाग्न सफल भएका छन् । उनीहरुले आफ्नो व्यवसायको संजाल र आकार देखाउँदै बैंकबाट धितोको आधारमा भन्दा पनि व्यवसायका आधारमा कर्जा लिन सफल भए । उनीहरुको धेरैजसो कर्जा प्लेज लोन अर्थात हाईपोथेटिकल रहेको सम्बद्ध बैंक स्रोतले जानकारी दिएको छ । साथै कोरोनाको समयमा बैंकमा तरलता फालाफाल हुँदा उनीहरुले सहजै बैंकबाट करोडौं रुपैयाँ कर्जा लिन सफल भए । सहकारीबाट पनि । उनीहरुले कर्जा लिनकै लागि फरक फरक कम्पनी खडा गरेर बैंकबाट ठूलो मात्रामा कर्जा लिएको बुझिन आएको छ ।

स्रोतका अनुसार अग्रवाल दाजुभाईलाई सबैभन्दा धेरै इन्भेष्टमेन्ट बैंकले सकर्जा दिएको छ । त्यसपछी मेगा बैंकले पनि २५ करोड रुपैयाँको हाराहारीमा कर्जा दिएको छ । यस्तै एभरेष्ट बैंकले २२ करोड रुपैयाँ लगानी गरेको बुझिएको छ । ग्लोबल आईएमई बैंक र नेपाल बंगलादेश बैंकले पनि अग्रवाल दाजुभाईको कम्पनीलाई करोडौ रुपैयाँ कर्जा दिएको स्रोतले जनाएको छ ।

पछिल्लो समय नेपाल बैंकका कर्मचारी समेत अग्रवालले आफ्नो बैंकबाट कर्जा लिएको भन्दै बुझ्न आएका ग्रीनलाईन स्टोर्समा खटिएका सुरक्षाकर्मीले बताए । ‘अहिले दिनदिनै बैंक र सहकारीका कर्मचारी यहाँ बुझ्न आइरहन्छन’ उनले भने । अग्रवाल दाजुभाईले सबै वाणिज्य बैंकहरुबाट १ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका छन ।

कोरोना कारण बजारबाट आफ्नो उधारो उठ्ने सम्भावना कम भएसँगै बैंक र सहकारीमा पर्याप्त तरलता रहेको बुझेका उनीहरुले ठूलो मात्रा कर्जा उठाएका हुन् । कतिपय सहकारीबाट त व्यवसाय देखाउँदै विना धितोसमेत ठूलो रकम ऋण लिएको स्रोतले जानकारी दियो ।
ठूलो रकम कर्जा लिएर भाग्ने योजना नै बनाएका दाजुभाइले त्यसै अनुसार मिटरब्याजमासमेत ५० करोड रुपैयाँभन्दा बढी रकम उठाएको बुझिन आएको छ । यसैगरी उनीहरुले बैंकमा राखेको जग्गा समेत आफुले फुकुवा गरेर सस्तोमा बिक्री गर्ने भन्दै एउटै जग्गाको लालपुर्जाको फोटोकपी देखाएर ३/४ जनाभन्दा बढीसँग बैना गरेको खुल्न आएको छ । उनीहरु भागेको समाचार आएसँगै त्यस्ता व्यक्तिहरु समेत सम्पर्कमा आउन थालेका छन् ।

अग्रवाल दाजुभाई नेपालबाट भाग्नुभन्दा करिव १ बर्षअघिदेखि नै भारतमा बसोबास गर्दै आएका थिए । नेपालको मदिरा पसल कर्मचारीको जिम्मामा लगाएर उनीहरु भने भारतमा बस्दै आएका थिए । तर उनीहरुले योजना अनुरुप नै बैंक, सहकारी र मिटरब्याजीसँग ठूलो रकम उठाएर अहिले नेपालबाट भागेको हुनसक्ने स्रोतको दावी रहेको छ । अहिले अभिषेक अग्रवाल परिवार सहित भारत पलायन भएको र अमित अग्रवाल भने संयुक्त अरव इमिरेट्स (युएई) भागेको हुनसक्ने सम्बद्ध जानकारहरु बताउँछन् । अहिले अग्रवाल दाजुभाईसँगै उनको परिवारनै सम्पर्क बिहीन अवस्थामा छन् ।

अग्रवाल दाजुभाई भागेको जानकारीसङ्गै इन्भेष्टमेन्ट बैंकले गत हप्ता बुधाबार नै कान्तिथप, दरबारमार्ग लगायतका मदिरा पसल सिल गरेको थियो भने त्यसलगत्तै एभरेष्ट बैंकले पनि सुचना टासगर्दै थप ताल्चा मारेको थियो । उनीहरु भागेसँगै दौडधुपमा रहेका बैंकका सीईओदेखि अन्य कर्मचारीहरुले आआफ्नो दाबीसहित मुचुल्का उठाउन थालेका छन् ।

र यो पनि…

डेढ अर्ब उठाएर भागे मदिरा आयातकर्ता ग्रीनलाईनका संचालक अभिषेक र अमित अग्रवाल : समस्यामा बैंक, सहकारी र मिटरब्याजी

प्रतिक्रिया दिनुहोस्
MBL