Logo

निजी क्षेत्रलाई अर्थमन्त्रीको प्रश्न–तपाईहरुले खुलाबजार अर्थतन्त्र चाहेको कि सरकारको नियमन ?

निजी क्षेत्रलाई अर्थमन्त्रीको प्रश्न–तपाईहरुले खुलाबजार अर्थतन्त्र चाहेको कि सरकारको नियमन ?



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रले खुला बजार अर्थतन्त्र चाहेको वा सरकारको नियमन चाहेको सो विषयमा स्पष्ट हुन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित नव उत्थान सम्मेलनको उद्घाटन समारोहमा बोल्दै निजी क्षेत्रको द्वैध चरित्र भएको भन्दै सो विषयमा स्पष्ट हुन आग्रह गरेका हुन् ।

‘बैंकको ब्याज बढ्दा निजी क्षेत्रले सरकार र नियमनकारी निकायले त्यसलाई रोक्न हस्तक्षप गरिदिनुपर्यो भन्दै आउनुहुन्छ अनि अर्कोतर्फ खुलाबजार अर्थतन्त्रको पनि वकालत गर्नुहुन्छ,’ अर्थमन्त्री शर्माले भने, ‘तपाईहरुलाई के चाहिएको हो त्यस विषयमा स्पष्ट धारणा बनाएर हामीलाई सुझाव दिनुहोस सरकार सोही अनुरुप अघि बढ्नेछ ।’

यसैगरी अबका दिनमा बैंक तथा वित्तीय संस्थाले पनि निक्षेप संकलन र कर्जा प्रबाह मात्र भन्दा पनि वित्तीय स्थिरता ल्याउने गरी काम गर्नुपर्ने बताए । ‘हामीले के गर्दा पटक पटक तरलता अभावको समस्या भोग्नु पर्दैन त्यो विषयमा स्पष्ट धारणा आउनुपर्यो,’ उनले भने, ‘के गर्दा हामीलाई सहज हुन्छ सरकारले सोही अनुरुप नीति निर्माण गर्ने छ ।’

नेपालको मौजुदा नीति नियमकै कारण लगानी भित्र्याउन अप्ठ्यारो परेको भन्दै यसलाई समेत समयसापेक्ष परिमार्जनका लागि अघि बढाइएको बताए । साथै अबका दिनमा आवश्यकता र प्रतिस्पर्धी क्षमताका क्षेत्रहरु पहिचान गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबै एक भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सहज नीति नियम बनाईदिने हो भने छोटो समयमै आन्तरिक र बाह्य लगानी ठूलो मात्रामा आउने बताए । ‘सरकारले निजी क्षेत्रको लगानीलाई पनि आफ्नै लगानी सम्झेर हेरिदिनुपर्छ,’ उनले भने, ‘यदि त्यसो गरिएका सबै लगानीकर्ताहरु लगानी बढाउन तयार छन् ।’ साथै सरकारी खर्च नभएकै कारण बजारमा तरलता अभाव भएको भन्दै त्यसतर्फ समेत सरकार गम्भिर हुनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL