Logo

भारतीय जनतालाई अर्को हप्तादेखि कोरोनाको खोप, नेपाल भने कहिलेसम्म खोप पाइन्छ भन्ने अन्यौलमै !

भारतीय जनतालाई अर्को हप्तादेखि कोरोनाको खोप, नेपाल भने कहिलेसम्म खोप पाइन्छ भन्ने अन्यौलमै !



काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) बाट विश्वमै सबैभन्दा बढी प्रभावित राष्ट्र सूचीमा अग्रस्थानमा रहेको भारतले आगामी माघ ३ गतेदेखि कोरोनाको खोप अभियान शुरु गर्ने भएको छ । कोरोनाको खोप लगाउने अभियान शुरु गर्न बसेको प्रधानमन्त्री नरेन्द्र मोदीसहितको शनिबारको बैठकपछि सो निर्णय लिइएको हो ।

भारतले यस अघि भारतमै बनाइएका दुई भ्याक्सिन कोभ्याक्सिन र कोभीशिल्डलाई प्रयोगको अनुमति दिइसकेको छ । खोप अभियानको पहिलो चरणमा लगभग ३ करोडलाई दिइने बताइएको छ ।

जसमा स्वास्थ्य कार्यकर्ता, अग्रपंक्तिमा खटिएका कर्मचारीहरुलाई प्राथमिकता दिइने भएको छ । यस पछि ५० बर्षभन्दा बढी उमेरका र गम्भीररुपले विरामी रहेकालाई खोप दिइने बताइएको छ । उनीहरुको संख्या करिब २७ करोड भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माघ ३ गते (जनवरी १६) को दिन कोरोनाविरुद्धको लडाईमा महत्वपूर्ण दिन हुने बताएका छन् । मोदीले यस अभियानमा बहादुर डाक्टर, हेल्थकेयर वर्कर्स, सफाई कर्मचारसहित फ्रन्टलाइन कर्मचारीलाई पहिलो प्राथमिकता दिइने बताएका छन् ।

नेपालमा कहिलेसम्म कोरोनाको खोप उपलब्ध हुन्छ भन्ने निश्चित देखिदैन् । सरकार अहिलेसम्म विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभ्याक्समार्फत उपलब्ध गराउने भनिएको खोपको पर्खाइमा छ । कोभिड–१९ खोपमा सबै मुलुकको समतामूलक पहुँचका लागि विश्वव्यापी पहल कोभ्याक्सअन्तर्गत नेपालले सहुलियतमा पाउने भनेको खोप केवल २० प्रतिशत व्यक्तिलाई पुग्नेछ ।

सहुलियतको यो खोप पनि पहिलो चरणमा ३ प्रतिशत अर्थात् ९ लाख मानिसलाई पुग्ने गरी आगामी मार्चसम्म र बाँकी १७ प्रतिशत त्यसपछि सन् २०२१ भित्र आउने अनुमान छ । यो अनुमानअनुसार मुलुकमा पहिलो खोप आउन आगामी चैत–वैशाखसम्म कुर्नुपर्ने छ ।

नेपालमादुई तिहाइभन्दा बढी नागरिकलाई खोप आवश्यक पर्न सक्ने आँकलन छ । सहुलियतको खोप भने करिब ६० लाखका लागि मात्रै पुग्ने र, यो खोप कोभ्याक्सले स्वास्थ्यकर्मी र उच्च जोखिममा रहेका मानिसलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने भनेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनेसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले बताए । उनले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताए। शुरूमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने उनले बताए ।

कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । गरीब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ ।     

डा शर्मा गौतमका अनुसार फाइजर एण्ड वायोएनटेक कम्पनी (रसिया), मोडेर्ना (अमेरिका०, ग्यामेलिया (रसिया) र अक्सफोर्ड एक्ट्राजेनिका (बेलायत) कम्पनीका खोप अहिले परीक्षणका क्रममा रहेकाले तिनीहरूमध्ये एउटा कम्पनीको खोप स्वदेशमा ल्याइनेछ । खोप उत्पादन गर्ने मुलुकमा दर्ता भइसकेपछि डब्लुएचओमा दर्ता र त्यसपछि नेपालको औषधि व्यवस्था विभागमा खोप दर्ता हुनेछ ।     

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा खोप सचिवालय, तथा मन्त्रालयको प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा खोप कोष सचिवालय गठन गरेको छ।     

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले खोप ल्याउने तयारीका साथ काम गरिरहेको बताउँछन् । उनका अनुसार खोपका लागि आवश्यक रकम, खोप ल्याइसकेपछि भण्डारण, खोप शुरूमा कसकसलाई दिने, खोप कसरी दिने भन्ने स्वास्थ्यकर्मीलाई तालिम जस्ता काम भइरहेको छन् ।     


भारतले यसअघि भारतमै बनाइएका दुई भ्याक्सिन कोभ्याक्सिन र कोभिशिल्डलाई प्रयोगको अनुमति दिएसँगै सरकार भारतले नेपाललाई खोप छिटो देला कि भन्ने आशामा रहेको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

मन्त्रालयका अधिकारीहरु सरकारले विभिन्न देशहरुसँग खोप ल्याउन छलफल र पहल गरिरहेको भएपनि नेपालमा खोप यो समयसम्म आइपुग्छ र जनताले यो मितिदेखि खोप पाउँछन् भन्ने विषय अन्यौलमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL