Logo

निजी अस्पतालको बदमासी : एउटै व्यक्तिको विदेश जानलाई कोरोना नेगेटिभ, बीमा दावी गर्न पोजेटिभ रिपोर्ट, प्रति रिपोर्ट २५ हजार

निजी अस्पतालको बदमासी : एउटै व्यक्तिको विदेश जानलाई कोरोना नेगेटिभ, बीमा दावी गर्न पोजेटिभ रिपोर्ट, प्रति रिपोर्ट २५ हजार



काठमाडौं । कोरोनाभाईरस परीक्षणमा निजी अस्पतालले चरम लापरबाही गरेको पाइएको छ । कोरोना परीक्षणका लागि स्वीकृति पाएका निजी अस्पताल तथा ल्याबहरुले कतिपयको कोरोना परीक्षण नै नगरी रिपोर्ट दिँदै आएका छन् भने कतिपयले बढी रकम लिएर कोरोना परीक्षण गराउने व्यक्तिको स्वार्थअनुरुप रिपोर्ट दिँदै आएका छन् ।

laxmi

सुरुवाती चरणमा सरकारी अस्पतालले मात्रै कोरोनाको पीसीआर परीक्षण गराउँदै आएकोमा निजीक्षेत्रकै माग अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा ल्याबलाई पनि पीसीआर परीक्षणका लागि अनुमति दिएको थियो । तर, त्यसरी स्वीकृति पाएका धेरैजसो अस्पतालहरुले परीक्षण नै नगरी व्यक्तिको अनुहार हेरेर रिपोर्ट दिँदै आएका छन् भने कतिपयले पैसा कमाउने नाममा व्यक्तिको स्वार्थ अनुरुप रिपोर्ट दिँदै आएका छन् ।

कोरोना परीक्षण गराउने व्यक्तिको स्वार्थ अनुरुप रिपोर्ट दिने निजी अस्पतालहरुले कोरोना परीक्षण नै नगरी प्रति रिपोर्ट १० हजारदेखि २५ हजार रुपैयाँसम्म लिएर रिपोर्ट दिने गरेका छन् । पछिल्लो समय कोरोना पोजेटिभ भएका व्यक्तिहरुको पनि विदेश जानका निमित्त बढी रकम लिएर निजी अस्पतालहरुले कोरोना नेगेटिभ भएको प्रमाणपत्र दिने गरेका हुन् । ‘मलाई कुनै लक्षण थिएन तर, कोरोना पोजेटिभ भएको थियो बढी पैसा दिएपछि निजी मेडिकलले नेगेटिभ भएका प्रमाणपत्र बनाईदिए,’ भिजिट भिसामार्फत रोजगारीका लागि संयुक्त अरव इमिरेट्स पुगेका लखन चौधरी (नाम परिवर्तन)ले भने, ‘युएईको कम्पनीमा पुग्ने वित्तिकै परीक्षण गराउँदा पुनः पोजेटिभ भएको रिपार्ट आयो त्यसैले अहिले क्वारेन्टिनमा छु ।’

पछिल्लो समय एयरलाईन्स र अस्पतालबीचकबो मिलेमत्तोमा कार्टेलिङ नै गराएर विदेश जाने यात्रुहरुको कोरोना परीक्षण गर्न थालिएको छ । धेरैजसोले ह्याम्स अस्पताल र स्टार अस्पतालबीच सम्झौता गरेर कोरोना परीक्षण गराउँदै आएका छन् भने कतिपय एयरलाईन्सले यात्रुले गराएको कोरोना परीक्षण गराएको रिपोर्टलाई नै मान्दै आएका छन् । यसरी विदेश जाने यात्रु तथा कामदारले निजी अस्पतालबाट कोरोना परीक्षणको रिपार्ट बनाउँदा पोजेटिभ भएका यात्रुहरुको बढी पैसा लिएर नेगेटिभ रिपोर्ट दिँदै आएका छन् ।

साथै पछिल्लो समय निजी अस्पतालहरुले बीमा दावीका लागि भने कोरोना नै नलागेका व्यक्तिहरुलाई समेत बढी रकम लिएर कोराना पोजेटिभ भएको रिपोर्ट दिँदै आएका छन् । त्यसरी रिपोर्ट दिने निजी अस्पतालहरुले प्रतिव्यक्ति २५ हजार रुपैयाँ लिँदै आएका छन् । ‘मैले बीमा कम्पनीमार्फत १ लाख रुपैयाँको कोरोना बीमा गराएको थिए, मलाई कोरोना संक्रमण भएको थिएन तर पोजेििटभ भएको रिपोर्ट बनाउँदा बीमा कम्पनीले १ लाख रुपैयाँ दिन्छन् भने तसर्थ एउटा साथी र निजी मेडिकलको सुझावको आधारमा पोजेटिभ भएको रिपोर्ट बनाएर बीमा दावी गरे,’ कृष्ण श्रेष्ठ (नाम परिवर्तन)ले भने, ‘यसरी रिपोर्ट बनाउँदा निजी मेडिकलले २५ हजार रुपैयाँ लिँदा रहेछन् दावी भुक्तानी लिँदा आफुलाई ७५ हजार रुपैयाँ फाइदा हुँदो रहेछ ।’

आईतबार मात्रै स्वास्थ्य मन्त्रालयले नियमित प्रेश ब्रिफिङमार्फत कोरोनाको पीसीआर परीक्षण तत्कालका लागि रोक लगाएको थियो । पछिल्लो समय निजी अस्पतालले विदेश यात्रा तथा बीमा दावीका लागि बढी रकम लिएर सम्बन्धित व्यक्तिको स्वार्थअनुरुप रिपोर्ट बनाएको सुचनाको आधारमा तत्कालका लागि रोक लगाईएको जानकारी दिएको छ ।

साथै यसअघि पनि फर्जी रिपोर्टको आधारमा बीमा दावी भुक्तानी बढी आएको भन्दै बीमा समितिले टेकू अस्पताल बाहेक अन्य अस्पताल तथा ल्यावबाट कोरोना परीक्षण गरी ल्याएको रिपोर्टको कोरोना भएको हो वा होइन सोको प्रमाणिकरणका लागि पठाउँदै आएको छ । त्यसरी प्रमाणिकरणका लागि पठाइएपनि पैसा लिएर रिपोर्ट बनाएका निजी अस्पतालले सम्बन्धित व्यक्तिलाई कोरोना नै सक्रमण भएको थियो भनेर पुनः प्रमाणिकरण गर्नसक्ने सम्भावना उक्त रहेको रहेकोसमेत सम्बद्ध जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL