Logo

व्यवसायीको गुनासो-चीनको अघोषित नाकाबन्दीले अर्बौको सामान थन्कियो, सरकारले पहल नगर्दा पलायन हुँदै व्यवसायी

व्यवसायीको गुनासो-चीनको अघोषित नाकाबन्दीले अर्बौको सामान थन्कियो, सरकारले पहल नगर्दा पलायन हुँदै व्यवसायी



काठमाडौं । चीन सरकारले अघोषित रुपमा नाकाबन्दी लगाएर समस्या सिर्जना गरेको भन्दै नेपाली व्यवसायीहरुले आक्रोश व्यक्त गरेको छ । पछिल्लो समय चीनले विभिन्न बहानामा नेपाल सामान पठाउन रोक लगाएर अघोषित रुपमा नाकाबन्दी नै गरेको नेपाल चेम्बर अफ कमर्शका ब्राण्डिङ विभाग प्रमुख सन्तोष पाण्डेले बताए । ‘पछिल्लो समय चीनले विभिन्न बाहानामा नेपाली व्यवसायीलाई दुःख दिँदै आएको छ,’ आरबी कम्प्लेक्स व्यवसायी संघको २१ औं साधारणसभामा बोल्दै उनले भने, ‘जसका कारण नेपाली व्यवसायीहरुको सामान अर्डरका लागि पठाएको अरबौं रकम फ्रिज भएर बस्दा व्यवसाय नै धराशायी हुने अवस्थामा पुगेको छ ।’

laxmi

नेपाली व्यवसायीले गर्मी सिजनका लागि अर्डर गरेको कपडा तथा सामानहरु जाडो सिजन सुरु हुन लाग्दा पनि नेपाल भित्रन नसकेकी त्यतिकै थन्किएर बसेको उनको भनाई थियो । ‘अहिले नेपाली व्यवसायीले अर्डर गरेका कतिपय सामान ड्यामेज नै हुने अवस्थामा पुगिसकेको छ भने चिनियाँ पक्षले विभिन्न अबरोध सिर्जना गर्दा हामी व्यवसायीको करोडौंको स्याउ सिमानाकामै कुहिएर बसेको छ,’ उनले भने, ‘यस विषयमा हामीले नेपाल स्थित चिनियाँ दूतावासलाई पनि जानकारी गराएका छौं भने सहजीकरणका लागि नेपाल सरकारलाई समेत पटक पटक आग्रह गरेका छौं ।’ तर यस विषयमा सरकारले कुनै चासो नदेखाउँदा व्यवसायी नै पलायन हुने अवस्थामा पुगेको समेत उनले जानकारी दिए ।

यसैगरी पछिल्लो समय चेक वाउन्सका घटना बढ्दै गएको भन्दै चेक दिएर बैंक खातामा पैसा नराख्ने व्यवसायीलाई कालो सूचीमा राख्नुपर्ने पाण्डेको भनाई थियो । ‘अहिले व्यवसायीको मुख्य समस्या नै चेक बाउन्सको घटना बढ्नु हो,’ उनले भने, ‘व्यवसायीलाई सामान दियो उनीहरुले चेक दिन्छन् तर, पटक–पटक चेक साट्न जाँदा पनि खातामा पैसा हुँदैन तसर्थ तीन पटकसम्म पनि खातामा पैसा नभएपछि त्यस्ता व्यवसायीको चेक बाउन्स गरी कालोसूचीमा राख्ने व्यवस्था गरिनुपर्छ ।’

यसैगरी कार्यक्रममा आरबी कम्प्लेक्स व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष तथा नेपाल चेम्बरका राजस्व समितिका सभापति पर्शुराम दाहालले कोरोना पछि व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । ‘कोरोनाका कारण लामो समय व्यापार व्यवसाय बन्द हुँदा कतिपय सामान ड्यामेज भए भने कतिपय व्यवसायी भाडा नै तिर्न नसक्ने अवस्थामा पुगेर पसल नै बन्द गरेर हिड्नुपर्ने अवस्था आएको छ,’ कार्यक्रममा उनले भने । कार्यक्रममा अन्य व्यवसायीहरुले पनि चीनको अघोषित नाकाबन्दी तथा सरकारको वेवास्ताका कारण आफुहरु पलायन हुने अवस्थामा पुगेको बताएका थिए ।

यसैगरी आरबी कम्प्लेक्सको आज भएको २१ औं बार्षिक साधारणसभाले सर्वसम्मत रुपमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा पुनः पर्शुराम दाहाल नै चयन भएका छन् भने उपाध्यक्षहरुमा सन्तोषकुमार रौनियार, वासुदेव शर्मा र अनिल शाक्य चयन हुँदा महासचिवमा सन्दिपकुमार अग्रवाल चयन भएका छन् ।

यसैगरी कोषाध्यक्षमा धर्मदेव प्रसाद गुप्ता, सह कोषध्यक्षमा कुलनाथ उपाध्याय र सचिवमा नरेन्द्र कँडेल चयन भएका छन् । यसैगरी सदस्यहरुमा लोप्साङ गुरुङ, रमेशकुमार सुवेदी, राजकुमार रौनियार, सुमन पौड्याल, शैलेन्द्र श्रेष्ठ र रामप्रसाद पौडेल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL