Logo

इन्धन समस्या समाधान गर्न लेखाको निर्देशन,‘चीनबाट ग्यास ल्याउने प्रस्ताव स्वीकृत गर’

इन्धन समस्या समाधान गर्न लेखाको निर्देशन,‘चीनबाट ग्यास ल्याउने प्रस्ताव स्वीकृत गर’


बिजखबर संवाददाता
0
Shares

व्यवस्थापिका–संसद मातहतको सार्वजनिक लेखा समितिले चीनबाट ग्यास ल्याउन ग्यास उद्योगीहरुले राखेको प्रस्ताव स्वीकृत गर्न वाणिज्य मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ । ग्यास उद्योगीहरुले चीनको नालमबाट खाना पकाउने ग्यास पैठारी गर्ने सम्बन्धमा वाणिज्य मन्त्रालय र नेपाल आयल निगम समक्ष प्रस्ताव राखेको थियो ।

समितिले मुलुकमा जारी इन्धन संकटको समाधान गर्न समेत निर्देशन दिएको छ । निगमले बिहीबार मात्रै पेट्रोलियम पदार्थ आयातका लागि विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको सन्दर्भमा साथै जुन कुनै व्यावसायिक संस्थाले गर्ने प्रस्तावलाई दुई घण्टाभित्र अनुमति दिन र आयात सहज बनाउन समितिले शुक्रबार निर्देशन दिएको हो ।

यस्तै समितिले आपूर्ति व्यवस्था सहज बनाउनका लागि भइरहेको प्रयासका बारेमा जानकारी लिन शनिबार प्रधानमन्त्री सुशील कोइराला, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापालाई आमन्त्रण गर्ने निर्णय गरेको छ । नाकाबन्दीले बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको बेला सरकारले कूटनीतिक पहललाई तीव्रता नदिएको भन्दै समितिले तत्काल पहल गर्नसमेत निर्दिष्ट गरेको छ ।

वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरिबहादुर केसीले सरकारले इन्धन आयातलाई सहज बनाउन कूटनीतिक प्रयास जारी राखेको बताएका छन् । उनले सबै प्रकारको उपाय अवलम्बन गरेर समस्या समाधान गर्नेतर्फ ध्यान केन्द्रित गरेको र केही दिनमा समस्याको समाधान हुने विश्वास लिएको बताए ।

बैठकमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले हाल निगमसँग १ हजार ९ सय ८४ किलोलिटर पेट्रोल, ९ सय ९७ किलोलिटर डिजल, १ हजार ४ सय ४७ किलोलिटर मट्टितेल र १ हजार १ सय ४२ किलोलिटर हवाई इन्धन मौज्दात रहेको जानकारी दिए ।

निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले डिजल, खाना पकाउने ग्यास र पेट्रोलको समस्या बढी रहेकाले विभिन्न उपायका बारेमा विचारविमर्श भएर नै विश्वव्यापी बोलपत्र आह्वान गरिएको बताएका छन् । निगमले अरब मुलुकबाट सोझै आयात गर्न सकिन्छ कि भनेर प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL