Logo

सहयोगका लागि दातृनिकाय समक्ष अर्थमन्त्रीको आग्रह, दाताहरु सहयोगका लागि तयार

सहयोगका लागि दातृनिकाय समक्ष अर्थमन्त्रीको आग्रह, दाताहरु सहयोगका लागि तयार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

अर्थमन्त्री डा. रामशरण महतले अन्तरराष्ट्रिय दातृनिकाय समक्ष हाल देशमा भइरहेको समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन् । केही मधेशवादी दलहरुले नाजायज माग राखी आन्दोलन गरेको भन्दै त्यसलाई मिलाउनका लागि सहयोग गर्ने आग्रह गरेका हुन् । ‘संविधानमा मधेशीका सवै माग संबोधन भएका छन्,’ आज अर्थमन्त्रालयका आयोजित विदेशी दातृनिकायसँगको छलफलमा उनले भने, ‘अहिले मधेशीले जुन माग उठाइरहेका छन् त्यो राष्ट्रको हितमा छैन ।’

मधेशीले मागेको जस्तो कञ्चनपुरदेखि झापासम्मको भु–भाग कुनै पनि हालतमा मधेशमा हाल्न नदिने समेत उनले बताए । ‘मधेशीहरुले अरुको स्वार्थको लागि हचुवाको भरमा आन्दोलन गर्दै आएका छन्,’ उनले भने, ‘यसले नेपाललाई आर्थिक, राजनीतिक तथा भौगोलिक रुपमा समेत असर पुर्याउने छ ।’ यसैगरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्रसमेत तोक्न नसकिने उनको तर्क थियो ।

donner-meet

पछिल्लो समय देशमा भइरहेको बन्दले दैनिक करोडौ रुपैयाँ राजस्व गुमाइरहेको बताउँदै यसले कालन्तरमा समग्र राज्यलाई नै असर पान जानकारी दिए । साथै हाल भइरहेको अघोषित नाकाबन्दीले  ग्याँस, डिजेल पेट्रोलजस्ता उपभोग्य बस्तुमा असर पारेको बताए । ‘विगत ४ दिन यता भारतीय नाकाबाट नेपाल सामान आएका छैनन,’ उनले भने, ‘यसले देशमा असहजता निम्त्याएको छ ।’

पछिल्लो समय देशमा उद्योग कलकारखाना बन्द भएको बताउँदै यसले देशको पनर्निर्माणमा समेत असर परेको जानकारी दिए । ‘देशमा सिमेण्ट तथा रड उद्योग बन्द छन् भारतबाट पनि आएको छैन,’ उनले भने, ‘जसले गर्दा पुनर्निर्माणमा ठूलो समस्या देखा परेको छ ।’ तर, नयाँ संविधान निर्माण भएसँगै मुलुकमा गणतन्त्रको संस्थागत भएको र अब मुलुक संघीयताको अभ्यासमा प्रवेस गरेको उनले सुनाए । ‘नेपालका लागि संघीयता नौलो हो । सबै मिलेर नलाग्ने हो भने यो सफल हुन निकै कठिन छ ।’ उनले भने ।

कार्यक्रममा संयुक्त अधिराज्यको नेपाल स्थित प्रतिनिधिले आफुहरु नेपालमा देखिएको समस्या समाधानमा जस्तोसुकै सहयोग गर्न तयार भएको बताए । ‘हामी कुनै पनि मुलुकको द्विपक्षीय सम्बन्धमा हात हाल्न चाहँदैनौं,’ उनले भने, ‘तर, नेपालमा अत्यावश्क बस्तुमा समेत जुन किसिमको समस्या देखिएको छ त्यसको समाधान गर्नेछौं ।’

कार्यक्रममा नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले पुनर्निर्माण प्राधिकरणलाई जतिसक्दो छिटो अघि बढाउनु पर्ने बताएका थिए । साथै, हाल नेपालमा देखिएको समस्या बार्ताबाटै मिलाउन समेत उनले आग्रह गरेका छन् ।
कार्यक्रममा अर्थमन्त्री महतले कैलाली लगायतका स्थानमा आन्दोलन नियन्त्रणभन्दा बाहिर गएकाले सेना नै परिचालन गर्नुपरेको दातृनिकायलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्