Logo

उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा, तीनै क्षेत्रको निर्वाचन काठमाडौंमै गरिने

उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा, तीनै क्षेत्रको निर्वाचन काठमाडौंमै गरिने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने भएको छ । कोरोना पछिको लकडाउनको कारण लामो समयदेखि अन्यौलमा रहँदै आएको महासंघको ५४ वार्षिक साधारणसभा तथा निर्वाचन आज (शुक्रबार) महासंघ पदाधिकारी बैंठकले मिति तय गर्दै केन्द्रिय कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष तथा आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

‘आजको पदाधिकारी बैंठकले सर्वसम्मत रुपमा मंसिर ११ र १२ गते निर्वाचन गर्ने मिति तय गरेको छ,’ उनले भने, ‘सम्भवत यहि असोज ११ वा १२ गते केन्द्रिय कार्यसमितिको बैंठक बोलाएर चुनावी मिति तथा स्थान घोषणा गरिने छ ।’

बैंठकले महासंघको साधारणसभा तथा निर्वाचन काठमाडौंमै गर्ने भएको छ । यस अघि महासंघले निर्वाचनको मोडालिटी र मिति तय गर्न कार्यदल समेत गठन गरेको थियो । उक्त कार्यदलले ३ ओटा मोडालिटी अपनाएर निर्वाचन गर्न सुझाव दिएको थियो । तर, आज बसेको पदाधिकारी बैंठकले धेरैजसो सदस्यहरुले काठमाडौंमै प्रत्यक्ष रुपमा निर्वाचन गर्नुपर्ने धेरैजसो सदस्यले सुझाव दिएका कारण सोही अनुरुप निर्वाचन गर्ने निर्णय गरेको हो । जस अनुसार जिल्ला तथा नगर, बस्तुगत र एशोसिएट्को निर्वाचन प्रत्यक्ष रुपमा काठमाडौंमै हुनेछ । तर चुनावी स्थान भने अबका दिनमा बस्ने कार्यसमिति बैंठकले टुङ्गो लगाउने ढकालले जानकारी दिए ।

महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन चैत २८ र २९ गते हुनपर्ने भएपनि कोरोनाका कारण हालसम्म अन्यौलमै रहँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL