Logo

कसले ल्यायो राजश्व छलेर तीन ट्रक चिनी, जफतपछि विभागले थाल्यो अनुसन्धान

कसले ल्यायो राजश्व छलेर तीन ट्रक चिनी, जफतपछि विभागले थाल्यो अनुसन्धान



काठमाडौं । भन्सार राजश्व छलेको आशङ्कामा जफत गरिएको तीन ट्रक चिनीको अनुसन्धान प्रक्रिया शुरु भएको छ । जलेश्वर नाका भन्सारबाट भित्रिएको ७२ हजार केजी चिनीसहित तीनवटा ट्रकलाई केही दिन अगाडि नियन्त्रणमा लिएर छानबिन शुरु गरिएको राजश्व अनुसन्धान विभागको कार्यालय पथलैयाले जनाएको छ ।

laxmi

जलेश्वर भन्सार नाकाबाट जाँचपास गर्ने सम्बन्धमा चिनीको गुणस्तरमा विवाद आएपछि राजश्व अनुसन्धानले चिनीको गुणस्तर तथा राजश्वसमेत छानबिन गरेको कार्यालय प्रमुख राजन विसीले बताए ।

भन्सार नाकाबाट जाँचपास गराउने क्रममा खाद्य कार्यालय जलेश्वरले उक्त चिनी खान अयोग्य भनी प्रमाणित गरेको थियो । पछि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाट जाँच गराउँदा उक्त चिनी खानयोग्य प्रमाणित भएको थियो ।

चिनी भारतको उत्तर प्रदेश बाहराइच जिल्लाको सिम्भावली सुगर मिलबाट आयात गरिएको बताइएको छ । काठमाडौंको मनोहरा नगरपालिकास्थित एक व्यावसायिक फार्मले सो चिनी मगाएको कार्यालय प्रमुख बिसीले बताए ।

छानबिन भइरहेको ट्रकसहित चिनी सम्बन्धमा बारा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL