Logo

फागुनदेखि नारायणीमा सरर पानी जहाज : अनलाइन बुकिङ खुला हुँदै

फागुनदेखि नारायणीमा सरर पानी जहाज : अनलाइन बुकिङ खुला हुँदै



काठमाडौं । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेसँगै पानीजहाज संचालनमा आउने भएको हो । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण सुरुआत भएको थियो ।

laxmi

क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो । मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याउने कँडेलले जानकारी दिएका छन । उनले भने, ‘बाहिरको एसीपी लगाउन र सिसा राख्न बाँकी छ, केही दिनमा काम सक्छौँ ।’

उनले जहाज संचालनमा ल्याउने तयारीसँगै १० दिनभित्र अनलाइन बुकिङ आह्वान गर्ने समेत जानकारी दिएका छन । क्रुजसीपमा बिहानी खाना (ब्रेकफाष्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना (डिनर क्रुज) का लागि अनलाइन बुकिङ खुला गरिँदैछ । बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने समेत व्यवस्था मिलाइँदैछ । जहाज भित्र नै गायकको गीतमा पर्यटक रमाउन सक्नेछन् । बारहरु रहनेछन् । भुइँतलामा ९० वटा कुर्ची, बीचमा ११० र छतमा २० जना बस्न मिल्ने प्रबन्ध निर्देशक कँडेलले बताए । दोस्रोतलाको बाहिर बसेर समेत यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

क्रुजको ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा ३/३ घण्टाको यात्रा गराइनेछ । यात्राका क्रममा काभ्रेघाटबाट सुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् । नेपालमा व्यावसायिकरूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो भएको कम्पनीले जानकारी दिएको छ । ज्ञानेश्वर सामुदायिक वनसंगै नारायणी नदी छेउमा जहाज निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यसको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको उनले बताए ।

क्रुजसीपको सञ्चालनका लागि आवश्यक तीन जना क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी रहेका छन् । दीर्घकालीनरूपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने कम्पनीले जानकारी दिएको छ । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरेको हो । क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ । क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । क्रुज निर्माणका लागि करिब १५ करोड रुपैयाँ खर्च भएको कँडेलले जानकारी दिएका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL