Logo

आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी : मास प्रिन्टर अझै चलेन, अझै पनि पुरानैको भर

आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी : मास प्रिन्टर अझै चलेन, अझै पनि पुरानैको भर



काठमाडौं । ८ लाख भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न अझै बाँकी रहेको छ । २ महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा स्मार्ट चालक अनुमति पत्र छाप्न बाँकी भएको हो ।

laxmi

गत कात्तिक मसान्तसम्ममा मात्रै ७ लाख ८६ हजार चालक अनुमतिपत्र छाप्न बाँकी रहेका यातायात व्यवस्था विभागले जनाएको छ । अहिले विभागमा रहेका पुराना ‘प्रिन्टर’ बाट छपाइ भइरहेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । उनका अनुसार पुराना उपकरणको क्षमताभन्दा बढी चालक अनुमतिपत्र छाप्नुपर्ने बाध्यता रहेकाले छाप्नुपर्ने चालक अनुमतिपत्र बढिरहेका हुन ।

‘मास प्रिन्टर’ सञ्चालनका लागि दक्षजनशक्ति नहुँदा अहिल यहाँ कार्यरत जनशक्तिलाई तालीम दिइरहेको खनालले बताए । ‘मास प्रिन्टर’ खरिद गरिएको भारतीय कम्पनीले नै विभागका कर्मचारीलाई उपकरणको प्रयोगबारे प्रशिक्षण दिइरहेको छ । उनले भने, ‘तालीम सकिएर मास प्रिन्टरले पूरै काम गर्न थालेपछि समस्या सकिनेछ ।’

चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नविकरणका लागि आवेदन दिएकाको संख्या ८ लाख पुगेको छ । यो संख्या अघिल्लो ३÷४ वर्षदेखि नै महिनापिच्छे बढिरहेको छ । ‘मास प्रिन्टर’ र चालक अनुमतिपत्र छाप्नका लागि १० लाख कार्ड खरिद गरेसँगै विभागले छाप्न बाँकी कार्ड सकाउने बताउँदै आएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौतामा ‘मास प्रिन्टर’ प्रयोगमा आएसँगै अहिले रहेको चालक अनुमतिपत्र छपाइ ३ महिनामा सम्पन्न गर्ने उल्लेख थियो/रासस

प्रतिक्रिया दिनुहोस्
MBL