Logo

घोषणामै सीमित भयो एकसय पर्यटकीय गन्तव्य विकासको योजना, पर्यटन मन्त्रालय नै बेखबर

घोषणामै सीमित भयो एकसय पर्यटकीय गन्तव्य विकासको योजना, पर्यटन मन्त्रालय नै बेखबर



काठमाडौं । सरकारले गत बर्ष निकै महत्व दिएर घोषणा गरेका १ सय नयाँ पर्यटकीय गन्तब्यको विकास घोषणामै सीमित हुन पुगेको छ । सरकारले ७७ जिल्लाका सम्भावित पर्यटकीय गन्तब्यको पहिचान गर्दै गत बर्ष नोभेम्बरमा १ सय गन्तब्य विकासको घोषणा गरेको थियो । पर्यटकलाई नयाँ गन्तब्यमा पुर्याउने योजनासहित तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीले गत बर्षको नोभेम्बरमा सय गन्तब्यको घोषणा गरेका थिए ।

मन्त्रालयले पर्यटन क्षेत्रको विकास तथा सोबाट प्राप्त लाभ जनस्तरमा पुर्याउने उद्देश्यले पयर्टकीय स्थल र उपजहरुको पहिचान गरेको थियो । साथै सो क्षेत्रको विकास तथा पर्यटकीय क्षेत्रको पूर्वधारको विकास गरी अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले सय गन्तब्यको पहिचान गरेको घोषणामा उल्लेख थियो । अहिले ती गन्तब्यको विकासका लागि भन्दै १ अर्ब रुपैयाँ भन्दा बढी रकम स्थानीय तहमा गईसकेको छ । तर, हालसम्म ती गन्तब्यको विकासको प्रगति भने सोचेअनुसार नभएको मन्त्रालय बताउँछ ।

तत्कालीन समयमा मन्त्री अधिकारीले पहिचान गरिएका सय गन्तब्यको पूर्वधार तथा प्रर्वद्धनको लागि तत्कालै ५० लाख रुपैयाँको दरले बजेट समेत विनियोजन गरी स्थानीय तहलाई पठाइसकेको थिए । तर, उक्त रकमको के कति काम भयो भन्नेबारे मन्त्रालयसँग हालसम्म पनि कुनै जानकारीे छैन । मन्त्रालयले केही दिन अघि मात्रै सो क्षेत्रका लागि १ अर्ब रुपैयाँ बजेट निकासा गरेको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले हालैमात्र रकम निकासा गरेकाले खासै काम नभएको बताए । उनले भने,– ‘त्यही पनि हामी पहिलेका रिपोर्टहरु मगाईरहेका छौं । रिपोर्टकै आधारमा अनुगमन गर्ने छौं ।’

सरकारले प्रदेश १ बाट फिक्कल–कन्याम–श्रीअन्तु सर्किटलगायतका क्षेत्र, प्रदेश २ बाट घडीअर्बा पोखरी, प्रदेश ३ बाट जिरी–शैलुङ पर्यटन पदमार्ग, प्रदेश ४ बाट चुम भ्याली, प्रदेश ५ को रघुगंगा, रुईसे डाँडा देखि धौलागिरी आईसफल पदमार्ग, प्रदेश ६ को पाँचाल झरना तथा प्रदेश ७ को बडिकेदार धार्मिक पर्यटकीय क्षेत्रलगायतका गरी १ सय गन्तब्यको पहिचान गरेको थियो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्डले नयाँ गन्तब्य पहिचान भईसकेपछि ति क्षेत्रहरुको प्रोफाईल बनाउने काम मात्रै गरेको बताए । ‘ बोर्डले सरकारले पहिचान गरेका सबै गन्तब्यको प्रोफाइल तयार गरेर मन्त्रालयलाई दिइसकेको छ । अब हामीले थप सहजीकरणका काम गर्नैछौं ।’ उनले सो क्षेत्रमा हाल पर्यटक लैजाने भन्दा पनि प्रचार प्रसार गर्ने र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । तर काम कसरी भईरहेको छ भन्ने विषयमा आफुलाई जानकारी नभएको जोशीले जानकारी दिए । अहिले भने पुरानै गन्तब्यहरुमा पर्यटक लैजानुपर्ने अवस्था रहेको बताउँदै जोशीले नयाँ पहिचान गरेको क्षेत्रहरुमा सम्भावना रहेपनि तत्कालको लागि ती क्षेत्रका विकासमा ध्यान पुर्याउन आवश्यक रहेको बताए ।

त्यस्तै सरकारले भ्रमण बर्ष सुरु हुन १ महिना मात्रै बाँकी हुँदासमेत नयाँ गन्तब्यका कुनै पनि प्रचार प्रसारको सामग्री ब्यवसायीहरुलाई उपलब्ध नगराएको ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) ले बताएको छ । टानका अध्यक्ष खुम सुवेदीले सरकारले बिभिन्न गन्तब्यहरुमा प्रचार प्रसारका लागि पठाउने सामग्रीहरु तयार भईरहेको जानकारी दिएको र अब १५ दिन भित्रमा ब्यवसायीहरुलाई उपलब्ध हुने बताइएको जानकारी दिए ।


त्यस्तै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबिर लामा गन्तब्य मात्रै थपेर केही नहुने बताउँछन् । उनले भने, ‘भईरहेको गन्तब्यलाई सरकारले विकास गर्नु अहिलेको अवश्यक्ता हो । तर, त्यो पनि हुन सकेको छैन ।’ लामाले सरकारले देखाउनकै लागि मात्रै सय गन्तब्यको घोषणा गरेको आरोपसमेत लगाए । भ्रमण बर्ष सुरु हुन १ महिना मात्रै बाँकी हुँदा पहिचान भएको गन्तब्यहरुमा बजेट निकासा गरेर त्यस्ले कस्तो बिकास होला भन्दै उनले भने–‘सरकारले देखाउनको लागि हैन, पर्यटक लैजाने गरी गन्तब्यको विकास गर्नुपर्छ । तर, अहिले त्यो सम्भव छैन किन भने हामीसँग समय पनि कम छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL