Logo

पुनर्निमाणमा स्रोत जुटाउन छिट्टै सहायता सम्मेलन, मित्रराष्ट्रहरुबाट उच्चस्तरीय सहभागिताको अपेक्षा

पुनर्निमाणमा स्रोत जुटाउन छिट्टै सहायता सम्मेलन, मित्रराष्ट्रहरुबाट उच्चस्तरीय सहभागिताको अपेक्षा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ जेठ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपालको वार्षिक बजेट पेश हुने समय नजिक आइरहेको र पुनर्निर्माणको कामका लागि स्रोतको व्यवस्था गर्न छिटै सहायता सम्मेलन गर्न लागिएको बताए । उक्त सम्मेलनमा मित्रराष्ट्रहरुबाट उच्चस्तरीय सहभागिता अपेक्षा गरिएको स्पष्ट पार्दै उनले यो विपद्को अवस्थामा बढी सहयोगको अपेक्षा गरिएको जानकारी दिए । ‘हामी उद्दार र राहतको चरणबाट विस्तारै बाहिर आउँदैछौं,’ आज अर्थन्त्रालयमा विभिन्न देशका राजदूतहरुसँगको भेटमा उनले भने, ‘मुख्य कुरा अव पुनर्निर्माणको हो । मुलुकको ध्यान अव यतातिर जानेछ ।’

chines ambisdor-ramsggaran mahat

यो विपद्को अवस्थामा सूचना तथा जानकारी दिनासाथ तीब्ररफ्तारमा राहत तथा उद्दारसम्वन्धी सहयोग जुटाइदिएकोमा उनले सम्वद्ध मुलुकहरुका सरकार तथा जनताप्रति आभार प्रकट गरेका छन । विपदसम्वन्धी दक्षता कम भएपनि सरकारले प्रभावकारी ढंगले काम गरेको उल्लेख गर्दै आगामी दिनमा हरेक निर्माणलाई व्यवस्थित गरिने र भूकम्प प्रतिरोधी बनाइने स्पष्ट पारे । सो अवसरमा उनले कतिपय अवस्थामा विकल्प दिएर बस्तीलाई नै स्थानान्त्रण गर्नुपर्ने अवस्था रहेको जानकारी गराए ।
अर्थमन्त्री डा महत र नेपालस्थित विभिन्न मुलुकका राजदूतहरुबीच नेपाल सहायता सम्मेलनबारे अर्थमन्त्रालयमा बेग्लाबेग्लै छलफल भएको थियो ।

अर्थमन्त्री डा महतसँग नेपालका लागि अमेरिकी राजदूत पीटर डब्ल्यु बोडे, जर्मनीका राजदूत म्याथ्यु मेयर तथा चीनका राजदूत उ चुनताईले भेटघाट गरी सम्मेलनबारे छलफल गरेका थिए । अर्थमन्त्री डा महतसँग केही दिनअघि नेपालका लागि भारतका राजदूत रञ्जित रेले पनि भेट गरी उक्त विषयमा छलफल गरेका थिए ।

german ambosdor-finance minister

 

पुनर्निर्माणका लागि खरबौं रुपैयाँ लाग्ने उल्लेख गर्दै क्षतिको मूल्यांकन भैरहेको बताए । सहायता सम्मेलन अगावै क्षतिको विवरण आइसक्ने र कार्यक्रमहरुको तयारी पनि सँगै आउनेछ । यसमा दाताहरुबाट ठूलो सहयोगको अपेक्षा गरिएको छ । सम्मेलन कहाँ आयोजना गर्ने भन्नेबारे निर्णय नभैसकेको जानकारी दिदै उनले काठमाडौंमै सम्मेलन आयोजना गर्ने चाहना रहेको बताए । तर, भूकम्पका धक्काहरु आइरहने र होटलहरुको अवस्था मूल्यांकन गरी सम्मेलन स्थान परिवर्तन गर्न सकिने बताए । ‘विभिन्न मुलुकहरुबाट विभिन्न ठाउँमा सम्मेलन गर्नेबारे प्रस्तावहरु आइरहेका छन,’ उनले भने, ‘सबैलाई उपयुक्त हुने स्थानमा सम्मेलन हुनेछ ।’

भेटघाटका अवसरमा नेपालका लागि अमेरिकी राजदूत बोडेले पुनर्निर्माणका लागि स्पष्ट कार्ययोजना हुनुपर्ने र त्यसमा अमेरिकी सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिए । त्यसैगरी, जर्मन राजदूत मेयरले नेपालको पुनर्निर्माणमा जर्मनी सहभागी हुन चाहेको र विशेषगरी शिक्षा, स्वास्थ्य र सम्पदाहरुको निर्माणमा आफ्नो मुलुकको चासो रहेको स्पष्ट पारेका छ । यस्तै, नेपालस्थित चीनका राजदूत चुनताईले नेपाललाई परेको यो विपद्को घडीमा चीन सँधै साथमा रहेको र थाहा पाउनासाथ तुरुन्तै सहयोग टोली नेपालमा पठाइएको जानकारी गराएका थिए ।

भेटघाटका अवसरमा राजदूतहरुले सम्मेलन आयोजनास्थल र सुरक्षाबारे जिज्ञासा राखेका थिए । राजदूतहरुले आफ्नो मुलुकबाट उपलब्ध गराइएको सहयोग र भविष्यको पुनर्निर्माणका लागि गर्ने सहयोगबारे जानकारी गराएका थिए । भेटघाटका अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका अन्य अधिकारीहरु र सम्वद्ध दूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL