काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक सवारीसाधन संचालन नगरी यातायात अवरुद्ध गर्ने यातायात व्यवसायीलार्य कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले यातायात अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारी तथा व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको हो ।
यातायात व्यवसायीले सिण्डिकेटको माग राख्दै आजदेखि देशभर सार्वजनिक सवारी साधन नचलाउने निर्णय गर्दै आफ्ना सवारीसाधन थन्क्याएका थिए । तर, गृह मन्त्रालयले भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सवारीसाधन थन्क्याएर बस्ने यातायात व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको हो । ‘यातायात व्यवसायीले सार्वजनिक हितका लागि सवारी संचालन गर्ने भन्दै दर्ता गराएका हुन्,’ गृहका एक अधिकारीले भने, ‘उनीहरुले सोही बमोजिम संचालन गरेका त्यस्ता व्यवसायीलाई पक्राउ गरी एने नियम अनुसार कारबाही गर्न निर्देशन दिएका छौं ।’
व्यवसायीहरुले सार्वजनिक हितका लागि सवारीसाधन संचालन गर्न सरकारसँग अनुमति लिएको सोही अनुरुप संचालन नगरे जस्तोसुकै कारबाही गर्न पनि सरकार तयार भएको गृहले जानकारी दिएको छ ।
केही समय अघि मन्त्रिपरिषद्को निर्णयले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात व्यवसायी सम्बन्धी संस्थालाई खारेज गर्दै कम्पनीमा दर्ता हुन निर्देशन दिएको थियो । यस्तै यातायात व्यवस्था विभागले त्यस्ता समितिको सम्पती छानविन गरी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउने उद्घोष गरेको थियो ।