Logo

चेक गणतन्त्रका वाणिज्यमन्त्री काठमाडौंमा , नेपालमा लगानी गर्न इच्छुक

चेक गणतन्त्रका वाणिज्यमन्त्री काठमाडौंमा , नेपालमा लगानी गर्न इच्छुक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ माघ,काठमाडौं । नेपाल र चेक गणतन्त्रबीच आर्थिक सहयोग सम्वन्धि सम्झौता भएको छ । बिहीवार अर्थमन्त्री डा. रामशरण महत र नेपाल भ्रमणमा रहेका चेक गणतन्त्रका उद्योग तथा वाणिज्यमन्त्री जन म्लाडेकले अर्थमन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच उक्त सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापछि दुबै मुलुकबीच लगानी, व्यापार आर्थिक सहयोग आदान प्रदानको बाटो खुलेको बताइएको छ । चेकगणतन्त्रले नेपालको जलविद्युत, सौर्य तथा वायु उर्जा, उद्योग, निर्माण तथा सडक, विमान, खाद्य प्रशोधन उद्योगका क्षेत्रमा लगानी गर्ने सो अवसरमा जानकारी दिइएको थियो ।
सो अवसरमा अर्थमन्त्रीले नेपालमा जलविद्युतको विकासको प्रचूर संभावना रहेको तर अहिलेसम्म संभावनाको १ प्रतिशत मात्र उत्पादन भैरहेको जानकारी दिए । साथै अहिले विद्युतको संकट रहेकोले स्वदेशमै पनि बजार रहेको बताए । महतले हालै भएको भारतसँगको विद्युत व्यापार सम्झौतापछि भारतको ठूलो बजार पनि प्राप्त भएकोले लगानी गरी ठूलो लाभ लिन सकिने जानकारी दिए ।

जलविद्युतका अतिरिक्त भौगोलिक विविधता, संस्कार, रहनसहनका साथै प्राकृतिक तथा मानवनिर्मित थुप्रै सम्पदाहरु भएकोले पर्यटनको विकासको संभावना प्रशस्त रहेको उल्लेख गरे ।
त्यस्तै नेपालमा कृषिको संभावना प्रचूर भएको जानकारी दिए ।

महतले नेपालमा लगानीको प्रशस्त सम्भावना भएकोले सम्भावनाको अवलोकन गर्न आग्रह गरे । यो सम्झौता एउटा शरुआत भएको बताउँदै अर्थमन्त्री डा महतले भविष्यमा लगानी र आर्थिक सहयोगको सम्वन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा चेकगणतन्त्रका उद्योग तथा वाणिज्यमन्त्री म्लाडेकले यो सम्झौता महत्वपूर्ण भएको बताउँदै चेकगणतन्त्रका लगानीकर्ताहरु नेपालमा लगानी गर्न तयार रहेको बताए ।
साथै नेपालको जलविद्युत, सौर्य तथा वायु उर्जा, उद्योग, निर्माण तथा सडक, विमान, खाद्य प्रशोधन उद्योगका क्षेत्रमा चेक लगानीकर्ताहरुको इच्छा र सामथ्र्यता रहेको बताए । चेकमन्त्रीको नेतृत्वमा सो टोली नेपालमा लगानीको संभावना नियाल्न काठमाडौं आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL