काठमाडौं । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको योजनामा केपी ओली, रमेश लेखक र आफूलाई गिरफ्तार गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा ट्रेण्ड चलाउने काम भएको बताएका छन् । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सुदन गुरुङजस्ता मान्छेहरु बालेनको योजनामा परिचालित भएको बताएका हुन् ।
‘सुदन गुरुङजस्ता मान्छेहरु बालेनजीहरुको योजनामा केपी ओली, रमेश लेखक र महेश बस्नेतलाई गिरफ्तार गर्नुपर्छ भनेर मिडिया ट्रायल गर्छन् । सामाजिक सञ्जालमा ट्रेण्ड चलाउँछन् । अनि डेलिगेशन जान्छन्, प्रधानमन्त्री र गृहमन्त्रीज्यूको सल्लाहमा,’– उनले भने ।
साथै, उनले सुदन गुरुङलाई ‘उरन्ठेउलो’ को संज्ञा दिएका छन् । सुदनले अनाधिकृत ढंगले सरकारी बैठकहरुमा निर्देशन दिने गरेको भन्दै उनले आपत्ति जनाए । विभिन्न अन्तर्राष्ट्रिय शक्तिका एजेण्टहरुले अवैधानिक ढंगले नेपालको राज्य संयन्त्रलाई कब्जा गर्न खोजिरहेको पनि उनले बताए । त्यो पात्रको रुपमा सुदन गुरुङजस्ता मान्छेहरुलाई एम्बुस बनाएर पड्काउन खोजिएको उनको दाबी छ ।