Logo

जेनजी आन्दोलनको उद्देश्य के ? आन्दोलनका मुल मुद्दा संवैधानिक बाटोबाट स्थापित गर्ने कि हुलहुज्जतमा रमाउने ?

जेनजी आन्दोलनको उद्देश्य के ? आन्दोलनका मुल मुद्दा संवैधानिक बाटोबाट स्थापित गर्ने कि हुलहुज्जतमा रमाउने ?



काठमाडौं । जेनजी आन्दोलनले नेपालको राजनीतिक कोर्स परिवर्तन गरेको एक महिना पुग्न लागेको छ । गत भदौं २३ गते शुरु भएको जेनजीहरुको प्रदर्शनका सामु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २७ घण्टाभित्रै घुँडा टेकेपछि देशमा अहिले शुशीला कार्की नेतृत्वको अन्तरिम सरकार छ । भलै जेनजी प्रदर्शनका क्रममा भदौ २३ मा भएको सरकारी दमन र भदौं २४ गते देशभर भएको आगजनी, लुटपाट र देशकै प्रमुख धरोहरहरु नष्ट पार्नेगरी भएका गतिविधिहरु अहिले पनि प्रश्नको घेरामा छन् । यद्यपि अन्तरिम सरकारले पूर्व न्यायधीशको संयोकजत्वमा यी घटनाका सम्बन्धमा छानविन समिति गठन गरिसकेकाले थप चर्चा गरिररहनुभन्दा अहिलेको मुख्य विषय जेनजी आन्दोलनको अबको बाटो कता भन्ने मुल प्रश्न हाम्रा सामु छ ।

नेतृत्वविहिन र असंगठितरुपमै शुरु भएर केही घण्टामै सत्ता नै पल्टाएको जेनजी आन्दोलन अहिले विश्वमै चर्चाको विषय बनिरहेको छ । यद्यपि नेपालमा यो आन्दोलन र यसको गन्त्व्य के हो भन्ने अन्यौलता थप बढदै गएको छ । एकातिर जेनजी आन्दोलनको नेतृत्व स्पष्ट नहुँदा जेनजी आन्दोलनको जस र उपलब्धि अर्कैले हत्याएको चर्चा अहिले चलिरहेको छ भने जेनजी आन्दोलनका मुख्य मागका रुपमा रहेका प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना कसरी हुन्छ भन्नेमा स्वभाविक अन्यौलता देखिएको छ । अर्कोतर्फ जेनजी आन्दोलनभित्रै विभिन्न समूहका नाममा अराजकता र हुलहुज्जतको प्रवृत्ति मौलाउँदो छ । जसले समग्र जेनजी आन्दोलन नै बदनाम हुने हो कि भन्ने चिन्ता बढाएको छ ।

संविधान मान्ने कि नमान्ने मुल प्रश्न

पछिल्लो समय जेनजी समूहका विभिन्न गतिविधिले वर्तमान संविधान मान्ने कि नमान्ने भन्ने प्रश्न खडा गरेको छ । वर्तमान शुशीला कार्कीको सरकारसँग अहिले दैनिक प्रशासन सञ्चालनसँगै मुख्य एजेण्डाका रुपमा फागुन २१ मा निर्वाचन गर्नुपर्ने म्याण्डेट छ । जसका लागि निर्वाचन आयोगले सोमबारमात्रै निर्वाचन कार्यतालिकासमेत प्रकाशन गरिसकेको छ । जसबाट कार्की नेतृत्वको सरकार समयमै निर्वाचनका लागि गम्भीर छ भन्ने देखिन्छ ।

जेनजी आन्दोलनपछि जेनजीकै रोजाइकै रुपमा सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री शुशीला कार्कीले आफुले असंवैधानिक काम नगर्ने भन्दै निर्वाचनपछि बन्ने नयाँ सरकारले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीलगायतका जेनजीका माग सम्बोधन गर्न संविधान संशोधन गर्ने बताइसकेकी छन् । यसैले अहिले जेनजीहरुको मुख्य ध्यान पनि समयमै निर्वाचन सम्पन्न गरेर देशलाई नयाँ बाटोमा अघि बढाउने नै हो । तर, पछिल्ला दिनमा जेनजी आन्दोलनका अभियन्ता भनिएकाहरुले विभिन्न असंवैधानिक गतिविधिलाई अगांलिरहेका छन् ।

जेनजीहरु समूहले सोमबार पत्रकार सम्मेलन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तको राजनीमा माग गरे । मंगलबार त उनीहरुले अयोगमै पुगेर विरोध प्रदर्शनसहित राजीनामाका लागि दबाब दिए । सोमबारमात्रै जेनजी आन्दोलनपछि अगुवाई गरिररहेका हामी नेपालीका संयोजक सुदन गुरुङले भने तत्काल पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखकसहितलाई पक्राउ गर्न दबाब दिएको भनिएको छ ।

सोमबार राति अबेरसम्म काठमाडौं प्रहरी परिसरमा सुदनको टोलीले जाहेरी दर्ता गर्न दबाब दिएकोमा प्रहरीले प्रधानमन्त्रीको लिखित निर्देशन आएमात्रै अघि बढ्न सकिने जवाफ दिएको बताइएको छ । सुदनको टोलीले राति अबेरसम्म गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो । सुदनले हिजोदेखि नै सामाजिक सञ्जालमा एरेष्ट केपी ओली, अरेष्ट रमेश लेखक र मडर्रर भनेर क्याम्पेन चलाएका छन् ।

अहिले आन्दोलनमा बर्बर दम गर्नेहरुमथि कारावही गर्नुपर्छ भन्नेमा कसैको दुईमत नहोला । तर, यसमा कसैको दबाब र प्रभावअनुरुप भन्दा पनि संविधान र कानूनअनुसार आवश्यक कारवाही अघि बढनुपर्छ भन्ने पनि मत बलियो छ । किनकी देशमा सत्ता परिवर्तन भएपनि संविधान भने खारेज भएको छैन र जेनजी अभियन्ताहरुले पनि यही संविधानलाई नै मानेर अघि बढने बताइसकेको अवस्था छ । यस्तोमा सर्वोच्च अदालतबाटै आफ्नो नियुक्रि संवैधानिक भएको क्लिनचिट पाइसकेका अख्तियारका प्रमुख आयुक्त तथा अन्य आयुक्तहरुलाई जबर्जस्ती राजीनामाका लागि दबाब पनि दिन मिल्दैन ।

अर्कोतर्फ अहिलेको अवस्था निकै तरल छ । भदौं २४ को आन्दोलनमा देशको प्रमुख सुरक्षा अगंका रुपमा रहेको नेपाल प्रहरीमाथिको आक्रमण, प्रहरी कार्यालयहरुमाथि भएको आगजनी र हतियार लुटपाटले सुरक्षा प्रणालीमा विभिन्न चुनौती कायमै छन् । जघन्य अपराधका हजारौं कैदीहरु जेलबाहिर घुमिरहेका छन् ।

यो अवस्थामा थप जिम्मेवार बन्दै देशलाई अराजकतातर्फ जान नदिन सक्रिय हुने जेनजी समूह नै हुलहुज्जत र प्रणाली भत्काउने प्रयासमा लाग्ने हो भने देश भडखालोमा जानेछ । हो देशलाई परिवर्तन चाहिएको छ, सुशासन र न्याय पनि चाहिएकै छ । तर, त्यस्तो न्यायको निर्णय भीडबाट गर्नु थप हानिकारक हुनेछ । निर्वाचनको मिति नजिकिइरहेको सन्दर्भमा अब जेनजी पुस्ताले संवैधानिक बाटोबाटै परिवर्तनका लागि आवाज बुलन्द पार्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्