Logo

वैज्ञानिक अनलाइन प्रणालीको विस्तार र उपयोग गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

वैज्ञानिक अनलाइन प्रणालीको विस्तार र उपयोग गर्न महासंघ अध्यक्ष ढकालको आग्रह



काठमाडौं । नेपाल सरकारले विराटनगर भन्सार कार्यालयबाट वहुप्रतिक्षित मुल्यांकन डेटावेस प्रणालीको सफल परिक्षण गरेको छ । प्रचलित सन्दर्भ पुस्तिकालाई विस्थापित गरि विश्व व्यापार संगठन अन्तर्गतको ग्याट सम्झौतामा उल्लेखित र अधिकांश मुलुकमा चलेको यो मुल्यांकन विधि नेपालमा पहिलोपटक शुरु भएको हो ।

असोज ९ गते अर्थमन्त्री रामेश्वर खनालद्वारा उदघाटन भएको उक्त प्रणालीले हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा सरकारको छ । यस विधिमा जाँचपास भएको सबै वस्तुको मुल्य विवरण संग्रह गरिनेछ । सरकारका अनुसार यो भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल श्रोत हो जसले कारोबार मुल्य पहिचान गर्न सहयोग पुग्दछ।

व्यवसायीहरुले कारोबार मुल्यलाई मान्यता दिन आग्रह गरिरहेको सन्दर्भमा मुल्यांकन डाटावेस प्रणाली त्यसतर्पmको डिजिटल प्रक्रिया हो । नेपाल उद्योग वाणिज्य महासंघले ग्याट भ्यालुएशन अनुसार अनलाइन मुल्यांकन गर्न सकिने सम्भावना केही बर्षदेखि सरकारलाई देखाउँदै आएको थियो । मूल्य निर्धारण डब्लयूटिओ/ग्याट भ्यालुएशन आर्टिकल (WTO/GAQ/Valuation Article 7) मा उल्लेखित विधिहरुको पूर्ण पालना गरी सो अनुरुप कारोवार मूल्य निर्धारण गरिनु पर्ने माग महासंघको छ ।

महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले हाल पाइलटका रुपमा विराटनगरबाट शुरु भएको मुल्यांकन प्रक्रिया उपयोग गर्न उद्यमी व्यवसायीहरुमा आग्रह गरे । साथै सबै भन्सार विन्दुमा उक्त सेवा शुरु गर्न सरकारसंग पनि आग्रह गरे ।

अनलाइन डेटावेस प्रणालीलाई विश्व व्यापार संगठनले मान्यता दिएको हुँदा पनि यो वैज्ञानिक विधि भएको र यसले नेपालमा अनौपचारिक अर्थतन्त्रको एउटा पाटो न्युनबिजकीकरण र अधिक विजकीकरणको समस्यालाई धेरै हदसम्म सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्