काठमाडौँ । शुक्रवार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।
यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडा दसैँ पर्व भव्य रूपमा मनाउँछन् ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ ।
नजिकको परिवारका सदस्य पनि काम विशेषले टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरू हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजया दशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ ।
यस वर्ष भने विजयादशमीको भोलिपल्ट असोज १७ गते शुक्रवार बेलुकीदेखि निरन्तर वर्षा भइरहेकाले टाढा टाढाबाट मान्यजनकहाँ आशीर्वाद लिन जानेहरूको तालिका प्रभावित भएको छ । भारी वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ भने राजधानीबाट भित्रिने र बाहिरिने सवारी साधनमा रोक लगाएको छ ।