Logo

बाढीपहिरोले अधिकांश राजमार्ग अवरुद्ध, केहीमा एकतर्फी यातायात सञ्चालन

बाढीपहिरोले अधिकांश राजमार्ग अवरुद्ध, केहीमा एकतर्फी यातायात सञ्चालन



काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् । पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ– मुग्लिन सडक पनि पहिरोले प्रभावित भएको छ । यद्यपि यो बाटो एकतर्फी सञ्चालनमा छ । काभ्रेको बिपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ ।

रसुवाको पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्गमा पनि सवारीसाधन सञ्चालन भएका छैनन् ।

ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल –हुमाने– काठमाडौँ सडक पनि अवरुद्ध भएको छ । कान्तिलोकपथ र कुलेखानी सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडक बन्द छ । मदन भण्डारी राजमार्ग सिन्धुलीको सिन्दुरे दोभानमा अवरुद्ध छ । कोशी लोकमार्गअन्तर्गत साघुँरीगढी गाउँपालिकाको चनौटे र सिमसुवामा बाटो अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्