Logo

दशैंका लागि खाद्य व्यवस्थापन कम्पनीले खसी–बोका र च्याङ्ग्राको अनलाइन बुकिङ सुरु

दशैंका लागि खाद्य व्यवस्थापन कम्पनीले खसी–बोका र च्याङ्ग्राको अनलाइन बुकिङ सुरु



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंलाई लक्षित गर्दै खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको छ। कम्पनीको खरिद विभाग प्रमुख अनन्तराज पौडेलका अनुसार आजदेखि सुरु गरिएको अनलाइन बुकिङ आगामी भदौ ३० गतेसम्म जारी रहनेछ।

उपभोक्ताले कम्पनीको पोर्टलमार्फत आफूलाई चाहिने पशु छनोट गरी एक पटकमा अधिकतम १० वटासम्म बुकिङ गर्न सक्नेछन्। बुकिङ सुनिश्चित गर्न च्याङ्ग्राका लागि ५ हजार र खसी तथा बोकाका लागि ४ हजार रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

पशुको अन्तिम मूल्य भने तौलका आधारमा निर्धारण हुनेछ। कम्पनीले २०–२५, २५–३०, ३०–३५ र ३५–४० किलो तौल समूहमा पशु छनोट गर्ने सुविधा उपलब्ध गराएको छ। बिक्री मूल्य कम्पनीको तत्कालीन दरअनुसार तोकिँदै अग्रिम भुक्तानी रकम कुल बिलबाट घटाइनेछ।

बुकिङ भएका पशुहरू घटस्थापनादेखि सप्तमीसम्म उपभोक्ताले प्राप्त गर्न सक्नेछन्। अनलाइन बुकिङकै क्रममा उपभोक्ताले आफूलाई पायक पर्ने मिति रोज्न सक्नेछन्। भुक्तानी प्रक्रिया पूरा भएपछि उपभोक्तालाई एसएमएसमार्फत कोडसहित पशु बुझ्ने मिति पठाइने र सोही कोड प्रस्तुत गरेर बिक्री केन्द्रबाट पशु बुझ्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

यस वर्ष कम्पनीले करिब २ हजार खसी–बोका तथा च्याङ्ग्रा बिक्री गर्ने लक्ष्य लिएको छ। साथै, सुपथ मूल्य पसलमार्फत खरिद गर्ने उपभोक्ताले प्रतिकिलो १० रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्